Home Blog Page 209

चार व्यक्तित्व सम्मानित

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा गरिने सम्मानहरू २०७३ सालका लागि चारजना विशिष्ट व्यक्तिहरूमा समर्पण ग¥यो । यसपटक सम्मानित हुनेहरूमा विज्ञान–प्रविधि सम्मानबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेल, शिक्षा सम्मानबाट काठमाडौँ विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. भद्रमान तुलाधर, आमसञ्चार सम्मानबाट अग्रज आमसञ्चारकर्मी श्रीधर खनाल र सामाजिक जागरण सम्मानबाट अग्रज समाजसेवी भद्रकुमारी घले हुनुहुन्छ ।
प्रमुख अतिथि त्रिभुवन विश्वविद्याललयका पूर्वउपकुलपति प्रा. शङ्करराज पाठक र विशिष्ट अतिथि काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले उहाँहरूलाई किरीट, अभिवन्दनापत्र, उपहार र ५–५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा सम्पादित पुस्तक ‘नैमिषारण्य नेपाल’, जयप्रकाश त्रिपाठीद्वारा लिखित ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’, तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ तथा उद्धवप्रसाद नेपालद्वारा लिखित ‘असल नेता कसरी बन्ने ?’ गरी चारवटा पुस्तकलाई सार्वजनिक गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक डा. मनीष पोखरेलले र सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा सुदर्शन आचार्यले बोल्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहमा नेपालभूमि साप्ताहिकमा २०७२ फागुनदेखि २०७३ फागुनसम्म १० भन्दा बढी लेख–रचना उपलब्ध गराउने लेखक–स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गरिएको थियो । समारोहका सभापति युवा व्यवसायी बुद्ध मानन्धरले शब्दयात्रा प्रकाशनका लागि अत्याधुनिक माइक हस्तान्तरण गर्नुभएको थियो ।

सालिकका लागि ७५ हजार रुपियाँ सहयोग

0

शब्दयात्रा प्रकाशनद्वारा बनेपामा स्थापना गर्न लागिएको सालिकका लागि ७५ हजार रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौँ कमलादी निवासी वत्सलाल श्रेष्ठबाट आफ्नी स्वर्गीय धर्मपत्नी झुमादेवी श्रेष्ठको स्मृतिमा २५ हजार रुपियाँ, प्रसिद्ध गीतकार, सङ्गीतकार, गायक तथा साहित्यकार हिरण्य भोजपुरेबाट २५ हजार रुपियाँ र प्रसिद्ध गायिका, पूर्वसचिव तथा लोकसेवा आयोगका पूर्वसदस्य श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेबाट २५ हजार रुपियाँ गरी ७५ हजार रुपियाँ प्राप्त भएको हो ।
वत्सलाल श्रेष्ठ हाल ९७ वर्षका हुनुहुन्छ । हिरण्य भोजपुरे शब्दयात्रा विश्वसम्पर्क समाजमा र उर्मिला श्रेष्ठ भोजपुरे शब्दयात्रा सम्मान व्यवस्थापक समाजमा आबद्ध हुनुहुन्छ । उर्मिला श्रेष्ठ भोजपुरेले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मानका लागि १ लाख रुपियाँको अक्षयकोष पनि राखिदिनुभएको छ ।

तीन कृति सार्वजनिक गरिने

0

शब्दयात्रा प्रकाशनले आगामी फागुन १७ गते मङ्गलबार बनेपाको के. एन. ब्यान्क्वेटमा विशेष समारोहको आयोजना गरी चारजना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न लागेको अवसरमा तीनवटा पुस्तकलाई सार्वजनिक पनि गर्ने भएको छ । ती तीन पुस्तकहरूमा हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नैमिषारण्य नेपाल’, तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ र उद्धवप्रसाद नेपालद्वारा लिखित ‘असल नेता कसरी बन्ने ?’ रहेका छन् ।
‘नैमिषारण्य नेपाल’ गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिबाट र ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ र ‘असल नेता कसरी बन्ने ?’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् ।

