शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रममा अग्रज नियात्राकार पोष चापागाईंले नियात्रा साहित्यमा हुनुपर्ने तत्त्वहरूका विषयमा प्रवचन गर्नुभयो । उहाँले यात्रा, नियात्रा, यात्रासंस्मरण जस्ता शब्दहरूले दिने अर्थको भिन्नताको चर्चासमेत गर्नुभयो र यात्रालेखकले ध्यान दिनुपर्ने कुराहरूका विषयमा पनि जानकारी दिनुभयो । जुमका माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले प्रवाचक पोष चापागाईंको सङ्क्षिप्त चिनारी गराउनुभएको थियो । कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकार, डा. इन्दुल केसी, सुनील सापकोटा, गोविन्द चापागाई, बलराम अधिकारी, शिव बन्जारा, पुण्यवती घले, दीपक तिमल्सिना आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो ।