- Episode 57 – Shabda Sanchar 28:13
शब्दसञ्चारः असार २२, २०७८
गीता केशरी, शरच्चन्द्र वस्ती र तिलकप्रसाद लुइँटेललाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानमध्ये प्रशासनिक महिला प्रतिभा सम्मान, स्तम्भकार सम्मान र राष्ट्रझङ्कार सम्मानबाट सम्मान गरिने व्यक्तित्वको नाउँ शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ । त्यसअनुसार प्रशासनिक क्षेत्रमा लागेर पनि कुनै अर्को विधामा महत्त्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार गीता केशरी (काठमाडौँ) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको हो । यसै गरी अघिल्लो वर्ष सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित लेखरचनामध्ये पाठकमतबाट उत्कृष्ट ठहरिएका स्तम्भकार वा लेखकलाई समर्पण गरिने स्तम्भकार सम्मान २०७८ सालका लागि नेपाली भाषा–व्याकरणको संरक्षण–संवर्धनमा उल्लेख्य योगदान गर्नुभएकोमा शरच्चन्द्र वस्ती (सुनसरी) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो । कुनै पनि विधाबाट राष्ट्रिय जागरणका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई समर्पण गरिने राष्ट्रझङ्कार सम्मान २०७८ सालका लागि चारै वेदलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गराउनुभएका तिलकप्रसाद लुइँटेल (तेह«थुम) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन साहित्यकार कृष्णहरि मैनालीले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ । यसअघि तीनजनाको नाम सार्वजनिक भइसकेको थियो भने बाँकी तीनजनाको नाम पनि छिटै सार्वजनिक गरिनेछ । चयन समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ ।
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनका जग्गादाता तथा सञ्चालक सदस्य श्री कृष्णमणि कुइँकेलका पूजनीय पिता समाजसेवी छविलाल कुइँकेल ८५ वर्षको उमेरमा भौतिक शरीर इहलोकमा विसर्जन गरी आज परलोकतर्फ प्रस्थान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन उहाँको आत्मा भगवान् नीलकण्ठेश्वरमा समाहित होस् भन्ने कामना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसारथि’ का लागि आभार
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले आफूलाई ‘शब्दसारथि’ उपाधिसहित मोती महोत्सवमा सम्मान गर्ने ६० वटा संस्थाहरूप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ — उपाधि सरकारबाट मात्र दिइँदो रहेनछ, जनस्तरबाट पनि दिइँदो रहेछ । मलाई पनि शब्दकलाका नायक भनेर जनस्तरबाट ‘शब्दसारथि’ उपाधि र प्रमाणपत्रसहित त्यसको प्रमाणचिह्न प्रदान गरिएको छ । मेरा मित्रहरूले जनस्तरीय सम्मान भनेको जनताको हृदय जितेर पाएको माथिल्लो कोटिको र मूल्यवान् सम्मान हो भन्नुभएको छ । साठीवटा संस्थाले एकै दिन एउटै समारोहमा उपाधि र त्यसको प्रमाणचिह्नका साथै हरेक संस्थाबाट छुट्टाछुट्टै सम्मानपत्रसमेत प्रदान गरेको घटना थोरै मात्र होलान् । यसरी सम्मानित हुने पात्र पनि बिरलै होलान् । भगवानले मलाई त्यस्तै खालको बिरलै भेटिने पात्र बन्ने सौभाग्य दिनुभएछ । म सबै संस्थाहरूप्रति आभारी र भगवानप्रति कृतज्ञ छु।
‘नेपाल, भारतवर्ष र हिन्दूस्थान’ विषयमा कार्यक्रम
