Home Blog Page 18

२५४. ‘बा’ को वाम

बलदेव थापाद्वारा लिखित ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) नामक यस पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डू क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर थापा र राजनीतिकर्मी पद्मबहादुर बुढाथोकीको योगदानका बारेमा चर्चा गरिएको छ । विशेषतः किसान आन्दोलनलाई केन्द्रमा राखिएको यस पुस्तकमा राजनीति, साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा लागेका त्यस भेगका व्यक्तित्वहरू लेखनाथ न्यौपाने, युद्धप्रसाद मिश्र, भैरव रिसाल, गणेशबहादुर राउत, अङ्गीरस उपाध्याय, नेत्रनाथ शर्मा, विष्णुबहादुर खड्का, होमशङ्कर ढुङ्गेल आदिका विषयमा पनि जानकारी गराइएको छ । पञ्चायतकालीन राजनीति र वर्तमान सामाजिक अवस्थाको झल्को पनि यस पुस्तकले दिएको छ ।

२५३. कुराको सास्ती

बलदेव थापाको व्यङ्ग्यकवितासङ्ग्रह ‘कुराको सास्ती’ उहाँको प्रथम पुस्तक हो । यसमा ३८ वटा कविता र २८ वटा मुक्तक रहेका छन् । यी कविता र मुक्तकहरूमा देशको अवस्थामाथि संवेदनशील नागरिकको चिन्ता प्रकट भएको छ । राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखापरेका अनेक प्रकारका विकृति र विसङ्गतिहरूलाई उहाँले यस सङ्ग्रहमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति, विद्युत, मानवीय प्रवृत्ति आदिजस्ता विषयहरू पनि यस सङ्ग्रहभित्रका कवितामा व्यङ्ग्यका वस्तु बनेका छन् । यसमा लेख्य भाषामा भन्दा कथ्य भाषामा बढी जोड दिइएको छ । कविताहरू छोटा–छोटा छन् । मुक्तकहरू चाहिँ छ हरफका छन् ।

पतिको प्रतीक्षामा बसेकी पत्नीको गीत सार्वजनिक

0

घरमा पतिको प्रतीक्षामा बसेकी पत्नीको मनोव्यथा झल्किने ‘अझै आएनन् उनी’ बोलको गीत शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ । हिजो जेठ २४ गते शनिबार सो गीतकी गायिका रश्मि हुमागाईंले गीतलाई सार्वजनिक गरेकी हुन् । त्यस बखत उनले आउँछु भनेको समयमा घर नआइपुग्दा पत्नीको मनमा कस्तो छटपटी हुन्छ, त्यो छटपटी गीतमा व्यक्त भएको कुरा व्यक्त गरिन् । गीतकार सुनील सापकोटाको रचना र सङ्गीतकार हरि मञ्जुश्रीको सङ्गीतमा तयार भएको यो गीत अक्षरधाम यु–ट्युब च्यालनबाट सुन्न सकिन्छ ।
कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, प्रा. डा. उषा ठाकुर, डा. मधुसूदन लामिछाने, सङ्गीतकार हरि मञ्जुश्री लगायतका वक्ताहरूले ‘अझै आएनन् उनी’ गीतको मार्मिक पक्ष र गायकीमाथि आआफ्नो धारणा राख्नुभएको थियो । शास्त्रीय सङ्गीतमा आधारित सो गीत गृहिणी महिलाहरूले रुचाउने विश्वास गरिएको छ ।

