Home Blog Page 142

हरि मञ्जुश्रीलाई हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानद्वारा २०७६ सालको शैक्षिक पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

चूडाप्रसाद फेरि पुस्तकमा

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रकाशन ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका पूर्व कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले ‘नेपालभूमि’ को ‘चिन्तन’ स्तम्भमा लेखेका लेखहरूको सङ्ग्रहका रूपमा ‘विषय र विवेचना’ नामक पुस्तक प्रकाशन हुने भएको छ । जम्मा १ सय ४४ पृष्ठको उक्त पुस्तकमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य डा. इन्दुल केसीले पुस्तकमाथि मन्तव्य तथा गीता मञ्जुश्रीले कृतिकारको परिचय लेख्नुभएको छ ।
काभ्रेको प्रभा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तेज पन्तको प्रकाशकत्वमा उक्त पुस्तक प्रकाशन हुन लागेको हो । ‘विषय र विवेचना’ चूडाप्रसाद चौलागाईंको दोस्रो पुस्तक हो । यसअघि उहाँको ‘जीवनका अन्तरङ्ग’ पुस्तक प्रकाशित भएको थियो ।J

शब्दयात्रा प्रकाशनको साधारणसभा सम्पन्न

0

शब्दयात्रा प्रकाशनको छैटौँ वार्षिक साधारण सभा गत २०७६ साल पुस २४ गते बिहीबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । सभाको सभापतित्व अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । सभामा सञ्चालक समितिका तर्फबाट हरि मञ्जुश्रीले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ असार मसान्तसम्मको वासलात र सोही मितिमा सम्पन्न आ. व. २०७५–७६ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको थियो । सभामा चालु आ. व. २०७६–७७ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा आगामी आ. व. २०७७–७८ का लागि अनुमानित कार्यक्रम र आयव्ययको विवरण पनि पारित गरियो भने चालु आ. व. २०७६–७७ का लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोकियो ।
साधारण सभामा सदस्यहरूका तर्फबाट सकुल थापा, सुमन खड्का, श्यामकृष्ण लम्साल, केदारनाथ तिमल्सिना, डा. इन्दुल केसी, पदम दाहाल, पं. रमेश अधिकारी आदिले आआफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो ।

शब्दयात्राका विशेष कार्यक्रम अबदेखि वर्षमा चारपटक

0

शब्दयात्रा प्रकाशनको सञ्चालक समितिले आगामी २०७७ सालदेखि वर्षमा चारपटक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसमध्ये सम्मान समारोहको आयोजना ६–६ महिनाको अन्तर रहने गरी वर्षमा दुईपटक गर्ने, संस्थाको प्रथम दर्ता जेठ महिनामा भएको हुनाले एउटा समारोह जेठ महिनामा र सालिक राखिएकामध्ये जेठा व्यक्ति षडानन्द अधिकारीको जन्ममिति मङ्सिरमा भएकाले अर्को समारोह मङ्सिरमा गर्ने निर्णय भएको छ ।
जेठ महिनामा आयोजना गरिने सम्मान समारोहमा शोध, सिर्जना, राष्ट्रझङ्कार, शिक्षक, प्रशासनिक महिला, सामाजिक जागरण, स्तम्भकार, विज्ञान–प्रविधि र शिक्षा सम्मान समर्पण गरिने तथा मङ्सिर महिनामा आयोजना गरिने सम्मान समारोहमा आमसञ्चार, फोटो पत्रकारिता, आध्यात्मिक पत्रकारिता, साहित्यिक पत्रिका, कविताकाव्य, बालसाहित्य, समालोचना, अनुसन्धान र महिला प्रतिभा सम्मान समर्पण गरिने भएको छ ।
संस्थाको औपचारिक सुरुवात भदौ महिनामा र कम्पनीमा दर्ता भएको फागुन महिनामा गरिएकाले अन्य दुई कार्यक्रम भदौ र फागुन महिनामा गर्ने निर्णय गरिएको छ । भदौ महिनामा ‘नेपालभूमि’ का स्तम्भकारहरूलाई उपहार र कर्मशीलता पुरस्कार प्रदान गरिने तथा फागुन महिनामा पत्रकारिता छात्रवृत्ति र काभ्रेली पत्रकारद्वयलाई कदरपत्र प्रदान गरिने भएको छ ।

