वि. सं. १७७५ मा स्थापित पहिलो गुरुकुल हालको राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुल (मटिहानी, महोत्तरी) लाई २०८२ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीले कोषको व्यवस्था गरेको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
रमेशमोहन अधिकारीलाई डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार समर्पण गरिने
साहित्यकार रमेशमोहन अधिकारी (रौतहट) लाई २०८२ सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि लेखक तथा चिकित्सक डा. शालिग्राम शर्माले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
ज्ञानेन्द्रनाथ न्यौपानेलाई टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार समर्पण गरिने
पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने ‘लेकाली’ (रसुवा) लाई २०८२ सालको ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि रसुवा जिल्लाबाट पहिलोपटक विद्यावारिधि गर्ने विदुषी डा. सरस्वती आचार्यले आफ्ना मातापिताको स्मृति र सम्मानमा कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
नन्दकृष्ण जोशीलाई सकुल थापा देउडा पुरस्कार समर्पण गरिने
देउडागायक नन्दकृष्ण जोशी (बझाङ) लाई २०८२ सालको ‘शब्दयात्रा सकुल थापा देउडा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पच्चीस हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा लेखक सकुल थापाको नाउँमा संस्थापित यस पुरस्कारका लागि उहाँकी अर्धाङ्गिनी विमला थापाले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
गोविन्द शर्मालाई सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने
उद्यमी गोविन्द शर्मा (हसेरा पर्माकल्चर लर्निङ सेन्टर, काभ्रेपलाञ्चोक) लाई २०८२ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कार कोषको व्यवस्था होटल सारथिका अध्यक्ष प्रह्लाद प्याकुरेलले गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
दिल पौडेललाई जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार समर्पण गरिने
साहित्यकार दिल पौडेल (सिन्धुली) लाई २०८२ सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा पन्ध्र हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको स्मृतिमा उहाँकी धर्मपत्नी मनिका कोइरालाले पुरस्कार कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०८२ साल पुस १७ गते बिहीबार आफ्नै सभाकक्षमा शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न गरियो । कृष्णमणि कुइकेलको सभापतित्व र संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको समेत उपस्थितिमा सम्पन्न हिजोको कार्यक्रम अमृत अधिकारीले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन रोशन अधिकारीले, रुद्राक्षमाला समर्पण केदारनाथ तिमल्सिनाले, कार्यक्रमको समुद्घाटन डा. इन्दुल केसीले, कविता वाचन मुरहरि रायमाझीले र सभाविसर्जन शीला कतिलाले गर्नुभएको थियो ।
बिन्हांबि सार्वजनिक
नेपाल भाषामा लिखित उपन्यास ‘बिन्हांबि’ लाई हिजो २०८२ पुस १७ गते बिहीबार सार्वजनिक गरियो । समाजसेवी लम्बोदर कायस्थ र पत्रकार प्रदीप केसीले ‘बिन्हांबि’ लाई सार्वजनिक गर्नुभएको हो । बनेपाली लेखक प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ) द्वारा लिखित यो उपन्यास बनेपालीले नेपाल भाषामा लेखेको दोस्रो उपन्यास भएको कुरा कार्यक्रममा बताइएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको तेस्रो शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा पुस्तकका बारेमा साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालले लेख्नुभएको ‘बिन्हांबि’ माथिको टिप्पणी कवि दियेशरत्न शाक्यले पढेर सुनाउनुभएको थियो । उपन्यासकार प्रकाश उज्ज्वल बनेपाले उपन्यासको पृष्ठभूमि र यस उपन्यासले दिन खोजेको सन्देशका बारेमा जानकारी गराउनुभएको थियो । ‘बिन्हांबि’ उपन्यास विद्युतीय माध्यमबाट पढ्न चाहने पाठकले sypublication.com.np/ prakashujjwal खोली पढ्न सक्ने जानकारी पनि गराइएको थियो ।
नेपालको पहिलो सूर्यभजन सार्वजनिक
नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८२ साल पुस १७ गते बिहीबार आयोजित समारोहमा ललितकुमार शाक्यले यसलाई सार्वजनिक गर्नुभएको हो । ‘सूर्यप्रार्थना’ भजनका विषयमा मच्छेश्वर सापकोटाले लेख्नुभएको टिप्पणी पुण्यवती घलेले वाचन गर्नुभएको थियो । गायक वसन्त कुइकेलले गायनसम्बन्धी अनुभव सुनाउनुभएको थियो । भजन मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिन वसन्त कुइकेलले अनुरोध गर्नुभएको छ । हालसम्म नेपाली भाषामा सूर्यको स्तुति, भजन या प्रार्थनाको स्वराङ्कन गरिएको थिएन, यो नै पहिलो हो । यसलाई सूर्यप्रार्थना भनिएको छ । यसको लेखन र सङ्गीत हरि मञ्जुश्रीको हो । यसमा वसन्त कुइकेलले स्वर दिनुभएको छ । बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन र मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा सूर्यप्रार्थना तयार भएको हो । यसको सम्पादन इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको छ । यो भजन शब्दयात्रा प्रकाशनद्वारा उत्पादित चौबीसौँ साङ्गीतिक प्रस्तुति हो ।
उषा केसीको ‘हिउँफूल’ उपन्यासमाथिको संवाद कार्यक्रम सम्पन्न
शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा आज २०८२ पुस १० गते बिहीबार उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम आयोजना गरेको थियो ।
अग्रज समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल सभापति रहनुभएको आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराउनुभएको थियो ।
काठमाडौँबाट आउनुभएका साहित्यकारहरू डा. इन्दुल केसी, शान्ति रिसाल, राधा कार्की र पार्वती भट्ट एवम् काभ्रेपलाञ्चोक जिल्लाबाट उपस्थित गीतिभास्कर मच्छेश्वर सापकोटा तथा साहित्यकारहरू शारदाप्रसाद शर्मा, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले ‘हिउँफूल’ का विषयमा चर्चा गर्नुभएको थियो ।
कवि मुरहरि रायमाझी ‘हरि’ ले कविता वाचन र कृतिकार उषा केसीले मन्तव्यसहित सभाविसर्जन गर्नुभएको आजको कार्यक्रममा साहित्यकारहरू रवीन्द्र आशीष शैली, मीना चौलागाईं, सुषमा आचार्य, नवराज दाहाल ‘उत्साही’, चन्द्रबहादुर खड्का, डा. छत्रपति दाहाल, सुभद्रा अधिकारी, गायिका सरस्वती सापकोटा आदि पनि उपस्थित हुनुहुन्थ्यो ।
संस्थाका आजीवन सदस्य कवि अच्युत अधिकारीले सञ्चालन गर्नुभएको आजको कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन साहित्यकार सरस्वती चिमोरियाले, छायाङ्कन तथा स्वराङ्कन आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण लेखक दामोदर घिमिरेले, शब्दयात्रा प्रकाशनका तर्फबाट अतिथि साहित्यकारहरूलाई उपहार समर्पण लेखक प्रकाशबहादुर कायस्थले र विविध व्यवस्थापन कार्यालय व्यवस्थापक सङ्गीता केसीले गर्नुभएको थियो ।

