१६४. विकसित नेपाल सम्पन्न नेपाली

शिक्षासेवी कृष्णप्रसाद भट्टराईले शिक्षणकर्मबाट औपचारिक रूपबाट निवृत्त भइसकेपछि पनि आफ्नो राष्ट्रिय कर्तव्यको पालना गरिरहनुभएको छ । उहाँको मस्तिष्कले उहाँलाई निवृत्त जीवन बिताउन अनुमति नदिएको हुनाले उहाँ आफूभित्रको सिर्जनशीलता र बौद्धिकताको अधिकतम सदुपयोग गर्दै आफ्ना गहन चिन्तन र विचारहरूलाई अक्षरमा रूपान्तरण गर्न थाल्नुभएको छ । ‘विकसित नेपाल सम्पन्न नेपाली’ नामक प्रस्तुत पुस्तक त्यसैको प्रतिफल हो । यस पुस्तकलाई यसका लेखकले ‘नागरिक सशक्तीकरण कोषको योजना’ भन्नुभएको छ । यसमा हरेक नेपाली कसरी अर्थसम्पन्न बन्न सक्छन् र नेपाल कसरी विकसित हुन्छ भन्ने उपाय उहाँले प्रस्तुत गर्नुभएको छ । राजनीतिक दलहरूले यसलाई मार्गदर्शक सिद्धान्त मानेर कार्यान्वयन गरिदिए हाम्रो राष्ट्र विश्वको नमुना राष्ट्र बन्ने थियो र अन्य राष्ट्रले पनि यसको अनुसरण गर्ने थिए भन्ने उहाँको अपेक्षा छ ।