Home Blog Page 31

महोत्तरी प्रतिभा पुरस्कार राप्रउ पोखरेलमा समर्पण

0

लेखक तथा चिन्तक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) लाई २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । नेपाली राष्ट्रिय परिवेशको भावभूमिमा साहित्य, संस्कृति, दर्शन र सामाजिक अध्ययनलाई आधार बनाई विचारशील र राष्ट्रप्रेमयुक्त कृतिहरूको लेखन–प्रकाशन गरेर नेपाली समाजको सकारात्मक रूपान्तरणका लागि वाङ्मयका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापाका स्ुपुत्र समाजसेवी किरण थापाको सक्रियतामा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोषको व्यवस्थापन गरेको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, लीलादेवी श्रेष्ठले शब्दयात्रा पट्ट, गीता अधिकारीले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

दूरदर्शी नेतृत्व पुरस्कार सुमित्रा चौलागाईंमा समर्पण

0

समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई २०८१ सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार’ समर्पण गरिएको छ । ‘मानव कल्याण समाज सेवाघर’ नामक सामाजिक संस्था खोली आफ्ना परिवारजन, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग सहयोग मागेर बाल–बृद्ध–असहायहरूलाई खाने, बस्ने, पढाउने, औषधोपचार गर्ने र धार्मिक संस्कार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीले संयुक्त रूपमा गर्नुभएको हो । सुमित्रा चौलागाईं नेपालबाहिर रहनुभएकाले उहाँको प्रतिनिधित्व गर्दै मानव कल्याण समाजका केन्द्रीय सचिव विजयकुमार पोखरेल कार्यक्रममा उपस्थित हुनुभएको थियो । पुरस्कार समर्पण गर्दा कोष व्यवस्थापकका हजुरबुबा दण्डपाणि अधिकारीले अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला विजयकुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

सिन्धुली प्रतिभा पुरस्कार प्रोल्लास सिन्धुलीयमा समर्पण

0

साहित्यकार प्रोल्लास सिन्धुलीयलाई २०८१ सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । कविता, कथा, निबन्ध, उपन्यास, बालसाहित्य जस्ता विभिन्न विधाहरूमा साहित्यिक सिर्जना गरी तिनमा रहेको कल्पनाको वेग र यथार्थको प्रस्तुतिलाई हृदयस्पर्शी बनाउन सफल हुनुका साथै साहित्यिक पत्रकारिता र भाषासेवाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाकी धर्मपत्नी मनिका शर्मा कोइरालाले कोषको व्यवस्थापन गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, महात्मा सुशीलले शब्दयात्रा पट्ट, मनिका शर्मा कोइरालाले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार प्रेमकण्ठ माकजूमा समर्पण

0

उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठलाई २०८१ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिएको छ । कठिन परिस्थितिसँग सङ्घर्ष गरी उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक विकासका लागि योगदान गर्नुभएको र आफ्नो उद्यमशीलताबाट केही रोजगारीसमेत सिर्जना गर्न सक्षम बन्नुका साथै देशका विभिन्न स्थानमा आफ्नो उद्यमशीलताका प्रभावहरू विस्तार गरेर प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन सारथि ग्रुपका कार्यकारी अध्यक्ष तथा समाजसेवी प्रह्लाद प्याकुरेलले गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, प्रोल्लास सिन्धुलीयले शब्दयात्रा पट्ट, प्रह्लाद प्याकुरेलले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

