शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रमअन्तर्गत गत जेठ ११ गते मङ्गलबार सम्मान समर्पण समारोह तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरियो । बनेपाको केएन ब्यान्क्वेटमा दिउँसो २ः३० बजे सुरु भएको उक्त कार्यक्रम ४ः३० बजे समापन भएको थियो । कार्यक्रमको सिलसिलेवार विवरण यहाँ प्रस्तुत गरिएको छ ।
कार्यक्रमको सञ्चालन गर्नका लागि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री सर्वप्रथम मञ्चमा पुग्नुभयो । उहाँले ब्याच अर्पण गर्न गीता अधिकारी र सरस्वती शर्मा सुवेदीलाई, माला अर्पण गर्न मोहनविनोद बजगाईं र जगन्नाथ गिरीलाई तथा निर्धारित आसन चिनाउन नेपालभूमि साप्ताहिकका सम्पादक सुमन खड्कालाई आगह गर्नुभयो । त्यसपछि आसनग्रहणको क्रम अगाडि बढ्यो ।
मञ्चको अगाडिपट्टिको सोफामा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापा, सम्मानित व्यक्तित्वहरू गजलकार डा. कृष्णजङ्ग राणा, पूर्वप्रशासक तथा साहित्यकार शुभलक्ष्मी श्रेष्ठ र नियात्राकार पोष चापागाईं, अतिथि डा. गार्गी शर्मा तथा सभापतिका रूपमा बाबा विश्वनाथ बस्नुभयो । सम्मानित व्यक्तित्व अग्रज पत्रकार नकुल काजी शारीरिक अस्वस्थताका कारण उपस्थित हुन नसक्नुभएकाले उहाँको प्रतिनिधित्व गर्दै उहाँका भतिज उत्तम पाण्डे समारोहमा उपस्थित हुनुहुन्थ्यो । पछाडिपट्टिको कुर्सीमा चाहिँ त्यस दिन सार्वजनिक हुने कृतिका कृतिकारहरू शिवभक्त शर्मा, श्रीधर प्याकु¥याल, केदारनाथ तिमल्सिना, रोजनाथ लुइँटेल र अनुवादक डा. हेमराज काफ्ले तथा सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरू कृष्णप्यारी नकर्मी र पदमनाथ ढुङ्गाना बस्नुभएको थियो । यथास्थानमा आसनग्रहण गर्नका लागि मुकुन्दप्रसाद उपाध्याय, नारायणभक्त अधिकारी, रामप्रसाद अधिकारी, चन्द्रबहादुर खड्का, श्री शर्मा मूर्ख, बिकु लामा, नगेन्द्र अधिकारी, पुण्यवती घले, पीताम्बर अधिकारी, श्याम अधिकारी, दण्डपाणि अधिकारी, रुक्मिणी सिग्देल, रमेश पौड्याल आदि धेरैजनालाई अनुरोध गरिएको थियो ।
त्यसपछि गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका उपाध्यक्ष कृष्णमणि कुइँकेलको संयोजनमा नैमिषारण्य गुरुकुलम्का पाँचजना वटुकहरूबाट स्वस्तिवाचन गरियो । वटुकहरूलाई सुभाष स्मृति प्र्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले त्यस संस्थाबाट प्रकाशित ‘कल्पवृक्ष’ नामक नीतिकथासङ्ग्रह प्रदान गर्नुभयो । त्यसपछि प्रमुख अतिथिबाट पानसमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरियो । त्यस बखत मङ्गलधुन बजाइएको थियो ।
समारोहमा स्वागत मन्तव्य शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य हरिगोपाल प्रधानले प्रस्तुत गर्नुभयो भने अक्षरधाम साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक सकुल थापाको संयोजनमा संस्थागत गान पनि प्रस्तुत गरियो । कार्यक्रम प्रारम्भ गर्न सभापतिका रूपबाट बाबा विश्वनाथले अनुमति दिएपछि सुमन खड्का र सकुल थापाको प्रबन्धनमा रङ्गीन थैलीभित्र राखिएका पुस्तकहरू झिकेर डा. भोला थापाले ‘प्रशासनिक दाउपेच’ (नियात्रासङ्ग्रह) लाई र डा. गार्गी शर्माले ‘नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल’ लाई सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएका कृतिहरूबारे कान्तिपुर दैनिकमा संलग्न युवा पत्रकार नगेन्द्र अधिकारीले प्रतिक्रिया व्यक्त गर्नुभयो । त्यसपछि ‘प्रशासनिक दाउपेच’ पुस्तक सुमन खड्का, सकुल थापा र जगन्नाथ गिरीले उपस्थित सबैमा निःशुल्क उपलब्ध गराउनुभयो ।
अनि सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी गराउन चयन समितिका सदस्य पदमनाथ ढुङ्गाना उपस्थित हुनुभयो । उहाँको भनाइ सकिएपछि सम्मान व्यवस्थापकहरूका तर्फबाट गीता अधिकारी, रुक्मिणी सिग्देल, श्याम अधिकारी र रमेश पौड्याललाई बोलाइयो । सम्मान सामग्रीको व्यवस्थापन सुमन खड्का र सकुल थापाबाट भयो । हरेक अभिवन्दनापत्र पढ्दै सम्मान गर्ने क्रम चलाइयो । डा. कृष्णजङ्ग राणालाई राष्ट्रिय गजल सम्मान समर्पण गर्दा सम्मान व्यवस्थापक रुक्मिणी सिग्देलले रकम, पदमनाथ ढुङ्गानाले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र, नकुल काजीलाई नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गर्दा उहाँका भतिज उत्तम पाण्डेलाई सम्मान व्यवस्थापक गीता मञ्जुश्रीका तर्फबाट श्याम अधिकारीले रकम, पदमनाथ ढुङ्गानाले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र, शुभलक्ष्मी श्रेष्ठलाई प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्दा सम्मान व्यवस्थापक उर्मिला श्रेष्ठ भोजपुरेका तर्फबाट गीता अधिकारीले रकम, कृष्णप्यारी नकर्मीले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र, पोष चापागाईंलाई शब्दयात्रा सिर्जना सम्मान समर्पण गर्दा सम्मान व्यवस्थापक कल्याण लम्सालका तर्फबाट रमेश पौड्यालले रकम, कृष्णप्यारी नकर्मीले उपहार तथा डा. भोला थापाले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभयो ।
यसपछि नकुल काजीले पठाउनुभएको आशीर्वचन पढेर सुनाइयो भने शुभलक्ष्मी श्रेष्ठ, डा. कृष्णजङ्ग राणा र पोष चापागाईंले आशीर्वचन दिनुभयो भने चयन समितिका मित्रहरूलाई रोशन मञ्जुश्रीले उपहार समर्पण गर्नुभयो । अनि बाँकी तीनवटा पुस्तकको सार्वजनिकीकरण गरियो । ‘सत्यनारायण व्रतकथा’ पोष चापागाईंले, ‘भावनाका भुल्का’ डा. कृष्णजङ्ग राणाले र ‘सबैतिर कम्पनको चोट’ शुभलक्ष्मी श्रेष्ठले सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएका कृतिहरूबारे रामप्रसाद अधिकारीले परिचयात्मक टिप्पणी गर्नुभयो । अनि कृतिकारका तर्फबाट शिवभक्त शर्माले मन्तव्य व्यक्त गर्नुभयो ।
समारोहमा संस्थागत केही जानकारी बिकु लामाले दिएपछि शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमा स्वस्तिवाचन गर्ने व्यवस्था मिलाइदिएकोमा नैमिषारण्य गुरुकुलम्लाई कृतज्ञतापत्र समर्पण गरियो । कृतज्ञतापत्र डा. गार्गी शर्माबाट कृष्णमणि कुइँकेलमा अर्पण गरियो । त्यसपछि पुण्यवती घलेले केही जानकारी गराउनुभयो र प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट भरतराज महतले उपहार समर्पण गर्नुभयो । अनि प्रमुख अतिथिले मन्तव्य व्यक्त गर्नुभयो र कार्यक्रमका सञ्चालकले सभाविसर्जन गर्नुभयो । मञ्चमा उभिएर सामूहिक तस्बिर खिचिएपछि जलपान गरी उपस्थित महानुभावहरू त्यहाँबाट प्रस्थान गर्नुभएको थियो ।
समारोहमा उपस्थित महानुभावहरूलाई उपस्थिति पुस्तिकामा दस्तखत गराउने कामको जिम्मा दीपक तिमिल्सिनालाई दिइएको थियो । त्यस दिन प्रकाशित नेपालभूमि साप्ताहिक सबैमा वितरण गर्ने र अन्य काममा पनि सघाउने गर्दागर्दै कैयौँ महानुभावहरूको दस्तखत गराउन उनले भ्याउँदै भ्याएनन् । त्यसैले उपस्थिति पुस्तिकामा डेढ सयजतिको मात्रै हस्ताक्षर रह्यो, झन्डै पचासजनाजतिको उपस्थिति अभिलेखबद्ध गराउन सकिएन ।
जे होस्, कार्यक्रम भव्य रूपमा सञ्चालन भयो । कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।