१५७. कुमारी सिन्दुर (गीतिकाव्य)

साहित्यिक लेखन, वाङ्मयिक सङ्गठन र शैक्षिक चेतना–विस्तार गरी त्रिआयामिक व्यक्तित्व लिएर सामाजिक योगदान दिन हेलिनुभएका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ कालिकोट जिल्लाको वाङ्मय क्षेत्रका उज्ज्वल प्रतिभा हुनुहुन्छ । उहाँले आफ्नो दोस्रो कृतिको प्रकाशनका लागि शब्दयात्रा प्रकाशनको छनोट गर्नुभएकाले यस कृतिको प्रकाशन सम्भव भएको हो । कृतिकारको दोस्रो पुस्तक ‘कुमारी सिन्दुर’ गीतिकाव्य नेपाली ग्रामीण परिवेशको वियोगान्त कथावस्तुलाई झ्याउरे लयमा उनिएको सुन्दर साहित्यिक कृति हो । नेपालीभाषी पाठकका लागि यो पुस्तक पात्रपात्रा, चरित्र, कथावस्तु, कथ्य भाषा, भौगोलिक स्थिति आदिका कारणले कर्णाली परिवेशको देखिए पनि नेपालको समग्र ग्रामीण जनजीवनको झलकका रूपमा प्रस्तुत भएको छ ।