कृष्ण कँडेललाई शब्दयात्रा विशेष सम्मान समर्पण —

0

शब्दयात्रा प्रकाशनले नेपालको गीत–सङ्गीतका क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्न, नयाँ प्रतिभालाई उचाइ दिएर स्थापित गराउन, लोकदोहोरी गीत र गायकीलाई जनजनमा विस्तार गराउन, सामाजिक जीवन र लोकसंस्कृतिलाई गीत–सङ्गीतका माध्यमबाट प्रवर्द्धन गराउन, नेपाली जनजीवनका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिलाउन र सङ्कटमा परेका प्रतिभाशाली व्यक्तिहरूलाई सङ्कटबाट यथासम्भव मुक्त गराउन खेल्नुभएको अहम् भूमिकाका लागि कृष्ण कँडेललाई ‘शब्दयात्रा विशेष सम्मान, २०८१’ समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनले स्थापनाको १२ वर्ष पूरा गरेको अवसर पारी उहाँलाई विशेष सम्मान समर्पण गरेको हो । सम्मान समर्पण गर्दा हरि मञ्जुश्रीले पुष्पमाला, गीता अधिकारीले रुद्राक्षमाला, मच्छेश्वर सापकोटाले उपहार र प्रा. रामकुमार पाँडेले सम्मानपत्र समर्पण गर्नुभएको थियो ।

राष्ट्रिय योगप्रतिभा पुरस्कार महात्मा सुशीलमा समर्पण

0

महात्मा सुशीललाई २०८१ सालको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पूर्वीय पद्धतिका रूपमा सुपरिचित पाशुपत योग नामक योगशिक्षाको प्रयोगकर्ता बनेर मानव जीवनलाई सार्थक बनाउने हेतुले पाशुपत योगपद्धतिलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न स्थानहरूमा प्रचार र प्रयोग गर्न–गराउन व्यक्तिगत र संस्थागत रूपबाट विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि शिक्षासेवी शङ्करप्रसाद मानन्धरले कोषको व्यवस्थापन गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, राप्रउ पोखरेलले शब्दयात्रा पट्ट, शङ्करप्रसाद मानन्धरले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

सार्वजनिक गरियो ‘सय पाइला पैले’

0

साहित्यकार खेमराज शर्माद्वारा लिखित आठौँ कृति ‘सय पाइला पैले’ (उपन्यास) लाई शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएको छ । उक्त उपन्यास प्रा. केदारनाथ श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । त्यस बखत वटुकहरूले शङ्खध्वनि गरेका थिए भने उद्घोषकबाट पुर्खाका सङ्घर्षहरूलाई सम्मान गरौँ भन्ने ध्वनि उच्चारण गरिएको थियो । पुस्तकको चिनारी साहित्यकार कालिका त्रिपाठी पन्तले गराउनुभएको थियो । उपन्यासकार खेमराज शर्मा आफ्नै गृहजिल्ला रोल्पामा हुनुभएकाले उहाँ कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन ।

नेपाली भाषामा लोकदोहोरी गाउने अमेरिकी गायिका डा. आना स्टरलाई शब्दयात्रा सम्मान समर्पण

0

शब्दयात्रा प्रकाशनले नेपालको लोकदोहोरी गीतलाई विषयवस्तु बनाई कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएकी डा. आना स्टरलाई ‘शब्दयात्रा विशेष सम्मान, २०८१’ आज साउन १९ गते समर्पण गरेको छ । उहाँ नेपाली भाषामा लोकदोहोरी गाउने गायिका पनि हुनुहुन्छ । उहाँले नेपाली गीत–सङ्गीत, सामाजिक जीवन, लोकसंस्कृति आदिका विषयमा अङ्ग्रेजी भाषामा लेखहरू लेखी अन्तर्राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित गराउनुभएको छ । उहाँले नेपाली जनजीवनका बारेमा लेख्नुभएको कृति अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट छापिएको छ । हवाई विश्वविद्यालयमा एसियन स्टडिज विषय पढाउने एसोसिएट प्रोफेसर तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक अमेरिकी नागरिक डा. आना स्टरलाई नेपाली वाङ्मयका क्षेत्रमा गर्नुभएको यिनै योगदानको कदरस्वरूप शब्दयात्रा प्रकाशनले स्थापनाको १२ वर्ष पूरा गरेको अवसर पारी सम्मान गरेको हो ।

