Home Blog Page 186

अशक्त स्रष्टाको सशक्त कृति सार्वजनिक

0

विगत १२ वर्षअघिदेखि शारीरिक रूपमा अस्वस्थ बनेकी काभ्रेली स्रष्टा समिता श्रेष्ठ ‘पूरा’ को प्रथम साहित्यिक कृति ‘नयाँ सोच’ नामक लघु–उपन्यास हिजो पुस २४ गते सोमबार काभ्रेको बनेपा नालामा शब्दयात्रा प्रकाशनद्वारा आयोजित विशेष समारोहमा सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र आध्यात्मिक प्रवाचक डा. चिन्तामणि योगीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनसँग सम्बन्धित विभिन्न समाज र समितिका व्यक्तित्व तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले कृतिकारलाई शुभकामना दिनुभएको थियो । शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले ‘नयाँ सोच’ माथि टिप्पणी गर्नुभएको उक्त कार्यक्रम शब्दयात्रा लेखक समाजका सदस्य उद्धवप्रसाद नेपालले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शारीरिक अशक्ततालाई चुनौती दिँदै सशक्त साहित्यिक कृति प्रस्तुत गर्ने उदाहरणीय व्यक्तित्व कृतिकार समिता श्रेष्ठ ‘पूरा’ लाई शब्दयात्रा प्रकाशनद्वारा सम्मानपत्र प्रदान गरिएको थियो । सोही दिन कृतिकारको जन्मदिनको अवसरसमेत परेको हुनाले उहाँलाई विभिन्न व्यक्तित्वहरूले जन्मदिनको उपहारस्वरूप विभिन्न साहित्यिक पुस्तकहरू प्रदान गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेलका तर्फबाट पदमनाथ ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कृतिकारकी फुपू समाजसेवी तथा शिक्षासेवी निर्मला श्रेष्ठले कृतिकारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
‘नयाँ सोच’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ९५ औँ पुस्तक हो ।

सम्मानयोग्य नाउँ पठाउनोस्

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा समर्पण गर्ने गरी संस्थापन गरेका आमसञ्चार सम्मान, सामाजिक जागरण सम्मान, विज्ञान–प्रविधि सम्मान र शिक्षा सम्मान २०७४ सालका लागि आगामी फागुन महिनामा पनि समर्पण गरिनेछन् । नगद ५ हजार रुपियाँ, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गरिने उल्लिखित हरेक सम्मानका लागि उपयुक्त नाउँहरू आगामी माघ २० गतेभित्र उपलब्ध गराइदिन अनुरोध छ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–६६२९६२, ०११–६६३१६१, ९७४१०६२१९०
इमेल : [email protected]

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित बालसाहित्य सम्मानका आर्थिक व्यवस्थापक तथा नन्दिकेश्वर अधिकारी शोध सम्मानद्वारा सम्मानित बालसाहित्यकार गोपाल पराजुली रमेश विकल साहित्य प्रतिष्ठानद्वारा संस्थापित ‘रमेश विकल बालसाहित्य पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

‘शब्दसंवाद’ मा राजेन्द्र थापा

0

शब्दयात्रा प्रकाशनद्वारा हरेक शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सञ्चालन हुँदै आएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको बयालीसौँ शृङ्खला गत २०७४ साल पुस १४ गते शुक्रबार दिव्यमणि अधिकारीको सभापतित्वमा सम्पन्न भयो । पदमनाथ ढुङ्गानाबाट सञ्चालित उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा राजेन्द्र थापा उपस्थित हुनुहुन्थ्यो । उहाँले दक्षिण अफ्रिकी राष्ट्र कङ्गोमा गृहयुद्धका नाममा भएको दर्दनाक नरसंहार र विदेशी हस्तक्षेपका विषयमा आफ्नो प्रवचन केन्द्रित गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अशोक बडाल, भेषप्रसाद ढुङ्गाना, अनिता अधिकारी, विमला तिमल्सिना, नूरमाया पराजुली, चन्द्रमाया खत्री, देवकी कुइँकेल, कमला खत्री, मञ्जु कोइराला, विष्णुकुमारी थापा, सुभद्रा पराजुली, माया खत्री, लक्ष्मी आचार्य, सरिता कुइँकेल, धन शर्मा, पुरुषोत्तम हुमागाई, दण्डपाणि अधिकारी, छविलाल कुइँकेल, सुशीला कुइँकेल, गोमा कुइँकेल, शोभा खत्री, भुवन पाण्डे, शारदाप्रसाद शर्मा र नैमिषारण्य संस्कृत गुरुकुलम्का ११ जना वटुकहरूको उपस्थिति रहेको थियो ।

