‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट २०७७ सालमा सम्मानित ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको यही २०७८ साल वैशाख २९ गते निधन भएको छ । उहाँको निधनप्रति व्यथित बन्दै शब्दयात्रा प्रकाशनले उहाँको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामनाका साथ शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
उहाँको निधनपछि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सामाजिक सन्जालमा यस्तो लेख्नुभएको छ —
बन्धु जीवनचन्द्र कोइरालासँग २०३५ साल वैशाखदेखि सुरु भएको मेरो सहयात्रा र सहकर्म २०७८ साल वैशाखसम्म आएर ४३ वर्ष पूरा भएपछि हिजो वैशाख २९ गते पूर्णविराम लाग्यो ।
हिजो दिउँसो १ बजेदेखि साँझ ९ बजेसम्म दर्जनौँ मित्र, अग्रज र अनुजहरूले मलाई फोन गरेर मसँग जीवन बन्धुका बारेमा अनेकौँ प्रश्नहरू सोध्नुभयो र मैले उत्तर दिएँ । सबैले हाम्रो हल छुटेको प्रतिक्रिया दिनुभयो । फेसबुकमा जीवन बन्धुका छायाचित्रहरू देखेँ । मलाई चाहिँ श्रद्धाञ्जली र समवेदना शब्द लेख्ने आँटै आएन । रातभरि ओल्टेकोल्टे गरिरहेँ, एकै झप्को पनि निदाउन सकिनँ । मन अलि शान्त होला कि भनेर अहिले यी शब्दहरू लेख्न थालेको हुँ ।
जीवन बन्धुको प्रथम प्रकाशकीय मेरो सम्पादनमा निस्केको ‘सम्झौटो’ मा थियो । जीवन बन्धुको अन्तिम लेख प्रकाशन मेरो विषयमा प्रकाशित ‘शब्दकलाका नायक’ पुस्तकमा भएको थियो । जीवन बन्धुले पाउनुभएको अन्तिम सम्मान म अध्यक्ष बनेको शब्दयात्रा प्रकाशनबाट समर्पित ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ थियो । मैले जीवन बन्धुको परिचय पहिलोपटक उहाँको पुस्तिका ‘सहिद सरोज कोइराला’ मा लेखेको थिएँ । हामीले संयुक्त रूपमा ग्रन्थसम्पादन गर्ने कार्य ‘पूर्णप्रसाद ब्राह्मण स्मृतिग्रन्थ’ बाट सुरु गरेका थियौँ । हामीले पत्रिकाको संयुक्त सम्पादन गर्न ‘पानस’ बाट सुरु गरेका थियौँ । हामीले संस्थागत सहकार्य ‘छन्द समिति’ बाट गरेका थियौँ । मेरो नाउँ कतै आउँदा जीवन बन्धुको नाउँ सँगसँगै लिइन्थ्यो, जीवन बन्धुको नाउँ कतै आउँदा मेरो नाउँ सँगसँगै लिइन्थ्यो ।अझै कति–कति काम गर्ने हाम्रा सपनाहरू थिए, योजनाहरू थिए, आकाङ्क्षाहरू थिए । अस्पतालको शैयामा सुतेर मसँग बोलेको अन्तिम शब्द
‘बन्धु…’ पछि ती सपना, योजना र आकाङ्क्षाहरू जीवन बन्धुको आत्माका साथमा समाउनै नसकिने गरी उडे ।
म धेरैजनाको मलामी बनेको छु र लास काँधमा बोकेर हिँडेको छु, मैले लास पोलेको छु र कोरा पनि बसेको छु, तर कुनै पनि मृत्युले मलाई
भित्रैदेखि हल्लाएर कहिल्यै यसरी गलित र थकित बनाएको थिएन ।