‘भूस्वर्गको सुवास’ र ‘भागवत एक परिचय’ सार्वजनिक
लता केसीमा लघुकथा पुरस्कार समर्पण
शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसी (भोजपुर) लाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गरेको छ । शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ जस्ता लघुकथासङ्ग्रहहरूका माध्यमबाट लघुकथा विधामा योगदान दिनुभएकोमा उहाँलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र र ५ हजार ५ रुपियाँ भेटीसहितको उक्त पुरस्कार समर्पण गरिएको हो ।
साहित्यकार अम्बिका धितालद्वारा पितामाताको स्मृति र सम्मानमा व्यवस्थापित यो पुरस्कार मङ्सिर २७ गते शनिबार पहिलोपटक समर्पण गरिएको हो ।
पुरस्कार समर्पण गर्न आयोजित समारोहमा समुपस्थित सम्पूर्ण सहभागीहरूका तर्फबाट पुरस्कृत व्यक्तित्व लता केसीको वाङ्मयिक कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको बेहोरा अभिवन्दनापत्रमा उल्लेख छ । अभिवन्दनापत्रमा पुरस्कार कोषका व्यवस्थापक अम्बिका धिताल, चयन समितिका सदस्य निर्मला श्रेष्ठ र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको हस्तखत रहेको छ ।
पुरस्कार समर्पण गर्ने क्रममा कृष्णमणि कुइकेलले माला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
मार्टिन चौतारीमा शब्दयात्रा प्रकाशनको चर्चा
लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरियो
२६५. भागवत : एक परिचय
एक सय थान पुस्तक उपहार
पदम दाहाल र चूडाप्रसाद चौलागाईंका पुस्तक सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक सार्वजनिक गरिएका छन् । आख्यानकार तथा नवीन दर्शनका दार्शनिक भरत जङ्गमको व्यक्तित्वका बारेमा पदम दाहालले लेख्नुभएको ‘वरद नायक भरत जङ्गम’ नामक पुस्तक प्रमुख अतिथि सावित्री थापा, संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकार पदम दाहालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो भने भरत जङ्गमको कृतित्वका बारेमा चूडाप्रसाद चौलागाईंले लेख्नुभएको ‘भरत जङ्गमको निर्बन्ध बन्धन एक अध्ययन’ नामक पुस्तक सावित्री थापा, हरि मञ्जुश्री र कृतिकार चूडाप्रसाद चौलागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
कृतिनायक भरत जङ्गम र कृतिकार पदम दाहाल शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुहुन्छ भने अर्का कृतिकार चूडाप्रसाद चौलागाईं शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक पत्रिका ‘नेपालभूमि’ का पूर्व कार्यकारी सम्पादक हुनुहुन्छ ।
पुस्तक सार्वजनिक गरिएपछि ‘वरद नायक भरत जङ्गम’ का विषयमा प्रजापति तिमिल्सिनाले र ‘भरत जङ्गमको निर्बन्ध बन्धन एक अध्ययन’ का विषयमा पुण्यवती घलेले टिप्पणी गर्नुभएको थियो । त्यस अवसरमा प्रकाशन संस्थाका तर्फबाट आजीवन सदस्य डा. इन्दुल केसीले ‘वरद नायक भरत जङ्गम’ नामक पुस्तक र अर्का आजीवन सदस्य चन्द्रबहादुर खड्काले ‘भरत जङ्गमको निर्बन्ध बन्धन एक अध्ययन’ नामक पुस्तक कृतिनायक भरत जङ्गमलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रम यही मङ्सिर १० गते शब्दयात्रा प्रकाशनको आफ्नै सभाकक्ष बनेपामा भएको थियो ।
पुस्तक हस्तान्तरण
भरत जङ्गमको जन्मदिवस मनाइयो
शब्दयात्रा प्रकाशनले आफ्ना आजीवन सदस्यहरूको जन्मदिवस विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ । त्यसै क्रममा हिजो २०८२ मङ्सिर १० गते बुधबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा विभिन्न कार्यक्रम गरी आख्यानकार तथा नवीन दर्शनका दार्शनिक भरत जङ्गमको ७९ औँ जन्मदिवस मनाइयो । शब्दयात्रा प्रकाशनका सल्लाहकार तथा अनुसन्धान विद्वतवृत्तिका कोष व्यवस्थापक सावित्री थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व आजीवन सदस्य कृष्णमणि कुइकेलले र सञ्चालन आजीवन सदस्य शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रमका बारेमा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जानकारी गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यक्रममा उपस्थित आजीवन सदस्यहरूले भरत जङ्गममा जन्मदिवसको शुभकामनापत्र तथा अन्य महानुभावहरूले खादा र उपहार समर्पण गर्नुभएको थियो ।
गणेशभजन सार्वजनिक
हरि मञ्जुश्रीको लेखन तथा सङ्गीतमा तयार भएको अर्को भजन सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८२ साल मङ्सिर १० गते बुधबार आयोजित समारोहमा गायक वसन्त कुइकेलले यस भजनको सार्वजनिकीकरण गर्नुभएको हो । यो भजन शब्दयात्रा प्रकाशनद्वारा उत्पादित २२ औँ साङ्गीतिक प्रस्तुति हो । भजनलाई ‘गणेशप्रार्थना’ भनिएको छ । यस भजनमा मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन तथा रोशन मञ्जुश्री अधिकारीको सम्पादन र वसन्त कुइकेलको स्वर रहेको छ । वसन्त कुइकेलको मात्र स्वर रहेको यो पहिलो भजन हो । यसअघि उहाँले गायिका रश्मि हुमागाईंसँग ‘फूल हुँ भगवान्’ गाउनुभएको थियो ।