पुस्तक तथा गीतको सार्वजनिकीकरण तथा छात्रवृत्ति समर्पण कार्यक्रम सम्पन्न

0

शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते पुस्तक तथा गीत सार्वजनिकीकरण तथा छात्रवृत्ति समर्पण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा प्रा. डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नामक पुस्तक र लेखक स्वयम्भू शाक्यद्वारा लिखित ‘च्यातिएका पाना’ नामक पुस्तकलाई सार्वजनिक गरियो । सुनील सापकोटाको लेखन, हरि मञ्जुश्रीको सङ्गीत र रश्मि हुमागाईंको स्वर रहेको ‘अझै आएनन् उनी’ गीतलाई पनि त्यही कार्यक्रममा सार्वजनिक गरियो । यसै गरी शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद छात्रवृत्ति काभ्रेपलाञ्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूमा समर्पण गरियो ।
कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रा. डा. उषा ठाकुर र डा. मधुसूदन लामिछाने अतिथि हुनुहुन्थ्यो । हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कृष्णमणि कुइकेलले गर्नुभएको थियो । ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नामक पुस्तकलाई प्रा. डा. कुलप्रसाद कोइराला, मच्छेश्वर सापकोटा र प्रा. डा. उषा ठाकुरले सार्वजनिक गर्नुभएको थियो भने ‘च्यातिएका पाना’ लाई स्वयम्भू शाक्य, हरि मञ्जुश्री र डा. मधुसूदन लामिछानेले सार्वजनिक गर्नुभएको थियो । ‘अझै आएनन् उनी’ को सार्वजनिकीकरण रश्मि हुमागाईंले गर्नुभएको थियो भने विद्यार्थीहरूलाई छात्रवृत्ति र प्रमाणपत्र तथा विद्यार्थीको नाउँ सिफारिस गर्ने विद्यालयहरूलाई आभारपत्र समर्पण दाता शेखरप्रसाद ढुङ्गाना र उद्धवप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा साहित्यकार महेश्वर खनालले शब्दयात्रा प्रकाशन सङ्ग्रहालयका लागि केही सिक्का र नोटहरू तथा पुस्तकालयका लागि केही पुस्तकहरू उपहार दिनुभएको थियो ।
मुरहरि रायमाझी र गोविन्दबहादुर खड्काले कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा प्रा. डा. कुलप्रसाद कोइराला ७१ वर्ष लाग्नुभएकोमा शब्दयात्रा प्रकाशनका तर्फबाट जन्मदिवसको शुभकामनापत्र समर्पण गरिएको थियो । शुभकामनापत्रको बेहोरा पदम दाहालले पढ्नुभएको थियो भने डा. इन्दुल केसी, लोकेन्द्र ढकाल र अमृत अधिकारीले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
प्रजापति तिमिल्सिनाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले टोपी लगाइदिनुभएको थियो । कार्यक्रममा इ. रोशन मञ्जुश्री अधिकारीले छायाङ्कन तथा स्वराङ्कन, कालिका त्रिपाठी पन्तले चेतनाथ धमलाले पठाउनुभएको कविता वाचन र अच्युत अधिकारीले अतिथिहरूमा उपहार समर्पण गर्नुभएको थियो ।

२५२. च्यातिएका पाना (लघुकाव्य)

साहित्यकार स्वयम्भू शाक्यको प्रस्तुत पुस्तक ‘च्यातिएका पाना’ लघुकाव्य हो । यसमा उहाँले आफ्नी आमाको निधन भएपछिको मनोव्यथालाई शब्दमा उतार्नुभएको छ । यसमा तीन शीर्षक छन् । पहिलो शीर्षक ‘अभागीको जिन्दगी यो’ मा ७ पृष्ठ र ३४ श्लोक, दोस्रो शीर्षक ‘मनको बोझ मनमै रह्यो’ मा २३ पृष्ठ र ११४ श्लोक तथा तेस्रो शीर्षक ‘जिन्दगी मेरो सधैँ छ हार’ मा ४० पृष्ठ र १९७ श्लोक छन् । यसरी जम्मा ७० पृष्ठमा ३४५ श्लोक बनाएर यो लघुकाव्यलाई पूर्णता दिइएको छ । चार हरफको एक श्लोक छ । अन्त्यानुप्रास कतै मिलाइएको छ, कतै मिलाइएको छैन ।

२५१. हरि मञ्जुश्रीका उद्बोधन गान (समीक्षासङ्ग्रह)

प्रा. डा. कुलप्रसाद कोइरालाको प्रस्तुत पुस्तक ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष, भाषा–साहित्यसेवी तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले गीत–सङ्गीत क्षेत्रमा गर्नुभएको योगदानका विषयमा केन्द्रित छ । यस पुस्तकका दसवटा शीर्षकमा कृतिकारले हरि मञ्जुश्रीका छुट्टाछुट्टै दसवटा गीतमाथि विवचना गर्नुभएको छ । वैदिक ग्रन्थहरूको आधारभूमिमा रचिएका गीतहरूमाथिको शास्त्रसम्मत यो विवेचना विशिष्ट कोटिको छ । पुस्तकको विषय व्यक्तिकेन्द्रित जस्तो देखिए पनि व्यक्तिलाई आधार बनाएर यस पुस्तकमा वैदिक वाङ्मयले दिएका सन्देशहरूको प्रसारण गरिएको छ । त्यसैले साहित्यिक, वैचारिक र आध्यात्मिक दृष्टिले यस पुस्तकको स्थान उच्चस्तरीय त छँदैछ, विश्वविद्यालयमा गीत–सङ्गीत विषयको अध्ययन–अध्यापन गर्ने–गराउने सन्दर्भका लागि पनि यो पुस्तक उपयोगी छ ।

