शब्दयात्रा प्रकाशनले पूर्वघोषणाअनुसार ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक नियमित साप्ताहिक प्रवचन कार्यक्रमको एक वर्ष पूरा भएको हुनाले हालका लागि यो कार्यक्रम स्थगित गरेको छ । यस कार्यक्रमले बाउन्न शृङ्ला पूरा गरिसकेपछि स्थगित गरिएको हो ।
यस कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाका अनुसार दुई शृङ्खलामा प्रवचनइतरका अन्य कार्यक्रम गरिएर अन्य पचासवटा कार्यक्रममा पचासजनाले प्रमुख वक्ताका रूपमा उपस्थित भई प्रवचन गर्नुभएको छ । ती प्रवचनहरू ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित र शब्दयात्रा प्रकाशनको वेभसाइटबाट प्रसारित भएका छन् ।
कार्यक्रममा प्रस्तुत गरिएका प्रवचनहरू र ती प्रवचनका प्रवाचकहरूको व्यक्तित्वलाई समेटेर पुस्तकको तयारी गर्दै गरेको जानकारी पनि पदमनाथ ढुङ्गानाले गराउनुभएको छ ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ स्थगित
श्री शर्मा मूर्खलाई शब्दयात्रा उपहार
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका नियमित श्रोताका रूपमा व्यवस्थापनविद् श्री शर्मा मूर्खलाई विशेष उपहार प्रदान गरेको छ ।
गत २०७४ फागुन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष समारोहमा प्रमुख वक्तका रूपमा समुपस्थित प्रा. भोला के. सी. ले उहाँलाई उपहार प्रदान गर्नुभएको थियो ।
‘शब्दसंवाद’ मा प्रा. भोला के. सी.
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बाउन्नौँ शृङ्खला गत २०७४ साल फागुन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख वक्ताका रूपमा शिक्षासेवी प्रा. भोला के. सी. उपस्थित हुनुभएको थियो । उहाँले करिब १ घन्टासम्मको प्रवचनमा अनौपचारिक शिक्षाका विषयमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो । उक्त कार्यक्रममा श्यामकृष्ण लम्साल, कृष्णमणि कुइँकेल, शारदाप्रसाद शर्मा, रामप्रसाद अधिकारी, माधवप्रसाद आचार्य, पूर्णबहादुर कर्माचार्य, पुण्यवती घले, उद्धवप्रसाद नेपाल, पूर्णबहादुर कार्की, देवीप्रसाद ढुङ्गाना, रामहरि न्यौपाने, दण्डपाणि अधिकारी, छविलाल कुइँकेल, नवराज दाहाल उत्साही, श्री शर्मा मूर्ख, विष्णुनारायण श्रेष्ठ, सूर्यभक्त कर्माचार्य, शकुन्तला बन्जारा, दीपक तिमल्सिना, अनु थापामगर, राजेश लामा आदिको उपस्थिति रहेको थियो ।
शब्दयात्रा कर्मशीलता पुरस्कार पदमनाथ ढुङ्गानालाई
शब्दयात्रा प्रकाशनले पदमनाथ ढुङ्गानालाई रु. १० हजार राशीसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७४’ प्रदान गरेको छ । गत २०७४ फागुन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष समारोहमा संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले उहाँलाई उक्त पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो । सम्मानका क्रममा उहाँलाई रु. १० हजार, शब्दयात्रा पट्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले प्रारम्भ गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रमलाई संयोजकका रूपमा पचास शृङ्खलासम्म कुशलतापूर्वक सञ्चालन गरी प्रमुख वक्ताबाट प्रस्तुत गरिएका विचारहरूलाई लिपिबद्ध गरेर ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशनार्थ उपलब्ध गराएकोमा उहाँलाई पुरस्कृत गरिएको हो ।
