Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट २०७७ सालमा सम्मानित ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको यही २०७८ साल वैशाख २९ गते निधन भएको छ । उहाँको निधनप्रति व्यथित बन्दै शब्दयात्रा प्रकाशनले उहाँको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामनाका साथ शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
उहाँको निधनपछि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सामाजिक सन्जालमा यस्तो लेख्नुभएको छ —
बन्धु जीवनचन्द्र कोइरालासँग २०३५ साल वैशाखदेखि सुरु भएको मेरो सहयात्रा र सहकर्म २०७८ साल वैशाखसम्म आएर ४३ वर्ष पूरा भएपछि हिजो वैशाख २९ गते पूर्णविराम लाग्यो ।
हिजो दिउँसो १ बजेदेखि साँझ ९ बजेसम्म दर्जनौँ मित्र, अग्रज र अनुजहरूले मलाई फोन गरेर मसँग जीवन बन्धुका बारेमा अनेकौँ प्रश्नहरू सोध्नुभयो र मैले उत्तर दिएँ । सबैले हाम्रो हल छुटेको प्रतिक्रिया दिनुभयो । फेसबुकमा जीवन बन्धुका छायाचित्रहरू देखेँ । मलाई चाहिँ श्रद्धाञ्जली र समवेदना शब्द लेख्ने आँटै आएन । रातभरि ओल्टेकोल्टे गरिरहेँ, एकै झप्को पनि निदाउन सकिनँ । मन अलि शान्त होला कि भनेर अहिले यी शब्दहरू लेख्न थालेको हुँ ।
जीवन बन्धुको प्रथम प्रकाशकीय मेरो सम्पादनमा निस्केको ‘सम्झौटो’ मा थियो । जीवन बन्धुको अन्तिम लेख प्रकाशन मेरो विषयमा प्रकाशित ‘शब्दकलाका नायक’ पुस्तकमा भएको थियो । जीवन बन्धुले पाउनुभएको अन्तिम सम्मान म अध्यक्ष बनेको शब्दयात्रा प्रकाशनबाट समर्पित ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ थियो । मैले जीवन बन्धुको परिचय पहिलोपटक उहाँको पुस्तिका ‘सहिद सरोज कोइराला’ मा लेखेको थिएँ । हामीले संयुक्त रूपमा ग्रन्थसम्पादन गर्ने कार्य ‘पूर्णप्रसाद ब्राह्मण स्मृतिग्रन्थ’ बाट सुरु गरेका थियौँ । हामीले पत्रिकाको संयुक्त सम्पादन गर्न ‘पानस’ बाट सुरु गरेका थियौँ । हामीले संस्थागत सहकार्य ‘छन्द समिति’ बाट गरेका थियौँ । मेरो नाउँ कतै आउँदा जीवन बन्धुको नाउँ सँगसँगै लिइन्थ्यो, जीवन बन्धुको नाउँ कतै आउँदा मेरो नाउँ सँगसँगै लिइन्थ्यो ।अझै कति–कति काम गर्ने हाम्रा सपनाहरू थिए, योजनाहरू थिए, आकाङ्क्षाहरू थिए । अस्पतालको शैयामा सुतेर मसँग बोलेको अन्तिम शब्द
‘बन्धु…’ पछि ती सपना, योजना र आकाङ्क्षाहरू जीवन बन्धुको आत्माका साथमा समाउनै नसकिने गरी उडे ।
म धेरैजनाको मलामी बनेको छु र लास काँधमा बोकेर हिँडेको छु, मैले लास पोलेको छु र कोरा पनि बसेको छु, तर कुनै पनि मृत्युले मलाई
भित्रैदेखि हल्लाएर कहिल्यै यसरी गलित र थकित बनाएको थिएन ।