शब्दयात्राबाट ८० औं पुस्तक

0

शब्दयात्रा प्रकाशनले आफ्नो ८० औँ प्रकाशनशृङ्खलाका रूपमा ‘असल नेता कसरी बन्ने ?’ नामक पुस्तिका प्रकाशन गरेको छ । यो पुस्तिका उद्धवप्रसाद नेपालको चौथो कृतिका रूपमा प्रस्तुत भएको हो ।
यस पुस्तिकामा असल नेतृत्वका लागि लोकतन्त्रवादी नेताहरूले पालना गर्नुपर्ने नियमहरू के–के हुन् ?, सङ्गठन भनेको के हो ?, असल नेता कस्तो हुनुपर्छ ?, पार्टी सङ्गठन बलियो बनाउन के गर्नुपर्छ ? र असल नेता बन्न कुन–कुन कुरामा प्रतिबद्ध रहनुपर्छ ? भन्ने प्रश्नको उत्तर दिइएको छ ।

शब्दसंवादमा जगन्नाथ गिरी

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘शब्दसंवाद’ साप्ताहिक कार्यक्रमको दोस्रो शृङ्खला गत मङ्गलबार सम्पन्न भयो । त्यस कार्यक्रममा अतिथि वक्ताका रूपमा पूर्वप्रहरी कर्मचारी परिषद् काभ्रेका सभापति जगन्नाथ गिरीले नेपाल प्रहरी र माओवादी जनयुद्धको इतिहासका विषयमा प्रवचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सकुल थापाले गर्नुभएको थियो । कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले अतिथि वक्ताको विषयमा जानकारी गराउनुभएको उक्त समारोहको सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
समारोहमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, नेपालभूमि साप्ताहिकका सम्पादक सुमन खड्का, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, कवि सोमकाजी शाक्य, लेखक पुष्पदास स्याउला, शब्दयात्रा लेखक समाजका सदस्यद्वय गीता मञ्जुश्री र पुण्यवती घले, शब्दयात्रा लेखक समाजका सभापति ओतबहादुर खड्का र सदस्य उद्धवप्रसाद नेपाल, डिल्लीराम निरौला, पूर्णबहादुर कर्माचार्य, समाजसेवी सहदीप पलाञ्चोके आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखक पूर्णबहादुर कर्माचार्यले आफूले लेखेका पुस्तकहरू शब्दयात्रा प्रकाशनका लागि अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
‘शब्दसंवाद’ कार्यक्रमको तेस्रो शृङ्खला फागुन १० गते मङ्गलबार दिउँसो ठीक ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सुरु गरिने र त्यस कार्यक्रममा अतिथि वक्ताका रूपमा कवि सोमकाजी शाक्यको प्रस्तुति रहने जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण बौद्धिक वर्गलाई आग्रह गरिएको थियो ।

शब्दयात्राबाट चार विधामा सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेललाई भूकम्पबाट क्षति कम गर्ने उपाय पत्ता लगाउने नेपाली वैज्ञानिकका रूपमा विज्ञान–प्रविधि सम्मानबाट र काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तर राख्नमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएकोमा उक्त विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. भद्रमान तुलाधरलाई शिक्षा सम्मानबाट सम्मानित गर्ने भएको छ ।
यसै गरी आमसञ्चार सम्मानबाट नेपाली आमसञ्चार क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्नुभएकोमा श्रीधर खनाललाई र सामाजिक जागरण सम्मानबाट समाजसेवी कार्यहरू गरी सामाजिक जागरण गराउनुभएकोमा भद्रकुमारी घलेलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।
हरेक वर्षको फागुन महिनामा सम्मान गरिने उक्त चार विधाका सम्मानहरू शब्दयात्रा प्रकाशनले आगामी फागुन १७ गते काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी उहाँहरूलाई समर्पण गर्न लागेको हो ।
काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागका विभागीय प्रमुख डा. मनीष पोखरेलको संयोजक तथा वीरेन्द्रबहादुर लाखे, खगेन्द्र आचार्य र रीमा खनाल सदस्य रहेको चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको सिफारिसअनुसार उहाँहरूलाई सम्मान गर्न लागिएको हो ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन श्यामकृष्ण लम्साल, रमेश पौड्याल, सुनील सापकोटा र आनन्दराज श्रेष्ठले गर्नुभएको हो ।

