शारीरिक अस्वस्थता भएर पनि आत्मबल र पारिवारिक सहयोगका कारण साहित्यिक सिर्जना गर्ने महिला प्रतिभाहरूको पङ्क्तिमा काभ्रे जिल्लाको बनेपा नगरपालिका नालानिवासी पूरा श्रेष्ठ पनि थपिएकी छन् । उनले सामाजिक उपन्यासको सिर्जना गरेकी छन् । उनको उपन्यासलाई शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिने भएको छ ।
समाजसेवी तथा शिक्षासेवी निर्मला श्रेष्ठका अनुसार पूरा श्रेष्ठको वास्तविक नाम समिता श्रेष्ठ हो । २०४७ साल पुस २४ गते जन्मिएकी उनी विगत १२ वर्षअघिदेखि शारीरिक रूपमा अशक्त छिन् । उनी हरबखत ओछ्यानमा पल्टिरहन्छिन् । शारीरिक अस्वस्थताकै कारणले उनले ९ कक्षाभन्दा बढी पढ्न सकिनन् । उनका दुवै गोडा र दुवै हात राम्ररी चल्दैनन् । त्यसैले उनी देब्रे हातका औँलाको पछाडिपट्टिको भागबाट आईप्याडको किबोर्डमा थिचेर साहित्यिक सिर्जना गर्ने गर्छिन् ।
पूरा श्रेष्ठ हिम्मत भयो भने शारीरिक अस्वस्थताले पनि काम गर्न रोक्न सक्तैन, अनि नयाँ–नयाँ चिन्तन गर्न, देशको विकास यसरी हुन्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्न र अरूका लागि उदाहरण बन्न सकिन्छ भन्ने कुराका लागि प्रेरक व्यक्तित्व बनेकी छन् । उनी काभ्रे जिल्लाका लागि मात्र होइन, सम्पूर्ण अशक्तहरूका लागि प्रेरणापुञ्ज हुन् ।
नयाँ झमककुमारी बन्न लागेकी पूरा श्रेष्ठको उपन्यास शब्दयात्रा प्रकाशनको ९५ औँ प्रकाशनपुष्प हुनेछ । उपन्यासलाई आगामी २०७४ साल पुस २४ गते सोमबार नालामा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने भएको छ ।