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रद्वारा आयोजित जुम कार्यक्रममा ‘नेपाल, भारतवर्ष र हिन्दूस्थान’ विषयमा प्रमुख वक्ताका रूपमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले मन्तव्य व्यक्त गर्नुभयो । उहाँको मन्तव्यप्रति बुद्धिनारायण श्रेष्ठ, चन्द्रमान प्रधान, मच्छेश्वर सापकोटा, पदम दाहाल, सुनील सापकोटा, निर्मला श्रेष्ठ, नवीना श्रेष्ठ, साधुराम गिरी, प्रजापति तिमिल्सिना, शिव बन्जारा, पशुपतिमान पःमा आदिले आदिले प्रतिक्रिया र सुझाव दिनुभयो । कार्यक्रमका सञ्चालक जीवनाथ अधिकारी र सभाध्यक्ष डा. इन्दुल केसी हुनुहुन्थ्यो । पूर्णबहादुर कार्की, पुण्यवती घले, अमृत अधिकारी, कृष्ण किसी, लालबहादुर भुजेल, शारदाप्रसाद शर्मा आदि पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो
भरत जङ्गम, प्रा. डा. नन्दीश अधिकारी र निर्मला श्रेष्ठलाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मान्य व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी चयन गरेका सम्मान्य व्यक्तित्वहरूको नामावली शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ । उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वहरूको चयन गरेको हो । चयन समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ । प्राप्त निर्णयअनुसार शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट पुस्तकलाई समर्पण गरिने २०७८ सालको सिर्जना सम्मान शब्दयात्रा प्रकाशनले २०७७ सालमा प्रकाशन गरेका १५ वटा पुस्तकहरूमध्ये पाठकमतका आधारमा सर्वोत्कृष्ट ठहरिएको ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अन्वेषणात्मक पुस्तकका लागि अन्वेषक भरत जङ्गम (भक्तपुर) लाई समर्पण गरिने भएको छ । भीमभक्तमानसिंह बस्नेतको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन कल्याण लम्सालले गर्नुभएको हो । यसै गरी आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै आफू आबद्ध शैक्षिक संस्थाको हितमा समर्पित शिक्षक–प्राध्यापकलाई समर्पण गरिने शिक्षक सम्मान २०७८ सालका लागि पद्मकन्या बहुमुखी क्याम्पसको नेपाली विभागका प्रमुख रहिसक्नुभएका प्रा. डा. नन्दीश अधिकारी (भोजपुर) लाई समर्पण गरिने भएको छ । अङ्गुरबाबा जोशीको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो । कवि नन्दिकेश्वर अधिकारी र उनका साहित्यिक वंशजका विषयमा शोध–अनुसन्धान र प्रसारप्रसार गर्ने व्यक्ति अथवा संस्थालाई समर्पण गरिने शोध सम्मान हरि मञ्जुश्री मोती महोत्सवमा सक्रिय रही उहाँका विषयमा साढे छ सय पृष्ठको ‘शब्दकलाका नायक’ पुस्तकको संयुक्त सम्पादन गर्नुभएकोमा निर्मला श्रेष्ठ (काभ्रेपलान्चोक) लाई समर्पण गरिने भएको छ । नन्दिकेश्वर अधिकारीको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन गीता अधिकारीले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँहरूप्रति आभार व्यक्त गर्दछ । बाँकी छजनाको नाम पनि छिटै सार्वजनिक गरिनेछ ।
हार्दिक समवेदना