‘किसुनजी’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको १३७ औं पुस्तक ‘किसुनजी’ (कृष्णप्रसाद भट्टराई स्मृतिग्रन्थ) र उहाँले नै सम्पादन गर्नुभएको ‘सेवा नेपाल’ (वार्षिक मुखपत्र) यही साउन ११ गते शुक्रबार कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित वार्षिक कार्यक्रममा सार्वजनिक गरियो । दिव्य शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासको प्रमुख आतिथ्य, वर्तमान मन्त्री शरदसिंह भण्डारी र पूर्वमन्त्री नवराज सुवेदीको विशेष आतिथ्य तथा शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको सभापतित्वमा सम्पन्न आजको समारोहमा उल्लिखित दुवै पुस्तक उहाँहरू चारैजनाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । सम्पादकका रूपबाट हरि मञ्जुश्रीले ‘किसुनजी’ पुस्तक र ‘सेवा नेपाल’ मुखपत्रका विषयमा सङ्क्षिप्त जानकारी दिनुभएको थियो । ‘किसुनजी’ ४१६ पृष्ठको छ र मूल्य ६०० रुपियाँ राखिएको छ । यसमा कृष्णप्रसाद भट्टराईका विषयमा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका १०४ वटा लेख–संस्मरण राखिएका छन् । कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट सकुल थापा, मच्छेश्वर सापकोटा, जीवन थापा, शिव बन्जारा, डा. इन्दुल केसी, पदम दाहाल, जयनारायण नेपाल, श्रीराम पौडेल उदासी आदि उपस्थित हुनुहुन्थ्यो ।

छात्रवृत्तिका लागि शब्दयात्रा प्रकाशनमा अर्को अक्षयकोष

0

शब्दयात्रा प्रकाशनमा शिक्षासेवी तथा साहित्यकार माधवी अधिकारीको नाउँबाट ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ का लागि अक्षयकोष खडा गरिने भएको छ । शब्दयात्रा प्रकाशनबाट २०८० साल वैशाखदेखि मासिक रूपमा ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ प्रदान गरिरहे पनि त्यसका लागि छुट्टै कोषको व्यवस्था गरिएको थिएन । काभ्रेपलान्चोक जिल्लाको विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रामध्ये एउटी छात्राका लागि यस छात्रवृत्तिको व्यवस्था गरिएको थियो । अहिलेचाहिँ त्यही छात्रवृत्तिलाई दीर्घकालसम्म निरन्तरता दिनका लागि अक्षयकोष खडा गरिने भएको हो । माधवी अधिकारीको नाउँ रहने यो अक्षयकोष हालका लागि २ लाख रुपियाँबाट प्रारम्भ गरिनेछ । माधवी अधिकारी काठमाडौँको टेङ्गलटोलमा इन्द्रमञ्जरी र लक्ष्मीप्रसाद भट्टराईकी सुपुत्री भई २००४ सालमा जन्मनुभएको थियो । उहाँ साहित्यकार तथा शिक्षासेवी हुनुहुन्थ्यो । उहाँका ‘ॐ नमः शिवाय’, ‘महालक्ष्मी तथा रुद्राष्टकम्’, ‘अनुभवको स्पन्दन’, ‘अभिव्यक्ति नै अभिव्यक्ति’ र ‘हाकिमसाहेब’ नामका कृतिहरू प्रकाशित छन् । उहाँले लामो समयसम्म शिक्षिका भई सेवा गर्नुभएको थियो र राष्ट्रिय शिक्षा पुरस्कार पनि प्राप्त गर्नुभएको थियो । उहाँ नारी शिक्षामा जोड दिनुहुन्थ्यो । उहाँको निधन २०६६ सालमा भएको थियो । काभ्रेपलान्चोक जिल्लाको विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रालाई उहाँको नाउँबाट छात्रवृत्ति दिने यस सत्कर्मले गर्दा उहाँको शिक्षाप्रेमले थप सार्थकता पाउने विश्वास गरिएको छ । यहाँ राखिएको तस्बिर शिक्षासेवी तथा साहित्यकार माधवी अधिकारीको हो ।