शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा सङ्ग्रहालय बनाउने लक्ष्य राखेको सन्दर्भमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको नाउँमा ‘शब्दसारथि सङ्ग्रहालय’ को निर्माणकार्य सुरु गरिएको छ । सङ्ग्रहालयका लागि आवश्यक स्थान हरि मञ्जुश्रीको परिवारले बनेपामा रहेको आफ्नै घरमा निःशुल्क उपलब्ध गराएको छ ।
‘साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समिति’ ले उहाँलाई ‘शब्दसारथि’ उपाधिबाट विभूषित गरेको समारोहमा ६० वटाभन्दा बढी संस्थाहरूले एकसाथ उहाँको सम्मान गरेपछि ‘शब्दसारथि सङ्ग्रहालय’ को निर्माण गर्न विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आग्रह गरिएको थियो । उहाँहरूको आग्रह स्वीकार गर्दै ‘शब्दसारथि सङ्ग्रहालय’ को निर्माण गर्न थालिएको हो ।
स्मरणीय छ — शब्दयात्रा प्रकाशनले राखेका विभिन्न उद्देश्यहरूमध्ये सङ्ग्रहालयको निर्माण गर्नु पनि एउटा हो । भाषा, साहित्य, पत्रकारिता, कलाकारिता, शिक्षा, धर्म–संस्कृति, इतिहास, लोकसंस्कृति, पुरातत्त्व आदि क्षेत्रमा अनुसन्धान गर्न चाहने अनुसन्धाताहरूका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरू ‘शब्दसारथि सङ्ग्रहालय’ मा राखिनेछन् । निर्माणकार्य सम्पन्न भएपछि सङ्ग्रहालयको औपचारिक रूपमा समुद्घाटन पनि गरिनेछ ।
‘शब्दसारथि सङ्ग्रहालय’ निर्माण हुँदै
शब्दसाधक तीर्थमा पुग्नेहरूको सङ्ख्यामा बृद्धि
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा संस्थापित शब्दसाधकका पाँचवटा सालिक शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय र शब्दयात्रा स्तम्भको अवलोकन गर्नका लागि शब्दसाधक तीर्थमा पुग्ने वाङ्मयप्रेमीहरूको सङ्ख्या बढ्दै गएको छ । शब्दसाधक तीर्थमा पुग्दा नीलकण्ठेश्वर महादेव र शेषशायी विष्णुको दर्शन पनि गर्न पाइने भएकाले सङ्ख्या बढ्दै गएको हो ।
कवयित्री शारदा घिमिरे भैलले पनि मित्रका साथ शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दसाधक तीर्थमा स्वागत गर्नुभएको थियो भने रमेश अधिकारी र सङ्गीता केसीले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशनका शुभचिन्तक रामानन्द मिश्रको देहावसानबाट दुःखित बनिरहेको अवसरमा उहाँमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आत्मशान्तिका लागि प्रार्थना गर्दछौँ र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनबाट कदरपत्र प्राप्त गर्नुभएका काभ्रेली पत्रकारहरूमध्ये नेपाल पत्रकार महासङ्घ काभ्रेको सदस्यमा शुकदेव थपलिया र राष्ट्रिय परिषद् सदस्यमा प्रदीप केसी निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनबाट २०७३ सालमा सम्मानित नियात्राकार पोष चापागाईले भाषा तथा साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार एवम् शब्दयात्रा प्रकाशनबाट २०७२ सालमा सम्मानित गजलकार बूँद रानाले र २०६९ सालमा सम्मानित साहित्यिक पत्रकार मोहन दुवालले महाकवि देवकोटा पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
मोती महोत्सवको वृत्तचित्र निर्माण
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव समारोहका विषयमा शब्दयात्रा प्रकाशनले वृत्तचित्रको निर्माण गरेको छ ।
उक्त वृत्तचित्र शब्दयात्रा प्रकाशनको वेबसाइट र यु–ट्युबबाट हेर्न–सुन्न सकिनेछ ।
शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग
विपत्तिमा परेका साहित्यकार, पत्रकार तथा कलाकारहरूलाई आर्थिक सहयोग गर्ने गरेको शब्दयात्रा प्रकाशनले त्यस कार्यका लागि अक्षरसेवी सहयोग कोषको सञ्चालन गरेको छ । त्यही कोषका लागि विराटनगरबाट अग्रज समाजसेवी श्रीमती सीता पोखरेलले शब्दयात्रा प्रकाशनलाई ११ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले यसअघि पनि आर्थिक सहयोग गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्नुभएकोमा अग्रज समाजसेवी श्रीमती सीता पोखरेलमा शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
सूर्यप्रसाद श्रेष्ठबाट शब्दयात्रा पुरस्कारको आर्थिक व्यवस्थापन
पूर्वराजदूत, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्वसचिव सूर्यप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ को आर्थिक व्यवस्थापन गरिदिनुभएको छ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष कर्मशीलता पुरस्कार प्रदान गर्ने गरेकोमा त्यही पुरस्कारका लागि कोषमा आफ्ना तर्फबाट एक लाख रुपियाँ राखिदिएर उहाँले शब्दयात्रा प्रकाशनको कोषबृद्धिमा सहयोग गर्नुभएको हो ।
‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ का लागि आर्थिक व्यवस्थापन गरिदिनुभएकोमा पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
शब्दसञ्चारः वैशाख २१, २०७८
- Episode 56 – Shabda Sanchar 30:25
शब्दसञ्चारः वैशाख १४, २०७८
- Episode 55 – Shabda Sanchar 29:57