‘शब्दसंवाद’ मा तुतुकाजी

0

शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पहिलो शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । त्यस कार्यक्रममा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुति रहेको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य सकुल थापाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संयोजन पदमनाथ ढुङ्गानाले र सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, नेपालभूमि साप्ताहिकका सम्पादक सुमन खड्का, शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य भवानी पाण्डे, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, ‘नेपालभूमि’ का स्तम्भकार जगन्नाथ गिरी, लेखापरीक्षक दण्डपाणि अधिकारी, अन्वेषक पुष्प सौगात, शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे, कवि सोमकाजी शाक्य, कवि सिद्धिबहादुर कर्माचार्य आदिको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले तुतुकाजी प्रणामी श्रेष्ठलाई रुद्राक्षको माला लगाइदिएर आभार व्यक्त गर्नुभएको थियो ।
त्यस बखत आगामी मङ्गलबारको कार्यक्रममा जगन्नाथ गिरीको प्रस्तुति रहने जानकारी गराइएको थियो ।

‘शिखरयात्रा’ आउँदै

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा ‘शिखरयात्रा’ नामक पुस्तक प्रकाशन हुन लागेको छ । उक्त पुस्तकमा केडिया ग्रुपका संस्थापक उद्योगपति वृजलाल केडियाको जीवनी, व्यक्तित्व र औद्योगिक इतिहास समेटिएको छ ।

साहित्यकारहरू अनिरुद्र तिमल्सिना, पार्थमणि भट्टराई, मधुसूदनप्रसाद घिमिरे, रमेश गोर्खाली र हरि मञ्जुश्री, कानुन व्यवसायीहरू कृष्णप्रसाद घिमिरे र कृष्णप्रसाद भण्डारी, पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराल, राजनीतिकर्मीहरू गजेन्द्रनारायण सिंह, चमारसिंह लामा, जयप्रकाश, डोरमणि पौडेल, पी. एल. सिंह, मातृकाप्रसाद कोइराला, योगप्रसाद उपाध्याय, रामचन्द्र पौडेल, रुक्म शमशेर, लोकेन्द्रबहादुर चन्द, शैलेन्द्रकुमार उपाध्याय र साहना प्रधान, पूर्वप्रशासकहरू गोवद्र्धनबहादुर कार्की, टेकबहादुर रायमाझी, तुलसीप्रसाद भट्टराई, दामोदर शमशेर, दीर्घराज कोइराला, धनमणि आचार्य दीक्षित, बाबुराम पौडेल र वीरबहादुर शाही, आध्यात्मिक व्यक्तित्वहरू जगन्नाथ शास्त्री, जनार्दन घिमिरे, डा. स्वामी प्रपन्नाचार्य, ब्रह्मकुमारी राज र मेघराज शर्मा, पत्रकारहरू नेपालभूषण न्यौपाने र माथवरसिंह बस्नेत, सङ्गीतकार भूपेन्द्र रायमाझी तथा समाजसेवीहरू वासुदेवशरण कोइराला र सगुन शाह आदिसहित १ सय ७६ जनाका लेख–संस्मरणहरू उक्त पुस्तकमा राखिएका छन् ।

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

0

शब्दयात्रा प्रकाशनको ७९ औँ प्रकाशनपुष्पका रूपमा ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका प्रकाशित भएको छ । ‘शब्दसंवाद’ कार्यक्रमको प्रथम दिवसको अवसर पारी प्रकाशित उक्त पुस्तिकालाई आज २०७३ माघ २५ गते मङ्गलबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिने भएको छ ।

तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित आध्यात्मिक लेखहरूको सङ्ग्रहका रूपमा रहेको यस पुस्तिकामा १० वटा शीर्षकका छोटा–छोटा लेखहरू सङ्ग्रह गरिएका छन् । पुस्तिकाको मूल्य २५ रुपियाँ राखिएको छ । यस पुस्तिकाको बिक्रीबाट प्राप्त भएको सम्पूर्ण रकम ‘शब्दसंवाद’ कार्यक्रमका लागि खर्च गरिने भएको छ ।

शब्दसंवाद सुरु

0

शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘शब्दसंवाद’ आज मङ्गलबारदेखि प्रारम्भ हुने भएको छ । आज अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा यस कार्यक्रमको पहिलो शृङ्खला प्रस्तुत हुने जानकारी संयोजक पदमनाथ ढुङ्गानाले गराउनुभएको छ ।
आजको कार्यक्रमका प्रमुख वक्ता आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ रहनुहुनेछ ।