शब्दयात्रा प्रकाशनद्वारा गठित भौतिक संरचना निर्माण समितिको बैठक गत २०७४ साल पुस ६ गते बिहीबार शब्दयात्रा प्रकाशनको कार्यालयमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको बैठकले अब भौतिक संरचनाको निर्माणकार्य प्रारम्भ गर्ने र यही २०७४ सालभित्र सालिकको स्थापना र अनावरण गर्ने निर्णय गरेको छ ।
निर्माण समितिको बैठक सम्पन्न
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरी अनावरण गर्न लागेको पाँचजना शीर्ष वाङ्मयिक शब्दसाधकहरूको सालिकको निर्माण तथा स्थापनाका लागि इ. रोशन मञ्जुश्री अधिकारीले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनको भौतिक संरचना निर्माण समितिले यही २०७४ सालभित्र पाँचैवटा सालिक अनावरण गर्ने योजना बनाएको छ ।
‘नेपालभूमि’ लाई छुट्टै समिति
शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि साप्ताहिक’ को व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएको छ । समितिमा पदमनाथ ढुङ्गाना, शिवप्रसाद बन्जारा र सुदर्शन आचार्य रहनुभएको छ ।
यस पत्रिकाका सम्पादक अग्रज पत्रकार रामचन्द्र हुमागाईंले यस पत्रिकाको प्रकाशकत्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएपछि यो पत्रिका शब्दयात्रा प्रकाशनले सञ्चालन गरिरहेको छ ।
हार्दिक श्रद्धाञ्जली
शब्दयात्रा प्रकाशनका शुभचिन्तक, नीलकण्ठेश्वर धाम संरक्षण समितिका कोषाध्यक्ष तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका सदस्य प्रेमबहादुर कार्कीका पिता कृष्णबहादुर कार्कीले २०७४ साल मङ्सिर २३ गते शनिबार परलोकगमन गर्नुभएकोमा गतात्माको मोक्षप्राप्तिका लागि कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भनी भगवान् श्री नीलकण्ठेश्वर बाबासँग प्रार्थना गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
नीलकण्ठेश्वर धाम संरक्षण समिति परिवार
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति परिवार
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनलाई हरेक प्रकारले सहयोग गर्नुभएका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा र शब्दयात्रा प्रकाशनको कार्यक्रममा प्रमुख अतिथि बन्नुभएका चलचित्रकर्मी यादव खरेल गत २०७४ मङ्सिर २८ गते नेपालगन्जमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको आयोजनामा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित हुनुभएकोमा उहाँहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसंवाद’ मा रमेश पौडेल
शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ मङ्सिर २९ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा शिक्षासेवी रमेश पौडेलले शिक्षाका विषयमा प्रवचन गर्नुभयो । रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चालीसौँ शृङ्खला हो ।
पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विमला शर्मा, हरि मञ्जुश्री, सकुल थापा, कृष्णमणि कुइँकेल, शारदाप्रसाद शर्मा, मुकुन्दप्रसाद उपाध्याय, सोमकाजी शाक्य, फणीन्द्रराज अधिकारी, छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल, सिद्धिबहादुर कर्माचार्य, सच्चिदानन्द केसी, श्याम आचार्य, रोजनाथ लुइँटेल, केदारनाथ तिमल्सिना, पूर्णबहादुर कार्की, पुण्यवती घले, पूर्णबहादुर कर्माचार्य, उद्धवप्रसाद नेपाल, ओतबहादुर खड्का, भुवन पाण्डे, प्रेमनाथ कोइराला, पर्वतराज घिमिरे, विष्णुहरि तिमल्सिना, इन्द्रप्रसाद कुइँकेल आदिको उपस्थिति रहेको थियो ।
‘गीता–माली’ सार्वजनिक
शब्दयात्रा प्रकाशनको आयोजनामा मङ्सिर २९ गते मुक्ति शर्माद्वारा अनुवाद गरिएको ‘गीता माली’ नामक काव्यलाई शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माको प्रमुख आतिथ्य र आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्याय तथा बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ‘गीता माली’ काव्यलाई विमला शर्मा, मुकुन्दप्रसाद उपाध्याय र हरि मञ्जुश्रीले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
उक्त कार्यक्रममा शिक्षासेवी फणीन्द्रराज अधिकारीले पुस्तकमाथि टिप्पणी गर्नुभयो भने शिक्षासेवी रामप्र्रसाद अधिकारीले स्वागत भाषण गर्नुभयो । पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ओतबहादुर खड्काले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभयो भने अतिथिद्वयले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हार्दिक बधाई
शब्दयात्रा कविता–काव्य सम्मान, २०७४ बाट सम्मानित किरण खरेल ‘नारायणगोपाल स्मृति सम्मान’ बाट सम्मानित हुनुभएकोममा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
‘गीता–माली’ फेरि छापिँदै
शब्दयात्रा प्रकाशनबाट ‘गीता–माली’ पुस्तकको दोस्रो संस्करण प्रकाशन हुने भएको छ । उक्त कृति मुक्ति शर्मा बाबाबाट श्रीमद्भगवद्गीताको कवितात्मक अनुवाद गरी तयार पारिएको हो ।
उक्त पुस्तकको पहिलो संस्करण शब्दयात्रा प्रकाशनको पन्ध्रौँ प्रकाशनपुष्पका गत २०६९ सालको साउन महिनामा प्रकाशित भएको थियो ।
स्मारिका प्रकाशन समिति गठन
शब्दयात्रा प्रकाशनले ९ सदस्यीय स्मारिका प्रकाशन समिति गठन गरेको छ । अग्रज शिक्षासेवी फणीन्द्रराज अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा अमृत अधिकारी, उद्धवप्रसाद नेपाल, दामोदर घिमिरे, पुण्यवती घले, पूर्णबहादुर कार्की, मोहनविनोद बजगाईं, सुदर्शन आचार्य र सोमकाजी शाक्य रहनुभएको छ ।
नेपाली वाङ्मय क्षेत्रका शीर्ष पाँच व्यक्तित्वका सालिकहरू काभ्रे जिल्लाको बनेपामा स्थापना गरी यसै वर्षभित्र अनावरण गरिने लक्ष्य राखिएकाले त्यसै प्रयोजनका लागि स्मारिका प्रकाशित गरी अनावरण कार्यक्रममा वितरण गर्न उक्त समिति बनाइएको हो ।