शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा निर्मित शब्दसाधक तीर्थका लागि आर्थिक सहयोग दिने दाताहरूको नामावती भएको पहिलो अभिलेखपत्र गत २०७७ साल असोज २४ गते शनिबार विशेष कार्यक्रमको आयोजना गरी अनावरण गराइयो । उक्त अभिलेखलाई बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले प्रमुख अतिथिका रूपबाट अनावरण गर्नुभएको थियो ।
शब्दसाधक तीर्थमा नेपालको पहिलो शिक्षासेवी षडानन्द अधिकारी, पहिलो लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती, पहिलो साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने पहिलो गायिका मेलवादेवी गुरुङका सालिकहरू राखिएका छन् । नेपालमा यसरी विभिन्न विधाका प्रथम शब्दसाधकहरूको सालिक राखिएको ठाउँ बनेपा मात्रै हो ।
अभिलेख अनावरण कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सञ्चालन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा स्वागत भाषण सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले, स्वस्तिवाचन पण्डित रमेश अधिकारीले, दाताहरूको नामावली वाचन सञ्चालक सदस्य हरिगोपाल प्रधानले र प्रमुख अतिथिलाई उपहार प्रदान महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा केदारनाथ तिमल्सिनाले कवितावाचन र पुण्यवती घलेले रुद्राक्षको माला अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिका रूपमा बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसी, इन्जिनियर रोशन मञ्जुश्री अधिकारी, सहदीप पलान्चोके, सङ्गीता केसी, श्री शर्मा मूर्ख आदिको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको नयाँ शृङ्खलाका रूपमा सम्पन्न गरिएको थियो । अभिलेखमा सालिक स्थापना गर्नका लागि आर्थिक सहयोग गर्ने १ सय १६ जना सहयोगीहरूको नामावली राखिएको छ ।