Home Blog Page 11

मलाई माया गर्दछौ भने

0
शब्दयात्रा प्रकाशनद्वारा उत्पादित २३ औँ गान ‘मलाई माया गर्दछौ भने’ त्यस गानको सङ्गीतकारका रूपमा मैले सार्वजनिक समारोहमा प्रस्तुत गरेको छु । गीतमा टुहुरो छोराले सोध्छ — “मलाई टुहुरो पारेर किन छोड्नुभो आमाबुबा ? तपाईंहरू अहिले कहाँ हुनुहुन्छ ?” दिवङ्गत आमाबुबाको आत्मा बोल्छ — “तिमीलाई छाडेर हामी कहाँ जान्थ्यौँ र ! धर्तीमा, आकाशमा र पानीमा रहेका प्राणी जति छन्, ती सबैमा हामी बसेका हौँ । हामीलाई माया गर्छौ भने ती सबै प्राणीलाई माया गर । सबै प्राणीमा हामी आमाबुबालाई देख । तिमीले गर्ने श्राद्ध त्यही हो । हामी त्यसैमा खुशी मान्दछौँ ।” स्थायी, अन्तरा र अनुप्रास नभएको, वर्णमात्रिक र मात्रिक कुनै पनि छन्दमा नलेखिएको र गद्यमा संवाद मात्रै रहेको यो गद्यगीत अत्यन्त मार्मिक छ र सुनिरहूँजस्तो बनेको छ । गीता अधिकारीद्वारा रचित यस गानमा छोराको संवादमा हरि मञ्जुश्रीको, आमाको संवादमा रश्मि हुमागाईंको र बुबाको संवादमा इ. रोशन अधिकारीको स्वर रहेको छ । यही मङ्सिर २७ गते समारोहमा प्रस्तुत गरिएको यो गान शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरधाम यु–ट्युब च्यानलबाट पुस ५ गतेदेखि सुन्न सकिनेछ ।

तीन छात्रालाई छात्रवृत्ति समर्पण

0

काभ्रेपलाञ्चोक जिल्लाको कलेजमा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार यसै जिल्लाकी एक छात्रालाई हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर देउराली घर भई हाल काठमाडौंको पेप्सिकोलामा बस्ने लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा स्थापना गर्नुभएको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ २०८२ सालका लागि बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह चतुर्थ वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत बेथानचोक गाउँपालिका निवासी प्रभा अधिकारीमा समर्पण गरिएको छ ।
भोजपुर जिल्लाको दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौंको शङ्खमूलमा बस्ने कवि तथा सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठले शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठका नाउँमा राख्नुभएको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ २०८२ सालका लागि मकवानपुर जिल्लाको गढी गाउँपालिका वडा नं. १ मा घर भई बनेपामा अवस्थित काभ्रे बहिरा विद्यालयमा कक्षा ६ मा अध्ययनरत विकलाङ्ग छात्रा रोजिना बमजनमा समर्पण गरिएको छ ।
लेखक, अनुसन्धाता, वैज्ञानिक एवम् काठमाडौं विश्वविद्यालयका संस्थापक रजिस्ट्रार प्रा. डा. सीताराम अधिकारीले आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार एक छात्रालाई हरेक वर्ष प्रदान गर्ने गरी आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षणसेवी श्रीमती माधवी अधिकारीको स्मृतिमा कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ २०८२ सालका लागि सिन्धुली जिल्लामा घर भई बनेपा नालाको शुभचामुण्डा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सबिना योन्जनमा समर्पण गरिएको छ ।
यही २०८२ मङ्सिर २७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा छात्रवृत्ति समर्पण गरिएको हो ।

पाँचजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण

0

लघु अनुसन्धान परियोजना अन्तर्गत हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनमा संस्थापित विद्वतवृत्तिहरू २०८२ सालका लागि पाँचजना अनुसन्धातामा समर्पण गरिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धाताका लागि सुभाष स्मृति प्रतिष्ठानको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार, शिक्षासेवी, समाजसेवी तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काद्वारा लिखित कृतिहरूको विश्लेषण गरी कविता विधाको पुस्तक तयार पार्न मुरहरि रायमाझी (काभ्रेपलाञ्चोक) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट हरि मञ्जुश्रीले समर्पण गर्नुभएको थियो ।
नेवाः सभ्यताका विषयमा अध्ययन–अनुसन्धान गर्ने अनुसन्धाताका लागि साहित्यकार तथा लेखाविज्ञ लोकमान मास्केको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा प्रतापमान–झरना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ ‘नेवाः सभ्यताको परिचय’ विषयमा प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्न प्रकाश उज्ज्वल बनेपा (प्रकाशबहादुर कायस्थ, काभ्रेपलाञ्चोक) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र कोष व्यवस्थापक लोकमान मास्केले समर्पण गर्नुभएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धाताका लागि बनेपा घर भई हाल अमेरिका बस्ने विदुर विष्टबाट आफ्ना दिदी–भिनाजुको स्मृतिमा आर्थिक व्यवस्थापन गरेर संस्थापित ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लामा रहेको नीलकण्ठेश्वर महादेव मन्दिर र नीलकण्ठेश्वर धामसँग सम्बन्धित परिचयात्मक पुस्तक तयार पार्न दामोदर घिमिरे (खोटाङ) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र विदुर विष्टका तर्फबाट हरि मञ्जुश्रीले समर्पण गर्नुभएको थियो ।
साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा नेपाली महिलाहरूले गरेका योगदानका विषयमा अनुसन्धान गर्ने अनुसन्धाताका लागि सावित्री जङ्गम थापाको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ सहकारी क्षेत्रमा सावित्री जङ्गम थापाको योगदानका विषयमा अन्वेषण गरी प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्न शारदा घिमिरे भैल (काभ्रेपलाञ्चोक) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र सावित्री जङ्गम थापाका तर्फबाट हरि मञ्जुश्रीले समर्पण गर्नुभएको थियो ।
भोजपुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धाताका लागि भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा संस्थापित ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ भोजपुर दिङ्लामा अवस्थित षडानन्द बहुमुखी क्याम्पसको इतिहास र त्यससँग सम्बन्धित विवरणसहित प्रकाशनयोग्य अनुसन्धानात्मक सामग्री तयार पार्न दण्डपाणि अधिकारी (भोजपुर) मा समर्पण गरिएको छ । उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, रकम र अभिवन्दनापत्र कोष व्यवस्थापक प्रा. केदारनाथ श्रेष्ठले समर्पण गर्नुभएको थियो ।
यी विद्वतवृत्तिहरू यही मङ्सिर २७ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा समर्पण गरिएका थिए ।

तीनजना पत्रकारमा कदरपत्र समर्पण

0
शब्दयात्रा प्रकाशनले तीनजना सक्रिय पत्रकार तुलसी गिरी, कृष्ण किसी र शुभराज अधिकारीमा २०८२ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ ।
‘म्युजिक डायरी’ र ‘इ–म्युजिक डायरी डटकम’ नामक मुद्रण र अनलाइन पत्रकारिताका माध्यमबाट पत्रकारिता क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा तुलसी गिरी (झापा) लाई, ‘एबीसीडी खबर डटकम’ नामक अनलाइन पत्रिकाका माध्यमबाट पत्रकारिता क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा कृष्ण किसी (भक्तपुर) लाई र मुद्रण तथा विद्युतीय पत्रकारिताका क्षेत्रमा योगदान दिई त्यसको व्यवस्थापन कौशलबाट आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा शुभराज अधिकारी (काभ्रेपलाञ्चोक) लाई कदरपत्र समर्पण गरिएको हो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही मङ्सिर २७ गते शनिबार आयोजित कार्यक्रममा कदर व्यवस्थापक अग्रज पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले कदरपत्र समर्पण गर्नुभएको हो । यो कदरपत्र क्रियाशील पत्रकारहरूलाई हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।

‘भूस्वर्गको सुवास’ र ‘भागवत एक परिचय’ सार्वजनिक

0
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई कृति यही मङ्सिर २७ गते सार्वजनिकीकरण गरिएका छन् । डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भूस्वर्गको सुवास’ कृतिकार डा. इन्दुल केसी र लेखक रत्नकुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो । यसै गरी केदारनाथ तिमल्सिनाद्वारा सङ्कलित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भागवत एक परिचय’ कृतिकार केदारनाथ तिमल्सिना र गायक प्रताप रानाले सार्वजनिक गर्नुभएको थियो । दुवै कृतिको परिचय नवराज दाहाल ‘उत्साही’ ले गराउनुभएको थियो । यीसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कृतिको सङ्ख्या २६५ पुगेको छ ।

