शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘शब्दसंवाद’ साप्ताहिक कार्यक्रमको दोस्रो शृङ्खला गत मङ्गलबार सम्पन्न भयो । त्यस कार्यक्रममा अतिथि वक्ताका रूपमा पूर्वप्रहरी कर्मचारी परिषद् काभ्रेका सभापति जगन्नाथ गिरीले नेपाल प्रहरी र माओवादी जनयुद्धको इतिहासका विषयमा प्रवचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सकुल थापाले गर्नुभएको थियो । कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले अतिथि वक्ताको विषयमा जानकारी गराउनुभएको उक्त समारोहको सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
समारोहमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, नेपालभूमि साप्ताहिकका सम्पादक सुमन खड्का, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, कवि सोमकाजी शाक्य, लेखक पुष्पदास स्याउला, शब्दयात्रा लेखक समाजका सदस्यद्वय गीता मञ्जुश्री र पुण्यवती घले, शब्दयात्रा लेखक समाजका सभापति ओतबहादुर खड्का र सदस्य उद्धवप्रसाद नेपाल, डिल्लीराम निरौला, पूर्णबहादुर कर्माचार्य, समाजसेवी सहदीप पलाञ्चोके आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखक पूर्णबहादुर कर्माचार्यले आफूले लेखेका पुस्तकहरू शब्दयात्रा प्रकाशनका लागि अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
‘शब्दसंवाद’ कार्यक्रमको तेस्रो शृङ्खला फागुन १० गते मङ्गलबार दिउँसो ठीक ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सुरु गरिने र त्यस कार्यक्रममा अतिथि वक्ताका रूपमा कवि सोमकाजी शाक्यको प्रस्तुति रहने जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण बौद्धिक वर्गलाई आग्रह गरिएको थियो ।