शब्दयात्रा प्रकाशनबाट दोस्रो चरणमा सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । यसका लागि म शब्दयात्रा प्रकाशन परिवारप्रति आभार व्यक्त गर्दछु ।
मलाई चिनारी गराइदिन जिम्मा दिइएको पहिलो पुस्तक ‘पञ्चमाता’ हो । केदारनाथ तिमल्सिनाले लेख्नुभएको यो लेखसङ्ग्रह मातासँग सम्बन्धित रहेको विचारप्रधान पुस्तक हो । सुरुमा गद्य विधामा र परिशिष्टमा पद्य विधामा गरी दुवै विधामा लेखिएको यो पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको पुस्तालाई समेत चिन्तनशील बनाउने सामथ्र्य राखेको छ । यस कृतिका कृतिकारको बौद्धिक परिचय कस्तो छ र लेखनमा कति शक्ति छ भन्ने कुरा पनि देखाएको छ । यस पुस्तकको मूल्य १०० रुपियाँ राखिएको छ ।
चिनारी गराइदिन मलाई जिम्मा दिइएको दोस्रो पुस्तक ‘धनेश्वर भजनमाला’ हो । सहदीप पलान्चोकेले यी भजनहरूको सङ्कलन गर्नुभएको हो । नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू यस पुस्तकमा सङ्कलन गरिएका छन् । भजनहरू पुराना र नयाँ दुवै प्रकारका छन् र विभिन्न मन्दिरहरूमा गाउने गरिएका छन् । यस सङ्ग्रहको मूल्य २०० रुपियाँ राखिएको छ ।
तेस्रो पुस्तक टेकलाल भारतीको ‘स्वार्थी मान्छे’ गजलसङ्ग्रह हो । आफ्नो मनका वेदनाहरू, आस्था र विचारका कुराहरू, सामाजिक र राजनीतिक प्रसङ्गहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनामा परेका छन् । २०७१ सालदेखि हालसम्म प्रत्येक वर्ष उहाँको एउटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने गरेको छ । त्यसै क्रममा २०७५ सालमा यो पुस्तक प्रकाशनमा आएको हो । यस पुस्तकको मूल्य १०० रुपियाँ रहेको छ ।
यी तीनैवटा पुस्तकहरूले आ–आफ्नै प्रकारको स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु । (पुस्तकहरूमाथि गरिएको टिप्पणीको मुख्यांश)