लता केसीमा लघुकथा पुरस्कार समर्पण

0

शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ । शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ जस्ता लघुकथासङ्ग्रहहरूका माध्यमबाट लघुकथा विधामा योगदान दिनुभएकोमा उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र र ५ हजार ५ रुपियाँ भेटीसहितको उक्त पुरस्कार समर्पण गरिएको हो ।
साहित्यकार अम्बिका धितालद्वारा पितामाताको स्मृति र सम्मानमा व्यवस्थापित यो पुरस्कार मङ्सिर २७ गते शनिबार पहिलोपटक समर्पण गरिएको हो ।
पुरस्कार समर्पण गर्न आयोजित समारोहमा समुपस्थित सम्पूर्ण सहभागीहरूका तर्फबाट पुरस्कृत व्यक्तित्व लता केसीको वाङ्मयिक कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको बेहोरा अभिवन्दनापत्रमा उल्लेख छ । अभिवन्दनापत्रमा पुरस्कार कोषका व्यवस्थापक अम्बिका धिताल, चयन समितिका सदस्य निर्मला श्रेष्ठ र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको हस्तखत रहेको छ ।
पुरस्कार समर्पण गर्ने क्रममा कृष्णमणि कुइकेलले माला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

मार्टिन चौतारीमा शब्दयात्रा प्रकाशनको चर्चा

0
मार्टिन चौतारीको आयोजनामा २०८२ मङ्सिर २१ गते ‘संस्था निर्माणको पृथक् अभ्यास शब्दयात्रा प्रकाशनको डेढ दशक’ विषयमा प्रवचन तथा अन्तर्संवाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, लोकेन्द्र ढकाल, डा. इन्दुल केसी र शङ्करप्रसाद मानन्धर सहभागी हुनुहुन्थ्यो । संस्थापक अध्यक्षका रूपबाट हरि मञ्जुश्रीले त्यस कार्यक्रममा शब्दयात्रा प्रकाशनका विषयमा ४५ मिनेटसम्म बोल्नुभयो । त्यसपछि प्रश्नोत्तर गरिएको थियो । सहभागीहरूले शब्दयात्रा प्रकाशनप्रति धेरै रुचि देखाउनुभएको थियो । कार्यक्रमको सहजीकरण देवराज हुमागाईंले गर्नुभएको थियो ।

लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरियो

0
अग्रज साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई २०८२ मङ्सिर २२ गते विभिन्न साहित्यिक संस्थाहरूले सामूहिक रूपमा अभिनन्दन गरे । अभिनन्दन गर्ने संस्थाहरूमा शब्दयात्रा प्रकाशन पनि थियो । समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट डा. इन्दुल केसी र लोकेन्द्र ढकाल सहभागी हुनुभएको थियो । उहाँहरूले अभिनन्दित व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनका तर्फबाट अभिनन्दन गर्नुभएको थियो । लोकेन्द्रबहादुर चन्दले शब्दयात्रा प्रकाशनको समारोहमा दुईपटक प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो ।

२६५. भागवत : एक परिचय

केदारनाथ तिमल्सिनाले तयार पार्नुभएको पुस्तिका ‘भागवत ः एक परिचय’ श्रीमद्भागवतको परिचय गराउन समर्थ छ । श्रीमद्भागवतमा कतिवटा स्कन्ध छन्, कुन–कुन स्कन्धमा कति–कति अध्याय छन्, कुन–कुन स्कन्धको कुन–कुन अध्यायमा कुन–कुन विषयवस्तुसँग सम्बन्धित कथा वा घटनाक्रम वा विवरणहरू छन् भन्ने कुराको जानकारी यस पुस्तिकाबाट पाठकवर्गले सजिलै पाउन सक्छन् । तसर्थ भागवतको परिचय पाउन चाहने हरेक पाठकका लागि यो पुस्तिका राम्रो स्रोतसामग्री बनेको छ ।

एक सय थान पुस्तक उपहार

0
मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले बनेपामा खोलेको पुस्तकालयलाई शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले १ सय थान साहित्यिक पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू नवस्थापित पुस्तकालयका तर्फबाट सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सीताराम तिमल्सिनाले गहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशनले देशका विभिन्न जिल्लाका पुस्तकालयलाई हजारौँ पुस्तकहरू उपहार दिइसकेको छ ।