सार्वजनिक गरिएका पुस्तकहरूमध्ये तीनवटा पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको हुनाले म पुस्तककै विषयमा प्रवेश गर्न चाहन्छु ।
पहिलो पुस्तक दामोदर घिमिरेद्वारा सम्पादित स्मृतिसङ्ग्रह ‘पुष्प सौगात’ हो । काभ्रेली लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाको निधनपछि शब्दयात्रा प्रकाशनबाट उहाँको स्मृतिमा पुस्तक प्रकाशन गर्ने कुरा उठ्यो । शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे पुस्तक सम्पादनका लागि तत्पर हुनुभयो । दामोदर घिमिरेलाई पुष्पदास स्याउलाकी अर्धाङ्गिनी शर्मिला स्याउलाले सहयोग पु¥याउनुभयो । त्यसपछि यो पुस्तक निस्केको हो । यो पुस्तक पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले उहाँको जीवनयात्रा, कृतित्व, व्यक्तित्व र योगदानका बारेमा थोरै भए पनि जानकारी दिने प्रयत्न गरेको छ । पुष्पदास स्याउलाका बालबच्चाको शिक्षादीक्षाका लागि सहयोगार्थ यसपुस्तकको मूल्य १०० रुपियाँ राखिएको छ ।
दोस्रो पुस्तक प्रकाश उज्ज्वल बनेपा अर्थात् प्रकाशबहादुर कायस्थद्वारा लिखित लेखसङ्ग्रह ‘मन’ हो । ‘मन’ मा एघाह«वटा मानसिक खुराकहरू रहेका छन् । शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित रहेर लेखिएका रचनाहरूको यो सङ्ग्रह पाठकहरूका निम्ति उत्तम पठन–सामग्री बनेको छ । आत्मपरक शैलीसमेत प्रयोग गरिएका यसभित्रका हरेक रचना एक–अर्कासँग अन्तर्सम्बन्धित रहेका हुनाले एकै बसाइमा पढ्न सकिन्छ र पढिसकेपछि यिनले पाठकको मनलाई उद्वेलित बनाएर सकारात्मक मनोविज्ञानको निर्माण गर्ने दिशामा महàवपूर्ण भूमिकासमेत निर्वाह गर्नेछन् । यस पुस्तकको मूल्य ६० रुपियाँ राखिएको छ ।
तेस्रो पुस्तक जगन्नाथ गिरीको सङ्कलनमा आएको ‘सम्झना बुबाको’ बिरौंलासङ्ग्रह हो । यो पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका अतिरिक्त शोकावस्थामा भेट गर्न आउने व्यक्तिहरूको सूची, शोकसन्देशहरू, समवेदना विज्ञापनहरू, क्रियाकर्मका लागि आवश्यक सामग्रीहरूको सूची र केही तस्बिरहरू समावेश गरिएको यो कृति हरेक परिवारका लागि यस्तै खालको अभिलेख राख्नुपर्ने रहेछ भन्ने सन्देश दिन सफल बनेको छ । यो कृति तयार पारेर जगन्नाथ गिरीले पितृऋणको केही अंश भए पनि तिर्ने प्रयत्न गर्नुभएको छ । यसको मूल्य पनि १०० रुपियाँ नै राखिएको छ ।
यी पुस्तकहरूले नेपाली समाजमा सकारात्मक छाप छोड्नेछन् भन्ने आशा गर्दछु । (पुस्तकहरूमाथि गरिएको टिप्पणीको मुख्यांश)