नेपालका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्ने गरिमामय समारोहमा शब्दयात्रा प्रकाशनले हामी ६ जना शब्दसाधकहरू दामोदर घिमिरे, प्रकाश उज्ज्वल बनेपा, जगन्नाथ गिरी, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके र टेकलाल भारतीलाई पनि मञ्चमा उपस्थित गराएको छ । हामीमध्ये तीनजनाले सम्पादन गरेका र तीनजनाले लेखेका गरी जम्मा ६ वटा पुस्तकहरू शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिएको छ र आजको कार्यक्रममा सार्वजनिक पनि गराइदिएको छ ।
शब्दयात्रा प्रकाशन अहिले ७ वर्षको भएको छ । यस अवधिमा यस संस्थाले १ सय ११ जना राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ भने १ सय ९ वटा पुस्तक प्रकाशन गरिसकेको छ । यस संस्थाले बनेपामा ३ आना जग्गा दानमा प्राप्त गरेको छ र नेपाली वाङ्मयका ५ जना शीर्ष व्यक्तित्वको सालिक निर्माण गरिसकेको छ । १० लाख रुपियाँभन्दा बढीको अक्षयकोष स्थापना गर्न सकेको छ । सरकारी निकायबाट अलिकति पनि आर्थिक सहयोग नलिईकन जनस्तरको सहयोगबाट मात्रै यति काम गर्न सक्नु ठूलो कुरा हो । एकलौटी ढङ्गले साहित्यिक संस्था नचलाई समुदायको विश्वास जितेर काम गर्ने हो भने साहित्यिक संस्थाले धेरै काम गर्न सक्छ भन्ने उदाहरण यस संस्थाले देखाउन सकेको छ । त्यसैले यस संस्थाप्रति साहित्यकार, पत्रकार, शिक्षासेवी, समाजसेवी सबैले आस्था र विश्वास राख्ने गरेका छन् । समारोहमा हुने गरेको उपस्थितिले पनि यस कुरालाई पुष्टि गरेको छ । (कृतिकारका तर्फबाट अभिव्यक्त मन्तव्यको मुख्यांश)