Home Blog Page 17

शब्दसाधक अतिथिगृहमा बसेर लेखेको दोस्रो पुस्तक सार्वजनिक

0

पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको दोस्रो पुस्तक ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) लाई कृतिकार र उहाँकी नातिनी गङ्गा बस्नेतले २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
शब्दयात्रा प्रकाशन प्रकाशक बनेको यो २५४ औँ पुस्तक हो । यस पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डू क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर थापा र राजनीतिकर्मी पद्मबहादुर बुढाथोकीको योगदानका बारेमा चर्चा गरिएको छ । विशेषतः किसान आन्दोलनलाई केन्द्रमा राखिएको यस पुस्तकमा राजनीति, साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा लागेका त्यस भेगका व्यक्तित्वहरू लेखनाथ न्यौपाने, युद्धप्रसाद मिश्र, भैरव रिसाल, गणेशबहादुर राउत, अङ्गीरस उपाध्याय, नेत्रनाथ शर्मा, विष्णुबहादुर खड्का, होमशङ्कर ढुङ्गेल आदिका विषयमा पनि जानकारी गराइएको छ । पञ्चायतकालीन राजनीति र वर्तमान सामाजिक अवस्थाको झल्को पनि यस पुस्तकले दिएको छ ।

कुराको सास्ती सार्वजनिक

0

पुराना पत्रकार बलदेव थापाले शब्दसाधक अतिथिगृहमा बसेर लेख्नुभएको पहिलो पुस्तक ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) लाई २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा कृतिकार र उहाँका नाति उमङ्गदेव थापाले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
‘कुराको सास्ती’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २५३ औँ पुस्तक हो । यसमा ३८ वटा कविता र २८ वटा मुक्तक छन् । यी कविता र मुक्तकहरूमा देशको अवस्थामाथि संवेदनशील नागरिकको चिन्ता प्रकट भएको छ । राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखापरेका अनेक प्रकारका विकृति र विसङ्गतिहरूलाई उहाँले यस सङ्ग्रहमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, विद्युत, मानवीय प्रवृत्ति आदिजस्ता विषयहरू पनि यस सङ्ग्रहभित्रका कवितामा व्यङ्ग्यका वस्तु बनेका छन् । यसमा लेख्य भाषामा भन्दा कथ्य भाषामा बढी जोड दिइएको छ । कविताहरू छोटा–छोटा छन् । मुक्तकहरू चाहिँ छ हरफका छन् ।

प्रतिभा सुवेदी सामाजिक जागरण सम्मानद्वारा सम्मानित

0
जनस्तरीय संस्थाहरूको गठन र सञ्चालन, प्रशिक्षण, लेखन र प्रकाशन जस्ता विभिन्न विधाहरूबाट निरन्तर सामाजिक अभियान सञ्चालन गरेर नारी चेतना, जागरण, उत्थान र सबलीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले काठमाडौंकी प्रतिभा सुवेदीलाई ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना हजुरबुबा समाजसेवी हंसराज श्रेष्ठको सम्मानमा काभ्रेपलाञ्चोकका व्यवसायी आनन्दराज श्रेष्ठले गर्नुभएको हो । सम्मानका क्रममा आनन्दराज श्रेष्ठका तर्फबाट जयनारायण नेपालले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा लीलादेवी श्रेष्ठले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

लीलादेवी श्रेष्ठ दानशीलता सम्मानद्वारा सम्मानित

0
मृगौलाले काम नगरेर मरणासन्न अवस्थामा पुग्नुभएका आफ्ना श्रीमान् प्रा. केदारनाथ श्रेष्ठलाई २०५५ साल जेठ १५ गते आफ्नो मृगौला दान गरेर आदर्श पत्नी र आदर्श दाताको परिचय कायम गर्नुका साथै समाजसेवा र साहित्यसेवामा सक्रिय रही विभिन्न संस्थालाई भौतिक सम्पत्ति पनि दान गर्नुभएकाले सङ्खुवासभाकी लीलादेवी श्रेष्ठलाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन काभ्रेपलाञ्चोकका समाजसेवी बेलप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मानका क्रममा बेलप्रसाद श्रेष्ठका तर्फबाट प्रह्लाद प्याकुरेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा डा. छत्रपति दाहालले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

