शब्दयात्रा प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मान्य व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी चयन गरेका सम्मान्य व्यक्तित्वहरूको नामावली शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ । उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वहरूको चयन गरेको हो । चयन समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ । प्राप्त निर्णयअनुसार शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट पुस्तकलाई समर्पण गरिने २०७८ सालको सिर्जना सम्मान शब्दयात्रा प्रकाशनले २०७७ सालमा प्रकाशन गरेका १५ वटा पुस्तकहरूमध्ये पाठकमतका आधारमा सर्वोत्कृष्ट ठहरिएको ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अन्वेषणात्मक पुस्तकका लागि अन्वेषक भरत जङ्गम (भक्तपुर) लाई समर्पण गरिने भएको छ । भीमभक्तमानसिंह बस्नेतको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन कल्याण लम्सालले गर्नुभएको हो । यसै गरी आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै आफू आबद्ध शैक्षिक संस्थाको हितमा समर्पित शिक्षक–प्राध्यापकलाई समर्पण गरिने शिक्षक सम्मान २०७८ सालका लागि पद्मकन्या बहुमुखी क्याम्पसको नेपाली विभागका प्रमुख रहिसक्नुभएका प्रा. डा. नन्दीश अधिकारी (भोजपुर) लाई समर्पण गरिने भएको छ । अङ्गुरबाबा जोशीको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो । कवि नन्दिकेश्वर अधिकारी र उनका साहित्यिक वंशजका विषयमा शोध–अनुसन्धान र प्रसारप्रसार गर्ने व्यक्ति अथवा संस्थालाई समर्पण गरिने शोध सम्मान हरि मञ्जुश्री मोती महोत्सवमा सक्रिय रही उहाँका विषयमा साढे छ सय पृष्ठको ‘शब्दकलाका नायक’ पुस्तकको संयुक्त सम्पादन गर्नुभएकोमा निर्मला श्रेष्ठ (काभ्रेपलान्चोक) लाई समर्पण गरिने भएको छ । नन्दिकेश्वर अधिकारीको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन गीता अधिकारीले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँहरूप्रति आभार व्यक्त गर्दछ । बाँकी छजनाको नाम पनि छिटै सार्वजनिक गरिनेछ ।