यही २४ गते १० जनालाई शब्दयात्रा छात्रवृत्ति समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई समर्पण गर्ने भएको छ । उक्त छात्रवृत्ति यही जेठ २४ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा समर्पण गरिनेछ । उक्त छात्रवृत्ति श्रीखण्डपुर माध्यमिक विद्यालय श्रीखण्डपुरमा अध्ययनरत कक्षा १ की छात्रा सन्ध्या वि. क., कक्षा २ की छात्रा आयुषा गोले तामाङ र कक्षा ३ की छात्रा सनिशा गोलेलाई, आजाद माध्यमिक विद्यालय बालुवामा अध्ययनरत कक्षा ४ की छात्रा रश्मि नेपाल र कक्षा ५ की छात्रा मेलिना बिसुङ्खेलाई समर्पण गरिनेछ । यसै गरी पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलमा अध्ययनरत कक्षा ६ की छात्रा रचना प्रजा र कक्षा ७ की छात्रा रीता भण्डारीलाई, पूर्णसञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालय धुलिखेलमा अध्ययनरत कक्षा ८ की छात्रा अरुणिमा भुजेललाई, मानव कल्याण समाजमा रही अध्ययनरत कक्षा ९ का छात्र सम्राट मानवलाई र सर्वमङ्गला माध्यमिक विद्यालय पाँचखालमा अध्ययनरत कक्षा १० की छात्रा निरुता वि. क. लाई पनि उक्त छात्रवृत्ति समर्पण गरिनेछ । काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये आर्थिक रूपमा विपन्न तर पढाइमा अब्बल रहेका कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयको सिफारिसका आधारमा हरेक वर्ष यो छात्रवृत्ति समर्पण गर्ने गरिन्छ । यस छात्रवृत्तिको आर्थिक व्यवस्थापन काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शिक्षासेवी शेखरप्रसाद ढुङ्गानाले आफ्ना मातापिता दिव्यवती ढुङ्गाना र कान्तुप्रसाद ढुङ्गानाको स्मृति तथा सम्मानमा गर्नुभएको हो । हाम्रो आग्रह स्वीकार गरी छात्रवृत्तिका लागि रकमको व्यवस्था गरिदिनुभएकोमा शेखरप्रसाद ढुङ्गानाप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै छात्रछात्राको नाउँ उपलब्ध गराइदिएकोमा सम्बन्धित विद्यालयहरूप्रति आभार व्यक्त गर्दछौँ र छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्राहरूमा बधाई ज्ञापन गर्दछौँ ।

भक्तिसुधा सार्वजनिक भयो

0
सुनसरीको चतराधाममा अवस्थित जोशमुनि पीठका पीठाधीश सन्त भक्तिदिलद्वारा लिखित तथा सम्पादित ‘भक्तिसुधा’ पुस्तकलाई सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सन्त ज्ञानदिलदासको जन्मजयन्तीको अवसर पारी वैशाख २९ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वामी कल्याणमित्र, कृतिकार सन्त भक्तिदिल र अतिथि साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले ‘भक्तिसुधा’ लाई सार्वजनिक गर्नुभएको हो । पुस्तकमाथि समीक्षक डा. इन्दुल केसीले टिप्पणी गर्नुभएको थियो । ‘भक्तिसुधा’ को प्रकाशनपछि शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या २ सय ५० पुगेको छ ।