बेलप्रसाद श्रेष्ठलाई पितृशोक
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित सामाजिक जागरण सम्मानबाट २०७० सालमा सम्मानित समाजसेवी बेलप्रसाद श्रेष्ठलाई पितृशोक परेको छ ।
उहाँका पिता मोहनप्रसाद माकजूको गत २०७४ साल फागुन २१ गते धुलिखेलमा निधन भएको थियो । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो ।
‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ फेरि
शब्दयात्रा प्रकाशनले ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ पुस्तिकाको दोस्रो संस्करण प्रकाशित गरेको छ । उक्त पुस्तिकाको प्रथम संस्करण शब्दयात्रा प्रकाशनको ७८ औँ प्रकाशनपुष्पका रूपमा २०७३ माघमा प्रकाशित भएको थियो ।
पत्रकार जयप्रकाश त्रिपाठीद्वारा लिखित जम्मा २० पृष्ठको यस पुस्तिकाको मूल्य ३० रुपियाँ राखिएको छ ।
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले नेपालमा पहिलोपल्ट नेपालका मूद्र्धन्य शब्दसाधकहरू पाँचजनाको सालिक एकै ठाउँमा स्थापना गर्न लागेको हुनाले त्यस कार्यमा सहयोग गर्न चाहनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
यसै क्रममा काठमाडौँ पेप्सिकोलाका समुन्नत श्रेष्ठले १० हजार १ सय ५५ रुपियाँ, काठमाडौँ पेप्सिकोलाकै राजेश श्रेष्ठले ५ हजार १ सय रुपियाँ, काठमाडौँ बानेश्वरका श्रद्धा श्रेष्ठ र किरण श्रेष्ठले ५ हजार १ सय ५५ रुपियाँ, ललितपुर कुसुन्तीकी सुभद्रा श्रेष्ठले ५ हजार ५ सय रुपियाँ, ललितपुर भैँसेपाटीका सिनेरिया जोशी र दीनबन्धु जोशीले ५ हजार १ सय ६० रुपियाँ र ललितपुर भैँसेपाटीकै शुभम्श्रु श्रेष्ठ र नगेन्द्र श्रेष्ठले ५ हजार १ सय ६० रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
यस्ता छन् चार पुस्तक
२०७४ सालको अन्तिम सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक ‘भर्तृहरिशतक’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित ९७ औँ पुस्तक हो । संस्कृत साहित्यका महान् काव्यकार भर्तृहरिले लेख्नुभएको नीतिशतक, वैराग्यशतक र शृङ्गारशतकलाई समग्रमा भर्तृहरिशतक भन्ने गरिन्छ । त्यही काव्यलाई काभ्रे जिल्लाका काव्यकार श्रीधर प्याकु¥यालले नेपाली भाषामा कवितात्मक भावानुवाद गर्नुभएको हुँदा यो पुस्तक प्रकाशित हुन सकेको हो । जम्मा १ सय ४४ पृष्ठको यस पुस्तकको मूल्य रु. २००।– राखिएको छ । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा उहाँका चारवटा पुस्तक प्रकाशित भएका छन् । उहाँका लागि पनि यो गौरवको कुरो हो । यसका लागि र यस कृतिका लागि पनि श्रीधर प्याकु¥याललाई हार्दिक बधाई छ ।
अब ‘मी एन्ड माई धुलिखेल’ पुस्तकको चर्चा गर्दछु । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ९८ औँ कृति हो । यसका लेखक बेलप्रसाद श्रेष्ठ हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले उहाँको प्रतिमा स्थापना गरेर अनावरण गराइसकेको छ । काभ्रे जिल्लामा स्थापित जीवित समाजसेवीको पहिलो प्रतिमा त्यही हो । बेलप्रसाद श्रेष्ठले यसभन्दा अगाडि नेपाली भाषामा लेख्नुभएको ‘म र मेरो धुलिखेल’ पुस्तक पढ्न पाइएको थियो । त्यही पुस्तकलाई परिमार्जन र परिवद्र्धन गरेर डा. भास्कर हुमागाईंले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि यो पुस्तक तयार भएको हो । अविकसित अवस्थाको धुलिखेल कसरी अहिलेको विकसित धुलिखेल बन्न पुग्यो र त्यसमा कस–कसको कस्तो–कस्तो भूमिका रह्यो भन्ने कुराको जानकारी यस कृतिले दिनेछ । व्यवस्थापन सङ्कायको पाठ्यक्रममा राख्न मिल्ने यो कृति विदेशीहरूको हातमा पु¥याउन सकियो भने असाध्यै राम्रो हुने थियो । जम्मा १ सय ७६ पृष्ठको यस कृतिको मूल्य ३०० रुपियाँ राखिएको छ । यस कृतिबाट आफ्नो व्यक्तित्व र कर्तृत्वलाई अन्तर्राष्ट्रिय जगत्सम्म पु¥याउन सफल हुनुभएकोमा बेलप्रसाद श्रेष्ठलाई हार्दिक बधाई छ ।
अर्को पुस्तिका ‘शाहवंशको चर्तिकला’ हो । यो शब्दयात्रा प्रकाशनको ९९ औँ पुस्तक हो । यसका सङ्कलक विष्णुहरि तिमल्सिना हुनुहुन्छ । यसमा ‘इतिहास प्रकाश’ बाट साभार गरी शाहवंशको वंशावली राखिएको छ भने ‘शाहवंशको शल्यक्रिया’ पुस्तकबाट विभिन्न रोचक प्रसङ्गहरू साभार गरिएका छन् । जम्मा ३२ पृष्ठको यस पुस्तिकाको मूल्य सुस्त मनस्थितिका बालबालिकाको हितमा सङ्कलक स्वयंबाटै खर्च गर्ने गरी १०० रुपियाँ राखिएको छ । यस पुस्तिकाका माध्यमबाट नेपाली वाङ्मयमा प्रवेश गर्नुभएकोमा विष्णुहरि तिमल्सिनालाई हार्दिक बधाई छ ।
चौथो कृति पूरा श्रेष्ठद्वारा लिखित ‘पुनर्जन्म’ नामक कवितासङ्ग्रह हो । यो शब्दयात्रा प्रकाशनको १०० औँ प्रकाशनपुष्प हो । आध्यात्मिक प्रवाचक डा. चिन्तामणि योगीको सहयोगमा शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको आर्थिक सहयोगबाट प्रकाशित यस सङ्ग्रहमा ‘पुनर्जन्म’ शीर्षकका ४३ वटा कविता रहेका छन् । जम्मा ४८ पृष्ठको यस सङ्ग्रहको मूल्य ७० रुपियाँ राखिएको छ । उहाँको पहिलो कृति ‘नयाँ सोच’ लघु–उपन्यास यसै संस्थाबाट प्रकाशित भई सार्वजनिक भएको थियो । अत्यन्त कमजोर शारीरिक अवस्था हुँदाहुँदै पनि आत्मबल बढाएर साहित्यिक क्षेत्रमा सक्रिय भई दोस्रो कृतिका कृतिकार हुनुभएकोमा पूरा श्रेष्ठलाई हार्दिक बधाई छ । हामी उहाँको स्वास्थ्यलाभको कामना गर्दछौँ ।
अन्त्यमा, यी चारैवटा कृतिहरूले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दै कृतिहरूको परिचयात्मक टिप्पणी गरिदिन मलाई गरिएको आग्रहका लागि शब्दयात्रा प्रकाशनप्रति हार्दिक आभार व्यक्त गर्दछु र आफ्नो टिप्पणी यहीँ समाप्त गर्दछु ।
(पुस्तकका विषयमा गरिएको परिचयात्मक टिप्पणीको मूल भाग)
हामीले छान्यौं
शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा समर्पण गर्ने गरेको विज्ञान–प्रविधि सम्मान, शिक्षा सम्मान, आमसञ्चार सम्मान र सामाजिक जागरण सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि साप्ताहिक’ पत्रिका र ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रममार्फत सार्वजनिक रूपमा आह्वान गरेको रहेछ । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको रहेछ ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनायो । हामी चारैजना काभ्रे जिल्लाका बासिन्दा छौँ । हामीलाई चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अग्रज पत्रकार होमनाथ दाहाल, नेपालको पहिलो सामुदायिक विद्यालय षडानन्द माध्यमिक विद्यालय, नेपालको पहिलो कम्प्युटर प्रोग्रामर मुनिबहादुर शाक्य र काभ्रे जिल्लामा सक्रिय सामाजिक संस्था लभग्रीन नेपालप्रति चयन समिति आभार व्यक्त गर्दछ । उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण ‘नेपालभूमि साप्ताहिक’ को अतिरिक्त विशेषाङ्कमा उल्लेख गरिएकाले उहाँहरूका विषयमा विशेष जानकारी तपाईंहरूको हातमा आइपुगेको त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछु ।
कार्यक्रममा श्रीधर प्याकु¥यालको ‘भर्तृहरि शतक’, बेलप्रसाद श्रेष्ठको ‘मी एन्ड माई धुलिखेल’, विष्णुहरि तिमल्सिनाको ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठको ‘पुनर्जन्म’ सार्वजनिक हुन लागेको हुनाले चारैजना कृतिकारलाई चयन समितिका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।
शब्दयात्रालाई १ लाख ११ हजार
नेपालका विशिष्ट व्यक्तिहरू उपस्थित रहेको यस समारोहमा मलाई सभापति चयन गर्नुभएकोमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री सरसहित शब्दयात्रा प्रकाशनका सम्पूर्ण परिवारजनप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
बहिनी पूरा श्रेष्ठको साहित्यिक कृतिको प्रकाशन गर्ने क्रममा आदरणीय दाइ सिद्धिबहादुर कर्माचार्यको सौजन्यबाट हरि मञ्जुश्री सरसँग मेरो चिनजान भएको हो । उहाँकै सहयोगबाट पूरा श्रेष्ठको ‘नयाँ सोच’ पुस्तक छापियो, सार्वजनिक भयो र राष्ट्रिय स्तरमा चर्चा पनि भयो । ‘मधुपर्क’ र ‘कान्तिपुर’ जस्ता पत्रिकाले पनि पूरा श्रेष्ठलाई नेपालभरि चिनाए । डा. चिन्तामणि योगीको आर्थिक सहयोग र हरि मञ्जुश्री सरको सम्पादन सहयोगका कारण उनैको अर्को पुस्तक ‘पुनर्जन्म’ छापिएको छ र आज सार्वजनिक हुँदैछ ।
‘पुनर्जन्म’ को प्रकाशनकै क्रममा म हरि मञ्जुश्री सरकहाँ जाँदा उहाँले शब्दयात्रा प्रकाशनबाट स्थापना गरिएका १८ वटा विधाका सम्मानहरूको विवरण सुनाउनुभयो र तीमध्ये एउटा सम्मानको आर्थिक व्यवस्थापन गर्नका लागि १ लाख रुपियाँ सम्मानकोषमा राखिदिन सकिन्छ कि भनेर मलाई सोध्नुभयो । ‘जुनसुकै विधामा भए पनि अनुसन्धान गर्ने व्यक्तिहरूलाई गरिने सम्मानको कोषमा यसै वर्षदेखि म १ लाख रुपियाँ राखिदिउँला’ भनेर मैले वचन दिएँ । उहाँले ‘विज्ञान–प्रविधि सम्मानका लागि कोष राखिदिनोस् न त’ भन्नुभयो । हाम्रा पूज्य पिताजी रामकृष्ण श्रेष्ठको निधन भएपछि हामी उहाँका सन्ततिहरूले उहाँको समाजसेवी भावनालाई अघि बढाउन ‘रामकृष्ण स्मृति प्रतिष्ठान’ खोलेका हुनाले हामी परिवारका सदस्यहरूले ‘रामकृष्ण स्मृति प्रतिष्ठान’ आर्थिक व्यवस्थापक रहने गरी यसै वर्षदेखि विज्ञान–प्रविधि सम्मानकोषको आर्थिक व्यवस्था गरिदिने निर्णय ग¥यौँ । त्यसैले ‘रामकृष्ण स्मृति प्रतिष्ठान’ का तर्फबाट शब्दयात्रा प्रकाशनको विज्ञान–प्रविधि सम्मानकोषमा रहने गरी १ लाख १ हजार रुपियाँ र आजको कार्यक्रमका लागि १० हजार रुपियाँसहित १ लाख ११ हजार रुपियाँ म अहिले नै हस्तान्तरण गर्न चाहन्छु ।
शब्दयात्रा प्रकाशन नेपालको नमुना वाङ्मयिक संस्था बनेर हाम्रो ३ नं. प्रदेशको गौरव बनोस् भन्ने कामना गर्दछु ।
(सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको मूल भाग)