अस्वस्थतासँग नहार्ने नयाँ लेखिका

0

शारीरिक अस्वस्थता भएर पनि आत्मबल र पारिवारिक सहयोगका कारण साहित्यिक सिर्जना गर्ने महिला प्रतिभाहरूको पङ्क्तिमा काभ्रे जिल्लाको बनेपा नगरपालिका नालानिवासी पूरा श्रेष्ठ पनि थपिएकी छन् । उनले सामाजिक उपन्यासको सिर्जना गरेकी छन् । उनको उपन्यासलाई शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिने भएको छ ।
समाजसेवी तथा शिक्षासेवी निर्मला श्रेष्ठका अनुसार पूरा श्रेष्ठको वास्तविक नाम समिता श्रेष्ठ हो । २०४७ साल पुस २४ गते जन्मिएकी उनी विगत १२ वर्षअघिदेखि शारीरिक रूपमा अशक्त छिन् । उनी हरबखत ओछ्यानमा पल्टिरहन्छिन् । शारीरिक अस्वस्थताकै कारणले उनले ९ कक्षाभन्दा बढी पढ्न सकिनन् । उनका दुवै गोडा र दुवै हात राम्ररी चल्दैनन् । त्यसैले उनी देब्रे हातका औँलाको पछाडिपट्टिको भागबाट आईप्याडको किबोर्डमा थिचेर साहित्यिक सिर्जना गर्ने गर्छिन् ।
पूरा श्रेष्ठ हिम्मत भयो भने शारीरिक अस्वस्थताले पनि काम गर्न रोक्न सक्तैन, अनि नयाँ–नयाँ चिन्तन गर्न, देशको विकास यसरी हुन्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्न र अरूका लागि उदाहरण बन्न सकिन्छ भन्ने कुराका लागि प्रेरक व्यक्तित्व बनेकी छन् । उनी काभ्रे जिल्लाका लागि मात्र होइन, सम्पूर्ण अशक्तहरूका लागि प्रेरणापुञ्ज हुन् ।
नयाँ झमककुमारी बन्न लागेकी पूरा श्रेष्ठको उपन्यास शब्दयात्रा प्रकाशनको ९५ औँ प्रकाशनपुष्प हुनेछ । उपन्यासलाई आगामी २०७४ साल पुस २४ गते सोमबार नालामा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने भएको छ ।

‘शब्दसंवाद’ मा शारदाप्रसाद शर्मा

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकचालीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा प्रस्तुत हुनुभयो । उहाँले आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित तथा सद्यःप्रकाशित कृति ‘गीतारसामृत’ का विषयमा आफ्नो प्रवचनलाई केन्द्रित गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७४ पुस ७ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
लोकगायिका सरस्वती सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शिक्षासेवीद्वय फणीन्द्रराज अधिकारी र पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा साहित्यकार केदारनाथ तिमल्सिनासहित वासुदेव कुइँकेल, छविलाल कुइँकेल, नवराज पराजुली, दुर्गाप्रसाद तिमल्सिना, शम्भुप्रसाद कुइँकेल, ठाकुरप्रसाद कुइँकेल, विष्णुहरि तिमल्सिना, भुवन पाण्डे आदिको उपस्थिति रहेको थियो ।

निर्माण समितिको बैठक सम्पन्न

0

शब्दयात्रा प्रकाशनद्वारा गठित भौतिक संरचना निर्माण समितिको बैठक गत २०७४ साल पुस ६ गते बिहीबार शब्दयात्रा प्रकाशनको कार्यालयमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको बैठकले अब भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गर्ने र यही २०७४ सालभित्र सालिकको स्थापना र अनावरण गर्ने निर्णय गरेको छ ।

सालिकका लागि आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरी अनावरण गर्न लागेको पाँचजना शीर्ष वाङ्मयिक शब्दसाधकहरूको सालिकको निर्माण तथा स्थापनाका लागि इ. रोशन मञ्जुश्री अधिकारीले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनको भौतिक संरचना निर्माण समितिले यही २०७४ सालभित्र पाँचैवटा सालिक अनावरण गर्ने योजना बनाएको छ ।

‘नेपालभूमि’ लाई छुट्टै समिति

0

शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि साप्ताहिक’ को व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएको छ । समितिमा पदमनाथ ढुङ्गाना, शिवप्रसाद बन्जारा र सुदर्शन आचार्य रहनुभएको छ ।
यस पत्रिकाका सम्पादक अग्रज पत्रकार रामचन्द्र हुमागाईंले यस पत्रिकाको प्रकाशकत्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएपछि यो पत्रिका शब्दयात्रा प्रकाशनले सञ्चालन गरिरहेको छ ।

हार्दिक श्रद्धाञ्जली

0

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, नीलकण्ठेश्वर धाम संरक्षण समितिका कोषाध्यक्ष तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका सदस्य प्रेमबहादुर कार्कीका पिता कृष्णबहादुर कार्कीले २०७४ साल मङ्सिर २३ गते शनिबार परलोकगमन गर्नुभएकोमा गतात्माको मोक्षप्राप्तिका लागि कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भनी भगवान् श्री नीलकण्ठेश्वर बाबासँग प्रार्थना गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार
नीलकण्ठेश्वर धाम संरक्षण समिति परिवार
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति परिवार