शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ साहित्यकार लोकमान मास्केमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सङ्खुवासभा जिल्लाको खाँदबारीमा २००६ सालमा जन्मनुभएका उहाँले साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएको छ । हाल साहित्यिक लेखनमा सक्रिय उहाँ यसअघि नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही साउन महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लेखिका तथा समाजसेवी लीलादेवी श्रेष्ठले यस पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन लोकमान मास्केप्रति हार्दिक आभार व्यक्त गर्दछ ।