प्रा. डा. मीनबहादुर विष्टलाई शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान

0
लामो समयसम्म विश्वविद्यालयमा शिक्षा विषयक प्राध्यापन र विद्यावारिधि उपाधिको शोधनिर्देशन गर्नुका साथै आफ्ना उत्कृष्ट शैक्षिक चिन्तनहरू पुस्तकाकार रूपमा नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएकाले शिक्षासेवी तथा शैक्षिक चिन्तक प्युठानका प्रा. डा. मीनबहादुर विष्टलाई ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना हजुरबुबा–हजुरआमाको सम्मानमा काभ्रेपलाञ्चोकका शिक्षासेवी रमेश पौड्यालले गर्नुभएको हो । डा. विष्ट अमेरिकामा हुनुभएकाले उहाँका तर्फबाट उहाँका सम्मान सामग्रीहरू सुदीप अधिकारीले सकुल थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

डा. छत्रपति दाहाल आयुर्वेद सम्मानद्वारा सम्मानित

0
आयुर्वेदिक चिकित्सकका रूपमा लामो समयसम्म सेवा गर्नुका साथै आयुर्वेदसम्बन्धी विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद, सम्पादन तथा प्रकाशन गरी नेपाली वाङ्मयलाई सुम्पनुभएकोमा यस्तो महत्तम योगदानका लागि काभ्रेपलाञ्चोकका डा. छत्रपति दाहाललाई ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना हजुरबुबा कालु वैद्यको सम्मानमा भक्तपुरका समाजसेवी नारायणप्रसाद वैद्यले गर्नुभएको हो । सम्मानका क्रममा नारायणप्रसाद वैद्यका तर्फबाट प्रह्लाद प्याकुरेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा प्रा. डा. राजेन्द्र ज्ञवालीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

सुनका दाना सार्वजनिक

0
कवि हरि कोर्कालीले लेख्नुभएको चौथो पुस्तक ‘सुनका दाना’ (बालकवितासङ्ग्रह) लाई कृतिकार र उहाँका गुरु प्रा. केदारनाथ श्रेष्ठले २०८२ जेठ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
यस सङ्ग्रहमा ५६ वटा कविता छन् । हरेक कवितामा सुन्दर चित्रहरू पनि राखिएका छन् । चित्रहरू कविताको भाव अनुसारका नै छन् । चित्रहरूले पाठकलाई कविता पढौँ–पढौँ बनाइदिन्छन् । कविताहरूले पाठकलाई मनोरञ्जन पनि दिन्छन् र ज्ञान पनि बढाइदिन्छन् । विद्यालयमा अध्ययन गर्ने ६–७ कक्षासम्मका विद्यार्थीका लागि यो पुस्तक कामलाग्दो छ । सङ्गीतबद्ध गर्ने हो भने बालश्रोताका लागि कर्णप्रिय हुने खालका कविता यसमा छन् । कविताहरू एकपटक पढेपछि दोहो¥याएर पढ्न मन लाग्ने र अरूलाई पनि पढ्न लगाउने खालका छन् । बालपाठकलाई त यस पुस्तकले यस्ता खालका बालसाहित्यिक पुस्तकहरू पढ्नमा रुचि नै जगाइदिनेछ ।

डा. राजेन्द्र ज्ञवाली विज्ञान–प्रविधि सम्मानबाट सम्मानित

0
नेपालमा पाइने जडिबुटीहरूको वैज्ञानिक परीक्षण गरी अर्बुद रोगका कोशिकाहरू नष्ट गर्ने जडिबुटीजन्य वनस्पतिहरूको पहिचान गरेर नेपालको विज्ञान–प्रविधि विधामा हुने अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकाले कपिलवस्तुका प्रा. डा. राजेन्द्र ज्ञवालीलाई ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान, २०८२’ समर्पण गरियो । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्ना बुबा रामकृष्ण श्रेष्ठको सम्मानमा काभ्रेपलाञ्चोककी सहकारीकर्मी निर्मला श्रेष्ठले गर्नुभएको हो । सम्मानका क्रममा निर्मला श्रेष्ठले माला र उपहार तथा हरि मञ्जुश्रीले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

