शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गरेको १०१ औँ पुस्तक यही २०७९ साल जेठ ८ गते आइतबार सार्वजनिक गरियो । पुस्तकको नाउँ ‘नेपालमा मस्टो परम्परा’ हो । यसको प्रकाशन काठमाडौँ विश्वविद्यालय अन्तर्गतको संस्था हिमालय एसियाली अध्ययन केन्द्र (हिकास) ले गरेको हो । यसमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शुभकामना र हिकासका कार्यकारी निर्देशक प्रा. डा. सागरराज शर्माले प्रकाशकीय लेख्नुभएको छ । डा. सत्यमोहन जोशीको प्रेरणाबाट सुरुमा जीवनचन्द्र कोइरालाले यस पुस्तकको सम्पादन गर्न थाल्नुभएको थियो । करिब १३० पृष्ठ सामग्री पुगेपछि उहाँको देहावसान भयो । त्यसपछि डा. सत्यमोहन जोशीले पुस्तकको बाँकी सम्पादन गर्न हरि मञ्जुश्रीलाई जिम्मा दिनुभयो र उहाँले सम्पादन गर्नुभयो । पुस्तक ३१२ पृष्ठको छ । यो पुस्तक प्रमुख अतिथिका रूपबाट काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले सार्वजनिक गरिदिनुभयो । प्रकाशक हिकासका तर्फबाट सञ्चालक सदस्य मुकुन्दप्रसाद उपाध्यायले उक्त पुस्तक डा. सत्यमोहन जोशीमा समर्पण गर्नुभयो । पुस्तकमाथि डा. प्रयागराज शर्माले टिप्पणी गर्नुभयो । प्रा. सुरेशराज चालिसेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा किरण थापाले स्वागत भाषण गर्नुभयो । कार्यक्रममा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी र सुन्दरराज चालिसे सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठानका तर्फबाट डा. सत्यमोहन जोशीमा अभिवन्दनापत्र समर्पण गरियो । कार्यक्रमको सञ्चालन हरि मञ्जुश्रीले गर्नुभएको थियो । उक्त कार्यक्रम वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०३ औँ जन्मदिवसको सन्दर्भ पारी ललितपुरस्थित लोकसाहित्य परिषदको सभाकक्षमा आयोजना गरिएको थियो । यो पुस्तकसमेत हरि मञ्जुश्रीले सम्पादन गरेका १०१, लेखेका ३२ र अनुवाद गरेको १ गरी उहाँका पुस्तकको सङ्ख्या १३४ पुगेको छ ।