२०७० सालमा शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित व्यक्तित्व गणेशबहादुर खत्रीले यो धराधाम छाड्नुभएको खबर पाएर हामी स्तब्ध बनेका छौँ । उहाँको आत्मा आफूमा लीन गराइदिन नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित समालोचना सम्मानबाट २०७६ सालमा सम्मानित समालोचक प्रा. राजेन्द्र सुवेदीको देहावसानले हामीलाई अत्यन्त व्यथित बनाएको छ । उहाँको आत्मशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसञ्चार’ स्थगित
कोरोना महामारीका कारणले कार्यक्रम उत्पादन तथा प्रसारण गर्नमा कठिनाइ उत्पन्न भएको हुँदा शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । यसबाट पर्न गएको असुविधाका लागि शब्दयात्रा प्रकाशन क्षमाप्रार्थी छ ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक समवेदना
‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट २०७७ सालमा सम्मानित ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको यही २०७८ साल वैशाख २९ गते निधन भएको छ । उहाँको निधनप्रति व्यथित बन्दै शब्दयात्रा प्रकाशनले उहाँको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामनाका साथ शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
उहाँको निधनपछि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सामाजिक सन्जालमा यस्तो लेख्नुभएको छ —
बन्धु जीवनचन्द्र कोइरालासँग २०३५ साल वैशाखदेखि सुरु भएको मेरो सहयात्रा र सहकर्म २०७८ साल वैशाखसम्म आएर ४३ वर्ष पूरा भएपछि हिजो वैशाख २९ गते पूर्णविराम लाग्यो ।
हिजो दिउँसो १ बजेदेखि साँझ ९ बजेसम्म दर्जनौँ मित्र, अग्रज र अनुजहरूले मलाई फोन गरेर मसँग जीवन बन्धुका बारेमा अनेकौँ प्रश्नहरू सोध्नुभयो र मैले उत्तर दिएँ । सबैले हाम्रो हल छुटेको प्रतिक्रिया दिनुभयो । फेसबुकमा जीवन बन्धुका छायाचित्रहरू देखेँ । मलाई चाहिँ श्रद्धाञ्जली र समवेदना शब्द लेख्ने आँटै आएन । रातभरि ओल्टेकोल्टे गरिरहेँ, एकै झप्को पनि निदाउन सकिनँ । मन अलि शान्त होला कि भनेर अहिले यी शब्दहरू लेख्न थालेको हुँ ।
जीवन बन्धुको प्रथम प्रकाशकीय मेरो सम्पादनमा निस्केको ‘सम्झौटो’ मा थियो । जीवन बन्धुको अन्तिम लेख प्रकाशन मेरो विषयमा प्रकाशित ‘शब्दकलाका नायक’ पुस्तकमा भएको थियो । जीवन बन्धुले पाउनुभएको अन्तिम सम्मान म अध्यक्ष बनेको शब्दयात्रा प्रकाशनबाट समर्पित ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ थियो । मैले जीवन बन्धुको परिचय पहिलोपटक उहाँको पुस्तिका ‘सहिद सरोज कोइराला’ मा लेखेको थिएँ । हामीले संयुक्त रूपमा ग्रन्थसम्पादन गर्ने कार्य ‘पूर्णप्रसाद ब्राह्मण स्मृतिग्रन्थ’ बाट सुरु गरेका थियौँ । हामीले पत्रिकाको संयुक्त सम्पादन गर्न ‘पानस’ बाट सुरु गरेका थियौँ । हामीले संस्थागत सहकार्य ‘छन्द समिति’ बाट गरेका थियौँ । मेरो नाउँ कतै आउँदा जीवन बन्धुको नाउँ सँगसँगै लिइन्थ्यो, जीवन बन्धुको नाउँ कतै आउँदा मेरो नाउँ सँगसँगै लिइन्थ्यो ।अझै कति–कति काम गर्ने हाम्रा सपनाहरू थिए, योजनाहरू थिए, आकाङ्क्षाहरू थिए । अस्पतालको शैयामा सुतेर मसँग बोलेको अन्तिम शब्द
‘बन्धु…’ पछि ती सपना, योजना र आकाङ्क्षाहरू जीवन बन्धुको आत्माका साथमा समाउनै नसकिने गरी उडे ।
म धेरैजनाको मलामी बनेको छु र लास काँधमा बोकेर हिँडेको छु, मैले लास पोलेको छु र कोरा पनि बसेको छु, तर कुनै पनि मृत्युले मलाई
भित्रैदेखि हल्लाएर कहिल्यै यसरी गलित र थकित बनाएको थिएन ।

