शब्दयात्रा प्रकाशनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेललाई भूकम्पबाट क्षति कम गर्ने उपाय पत्ता लगाउने नेपाली वैज्ञानिकका रूपमा विज्ञान–प्रविधि सम्मानबाट र काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तर राख्नमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएकोमा उक्त विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. भद्रमान तुलाधरलाई शिक्षा सम्मानबाट सम्मानित गर्ने भएको छ ।
यसै गरी आमसञ्चार सम्मानबाट नेपाली आमसञ्चार क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्नुभएकोमा श्रीधर खनाललाई र सामाजिक जागरण सम्मानबाट समाजसेवी कार्यहरू गरी सामाजिक जागरण गराउनुभएकोमा भद्रकुमारी घलेलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।
हरेक वर्षको फागुन महिनामा सम्मान गरिने उक्त चार विधाका सम्मानहरू शब्दयात्रा प्रकाशनले आगामी फागुन १७ गते काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी उहाँहरूलाई समर्पण गर्न लागेको हो ।
काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागका विभागीय प्रमुख डा. मनीष पोखरेलको संयोजक तथा वीरेन्द्रबहादुर लाखे, खगेन्द्र आचार्य र रीमा खनाल सदस्य रहेको चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको सिफारिसअनुसार उहाँहरूलाई सम्मान गर्न लागिएको हो ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन श्यामकृष्ण लम्साल, रमेश पौड्याल, सुनील सापकोटा र आनन्दराज श्रेष्ठले गर्नुभएको हो ।