शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले आफूलाई ‘शब्दसारथि’ उपाधिसहित मोती महोत्सवमा सम्मान गर्ने ६० वटा संस्थाहरूप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ — उपाधि सरकारबाट मात्र दिइँदो रहेनछ, जनस्तरबाट पनि दिइँदो रहेछ । मलाई पनि शब्दकलाका नायक भनेर जनस्तरबाट ‘शब्दसारथि’ उपाधि र प्रमाणपत्रसहित त्यसको प्रमाणचिह्न प्रदान गरिएको छ । मेरा मित्रहरूले जनस्तरीय सम्मान भनेको जनताको हृदय जितेर पाएको माथिल्लो कोटिको र मूल्यवान् सम्मान हो भन्नुभएको छ । साठीवटा संस्थाले एकै दिन एउटै समारोहमा उपाधि र त्यसको प्रमाणचिह्नका साथै हरेक संस्थाबाट छुट्टाछुट्टै सम्मानपत्रसमेत प्रदान गरेको घटना थोरै मात्र होलान् । यसरी सम्मानित हुने पात्र पनि बिरलै होलान् । भगवानले मलाई त्यस्तै खालको बिरलै भेटिने पात्र बन्ने सौभाग्य दिनुभएछ । म सबै संस्थाहरूप्रति आभारी र भगवानप्रति कृतज्ञ छु।