आठजनामा सम्मान समर्पण र तीन पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनले २०८२ सालको पहिलो चरणका आठवटा सम्मान आज जेठ ३१ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तीनवटा पुस्तक पनि आजै सार्वजनिक गरिएका छन् ।
शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित कार्यक्रममा प्रा. डा. मीनबहादुर विष्ट (प्युठान) लाई शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, प्रा. डा. राजेन्द्र ज्ञवाली (कपिलवस्तु) लाई शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान, डा. छत्रपति दाहाल (काभ्रेपलाञ्चोक) लाई शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान, लीलादेवी श्रेष्ठ (सङ्खुवासभा) लाई शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान, प्रतिभा सुवेदी (काठमाडौं) लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, लोकेन्द्र ढकाल (तेह्रथुम) लाई शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान, श्रीराम पौडेल ‘उदासी’ (ललितपुर) लाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान र सुदीप अधिकारी (भोजपुर) लाई ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ नामक अनुसन्धानात्मक ग्रन्थका लागि शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान समर्पण गरिएको हो ।
कार्यक्रममा बलदेव थापाद्वारा लिखित ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) र ‘बाको बाम’ (ऐतिहासिक परिचय) तथा हरि कोर्कालीद्वारा लिखित ‘सुनका दाना’ (बालकवितासङ्ग्रह) लाई सार्वजनिक गरियो ।
सम्मानित व्यक्तित्वको चिनारी चयन समितिका संयोजक प्रह्लाद प्याकुरेलले र सार्वजनिक गरिएका कृतिहरूको चिनारी मच्छेश्वर सापकोटाले गराउनुभएको थियो । डा. इन्दुल केसीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व हरि मञ्जुश्रीले, समापन दण्डपाणि अधिकारीले, उद्घोषण कृष्णमणि कुइकेलले, छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले र अच्युत अधिकारीले चयन समितिलाई उपहार समर्पण गर्नुका साथै अभिवन्दनापत्र वाचन गर्नुभएको थियो । केदारनाथ तिमल्सिनाले मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण गर्नुभएको उक्त कार्यक्रममा अमृत अधिकारी र सङ्गीता केसीले सम्मान सामग्रीको व्यवस्थापन गर्नुभएको थियो ।
कार्यक्रममा नन्दिकेश्वर अधिकारी, हंसराज श्रेष्ठ, कालु वैद्य र रामकृष्ण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी उहाँहरूको आत्मशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।

२५५. सुनका दाना

कवि तथा बालसाहित्यकार हरि कोर्कालीको ‘सुनका दाना’ नामक बालकवितासङ्ग्रहमा ५६ वटा कविता छन् । हरेक कवितामा सुन्दर चित्रहरू पनि राखिएका छन् । कविताको भाव अनुसारका चित्रहरूले पाठकलाई कवितातिर अझ आकर्षित गराउनेछन् । कविताहरू श्रवणीय छन्, मनोरञ्जक छन् र ज्ञानवर्धक छन् । विद्यालयमा अध्ययन गर्ने ६–७ कक्षासम्मका विद्यार्थीका लागि कामलाग्दा छन् । सङ्गीतबद्ध गर्ने हो भने बालश्रोताका लागि कर्णप्रिय हुने खालका छन् । कविताहरू एकपटक पढेपछि दोहो¥याएर पढ्न मन लाग्ने र अरूलाई पनि पढ्न लगाउने खालका छन् । बालपाठकलाई त यस पुस्तकले यस्ता खालका बालसाहित्यिक पुस्तकहरू पढ्नमा रुचि नै जगाइदिनेछ ।