ज्ञानदिलदासका बारेमा फरक जानकारी प्रस्तुत

0
शब्दयात्रा प्रकाशनले जोशमुनि सन्त परम्पराका विद्रोही कवि सन्त ज्ञानदिलदासको जन्मजयन्ती मनाएको छ । अस्ति वैशाख २९ गते शब्दयात्रा प्रकाशनको आयोजनामा आयोजित कार्यक्रममा जन्मजयन्ती मनाइएको हो ।
सन्त ज्ञानदिलदासको जन्ममिति, जन्मस्थान, मृत्युमिति र मृत्युस्थानका विषयमा विभिन्न पुस्तकमा, उनको चित्र अङ्कित हुलाक टिकटमा र नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित परिचयकोशमा फरक–फरक मिति र स्थान उल्लेख गरिएको भए पनि उनको जन्म इलामको आमचोकमा १८९२ साल वैशाख २९ गते भएको रहेछ र निधन सिक्किमको गेलिङमा १९५४ सालको माघे सङ्क्रान्तिमा भएको रहेछ भन्ने जानकारी शब्दयात्रा प्रकाशनमा प्राप्त भएको हुनाले त्यसैका आधारमा जन्मजयन्ती मनाइएको जानकारी त्यस कार्यक्रममा हरि मञ्जुश्रीले गराउनुभयो । उहाँले सन्त ज्ञानदिलदासको जीवनयात्रा नै प्रस्तुत गर्दै सरोज ओलीले उनका बारेमा लेखेको लेखले धेरै जानकारी दिने कुरा पनि बताउनुभयो ।
स्मरणीय छ — उनको जन्म १८७९ सालमा ओखलढुङ्गाको रुम्जाटारमा र निधन १९४० सालमा इलामको आमचोकमा भएको कुरा नेपाल प्रज्ञाप्रतिष्ठानले उल्लेख गरेको छ भने हुलाक टिकटमा १८७८ सालमा जन्म र १९४० सालमा निधन भएको लेखिएको छ, अन्य पुस्तकहरूमा पनि यसै गरी फरक–फरक मिति लेखिएको छ ।
त्यस कार्यक्रममा त्रिचन्द्र क्याम्पस नेपाली विभाग प्रमुख उषा अधिकारीले सन्त ज्ञानदिलदासका विषयमा आधिकारिक जानकारी प्राप्त नभइरहेको अवस्थामा हरि मञ्जुश्रीले दिनुभएको विस्तृत जानकारीबाट नेपाली साहित्य धेरै लाभान्वित हुने र अनुसन्धाता तथा विद्यार्थीहरूलाई आधिकारिक जानकारी दिन अब सजिलो भएको कुरा बताउनुभयो ।
कार्यक्रममा जोशमुनि परम्पराका सन्त तथा चतराधामको जोशमुनि पीठका पीठाधीश सन्त भक्तिदिलले जोसमनी, जोसमुनि, यशोमणि, जोसमणि जस्ता शब्दहरू लेखिएको देखिए पनि शुद्ध नाउँ ‘जोशमुनि’ रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वामी कल्याणमित्र, कृष्णविनोद लम्साल, ब्रह्मप्रिय प्रेमस्वरूप, हरि कोर्काली, मच्छेश्वर सापकोटा, पदम दाहाल, डा. इन्दुल केसी, चेवनचन्द्र बस्नेत, मुरहरि रायमाझी, नवराज दाहाल ‘उत्साही’ लगायतका विभिन्न बौद्धिक व्यक्तिहरूको उपस्थिति थियो ।

गायक–गायिकालाई आभारपत्र समर्पण

0

शब्दयात्रा प्रकाशनद्वारा उत्पादित विभिन्न गानहरूमा स्वर दिने ६ जना गायक–गायिकालाई बुद्धजयन्तीको अवसरमा आभारपत्र समर्पण गरिएको छ । ती गानहरू अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न सकिन्छ । हरि मञ्जुश्रीको सङ्गीत र मच्छेश्वर सापकोटाको सुपरिवेक्षण रहेका गानहरूमा शब्दयात्रा प्रकाशनका सदस्यहरूका साथै सदस्य नभएर पनि शब्दयात्रा प्रकाशनलाई सघाउन ६ जना गायक–गायिकाले स्वराङ्कन गराउनुभएको हुनाले त्यसरी सहयोग गर्ने गायक–गायिकालाई आभारपत्र समर्पण गरिएको हो । शब्दयात्रा प्रकाशनको गानमा आफ्नो स्वर दिएर सघाउने गायक–गायिकाहरू अनिशा तामाङ, अनीश कुइकेल, अम्बिका थापा, बबिता प्याकुरेल, रिभव सेवाचार्य र सरस्वती सापकोटा हुनुहुन्छ ।
गायक–गायिकाप्रति औपचारिक आभार व्यक्त गर्ने क्रममा गजलकार नवराज दाहाल ‘उत्साही’ ले रुद्राक्षमाला, कवि हरि कोर्कालीले उपहार र स्वामी कल्याणमित्रले प्रमाणपत्र समर्पण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित हुन नसक्नुभएका गायक–गायिकामध्ये अम्बिका थापाको आभारपत्र दामोदर घिमिरेले, बबिता प्याकुरेलको आभारपत्र अनीश कुइकेलले र रिभव सेवाचार्यको आभारपत्र अनिशा तामाङले ग्रहण गर्नुभएको थियो । त्यस क्रममा गीतिभास्कर तथा सङ्गीत क्षेत्रका प्रथम सुपरिवेक्षक मच्छेश्वर सापकोटाले आभारपत्र प्राप्त गर्ने गायक–गायिकाको गायनकलाका विषयमा जानकारी गराउनुभएको थियो ।