‘शब्दसंवाद’ मा गीताप्रवचन

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ६ औँ शृङ्खलामा नेपाल–भारत पुस्तकालयका प्रमुख तथा प्रसिद्ध प्रवाचक महेशचन्द्र शर्माले श्रीमद्भगवद्गीताका सम्बन्धमा सारगर्भित प्रवचन गर्नुभयो । उहाँले प्रवचनपछि श्रोतावर्गबाट राखिएका जिज्ञासाहरूको पनि समाधान गरिदिनुभयो ।
पाशुपत योगाभ्यास स्थलका प्रमुख महात्मा सुशीलको मुख्य आतिथ्य र शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा गत २०७६ पुस १९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा स्वागत भाषण पदम दाहालले र कार्यक्रम सञ्चालन ज्यो. पं. रमेश अधिकारीले गर्नुभएको थियो भने प्रवाचकको चिनारी डा. इन्दुल केसीले गराउनुभएको थियो ।
उक्त कार्यक्रममा सङ्गीता केसी, रामप्रसाद अधिकारी, सहदीप पलान्चोके, छविलाल कु्इँकेल, माधवप्रसाद आचार्य, चूडाप्रसाद चौलागाईं, दामोदर घिमिरे, तीर्थराज अधिकारी, नवीना श्रेष्ठ, चन्द्रबहादुर खड्का, नानुदेवी कुइँकेल, प्रजापति तिमिल्सिना, पुण्यवती घले, श्री शर्मा मूर्ख, नवराज पराजुली आदिको उपस्थिति रहेको थियो ।

‘शब्दसंवाद’ जस्तै ‘सुन्ने र सुनाउने’

0

शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अनुकरण गर्दै अमेरिकामा रहेका नेपालीहरूले गठन गरेको संस्था नेपाल–अमेरिका साहित्य–सङ्गीत प्रतिष्ठानले ‘सुन्ने र सुनाउने’ नामक कार्यक्रम सुरु गरेको छ ।
यस कार्यक्रममा केशव आचार्य, वसन्त लम्साल, सीता सापकोटा, सरोज भुसाल, भूपेन्द्र महत, लाल चौलागाई, सेनु तिवारी, धन पौड्याल, आचार्य प्रभा, ज्ञानेन्द्र काफ्ले, रवि बाँस्तोला, रीता ढकाल आदिको सहभागिता रहने गरेको छ ।
शब्दयात्रा प्रकाशनले सुरु गरेका केही कार्यक्रमहरूको अन्ुकरण अन्य संस्थाहरूले पनि गरेका छन् ।

शब्दयात्रालाई आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनलाई धुलिखेल नगरपालिका वडा नं. ४ निवासी शकुन्तला थापा र अम्बिका थापाले ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँहरूले उक्त रकम स्व. हरिशरण थापाको स्मृतिमा शब्दयात्रा प्रकाशनको भौतिक निर्माणका लागि प्रदान गर्नुभएको हो ।

शब्दयात्राबाट मूल्याङ्कन समिति गठन

0

शब्दयात्रा प्रकाशनले कम्पनीमा दर्ता भएको मिति २०७० फागुनदेखि २०७५ फागुनसम्म गरी ५ वर्षको संस्थागत क्रियाकलापको मूल्याङ्कन गर्न पाँच सदस्यीय ‘संस्थागत क्रियाकलाप मूल्याङ्कन समिति’ गठन गरेको छ । त्यसमा डा. इन्दुल केसी संयोजक तथा चन्द्रबहादुर खड्का र रमेश अधिकारी सदस्य रहनुभएको छ ।
यसअघिका लेखापरीक्षण प्रतिवेदनको समेत अध्ययन गरेर संस्थाको लेखाप्रणालीमा भएका कमी–कमजोरीको पहिचान गरी तिनलाई सुधार गर्न के गर्नुपर्छ, त्यससम्बन्धी सुझाव प्रस्तुत गर्ने, हालसम्म सञ्चालक समितिले गरेको निर्णयअनुसार कुन–कुन काम भएका छन्, कुन–कुन काम भएका छैनन् र कुन–कुन काम अपूरा छन्, तिनको विवरण तयार पार्ने, हालसम्ममा शब्दयात्रा प्रकाशनलाई के–कस्तो सहयोग गर्ने वचनबद्धता कस–कसले कहिले–कहिले प्रकट गर्नुभएको छ, पत्रिका र वेबसाइटका आधारमा त्यस कुराको अभिलेख तयार पारी तीमध्ये कस–कसबाट कुन–कुन सहयोग आउन बाँकी छ, उहाँहरूबाट सहयोग प्राप्त हुन नसक्नुको कारण के हो, अब कसरी सहयोग लिने, त्यसको विवरण प्रस्तुत गर्ने, सञ्चालक समितिबाट निर्णय भई गठन भएका समिति र समाजहरूमध्ये कुन–कुन समिति र समाज सक्रिय छन्, सक्रिय हुन सकेका छैनन् भने त्यसको कारण के हो, त्यो पत्ता लगाएर जानकारी गराउने र संस्थालाई सुचारु ढङ्गबाट सञ्चालन गर्ने आयस्रोतका लागि कस्ता कार्यक्रमहरू गर्ने, त्यसको पहिचान गरेर प्रस्तुत गर्ने कार्यादेश उक्त समितिलाई दिइएको छ ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा सम्मान गरिने राष्ट्रिय व्यक्तित्वहरूको चयन गर्नका लागि सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ । माधवप्रसाद आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा चूडाप्रसाद चौलागाईं र माधव लामिछाने सदस्य रहनुभएको छ ।
शब्दयात्रा प्रकाशनमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले उचित ठहर गरेका राष्ट्रिय व्यक्तित्वहरूलाई शब्दयात्रा प्रकाशनले अभिवन्दनापत्र, नगद, किरीट र उपहारसहित सम्मान गर्नेछ ।

‘पाण्डवायण’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा १ सय ३१ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित तथा मुक्ति शर्माद्वारा लिखित ‘पाण्डवायण’ महाकाव्यलाई गत २०७६ पुस १२ गते शनिबार सार्वजनिक गरेको छ । शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ५ औँ शृङ्खलामा तीनजना प्रमुख अतिथि महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, साहित्यिक पत्रकार चेतनाथ धमला र गीतिभास्कर मच्छेश्वर सापकोटा तथा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र जग्गादाता कृष्णमणि कुइँकेलले उक्त महाकाव्यलाई संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन दामोदर घिमिरेले गर्नुभएको थियो भने डा. इन्दुल केसी, पं. रमेश अधिकारी, पदम दाहाल, केदारनाथ तिमल्सिना र पुण्यवती घलेले आआफ्ना कविता वाचन गर्नुभएको थियो । सहभागी सबैलाई हरि मञ्जुश्रीले स्वागत र कृष्णमणि कुइँकेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका तर्फबाट शिव बन्जाराले प्रमुख अतिथिहरूलाई पुस्तक उपहार र सङ्गीता केसीले रुद्राक्षको माला प्रदान गर्नुभएको उक्त कार्यक्रममा रामप्रसाद अधिकारी, माधवप्रसाद आचार्य, चूडाप्रसाद चौलागाईं, फणीन्द्रराज अधिकारी, चन्द्रबहादुर खड्का, श्री शर्मा मूर्ख, सुरेश केसी, छविलाल कुइँकेल, पूर्णबहादुर कर्माचार्य, सहदीप पलान्चोके, सोमकाजी शाक्य आदिको सहभागिता रहेको थियो ।
मुक्ति शर्माको पहिलो कृति ‘गीता–माली’ समेत शब्दयात्रा प्रकाशनबाटै प्रकाशित भएको थियो । त्यस पुस्तकको दोस्रो संस्करण पनि भइसकेको छ ।
कार्यक्रममा चन्द्रप्रसाद न्यौपाने र चेतनाथ धमलाले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि एक–एक सय पुस्तक उपहार दिने घोषणा गर्नुभएको थियो ।