शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७९’ साहित्यिक पत्रकार, अन्वेषक तथा सम्पादक शेषराज सिवाकोटी (दोलखा) द्वारा सम्पादित ‘ज्ञानगुनका कुरा’ नामक साहित्यिक पत्रिकालाई समर्पण गर्ने भएको छ । साहित्यिक पत्रकारिताको क्षेत्रमा ३५ वर्षभन्दा बढी निरन्तर सेवा गर्नुका साथै लेखन, अन्वेषण र सम्पादन विधाका महान् साधकहरूका विषयमा महत्त्वपूर्ण विशेषाङ्कहरू प्रकाशन गरेर नेपाली भाषा–साहित्यको श्रीबृद्धिमा अतुल्य योगदान गरेकोमा ‘ज्ञानगुनका कुरा’ लाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । कवि तथा समाजसेवी योगेन्द्र खत्री (भोजपुर) ले व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको नाउँमा संस्थापित यो सम्मान हरेक वर्ष समर्पण गर्ने गरिन्छ । सम्मानित हुन लागेकोमा साहित्यिक पत्रकार, अन्वेषक तथा सम्पादक शेषराज सिवाकोटीद्वारा सम्पादित ‘ज्ञानगुनका कुरा’ नामक साहित्यिक पत्रिकालाई हार्दिक बधाई छ ।
डा. रामदयाल राकेशलाई समालोचना सम्मान
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा समालोचना सम्मान, २०७९’ नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक, साहित्यकार तथा अनुवादक डा. रामदयाल राकेश (सर्लाही) लाई समर्पण गर्ने भएको छ । समालोचना विधामा ‘नेपाली कविता विभिन्न आयाम’, ‘नेपाली साहित्य विभिन्न आयाम’, ‘नेपाली समालोचना विभिन्न आयाम’ जस्ता पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै नेपाली र मैथिलीभाषी साहित्यलाई हिन्दी र अङ्ग्रेजीभाषी पाठकसमक्ष प्रस्तुत गरेर विशिष्ट योगदान गर्नुभएको हुनाले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । लेखक लालानाथ सुवेदी र उहाँका भाइहरू (भोजपुर) ले आफ्ना मातापिता पद्मकला — भीमप्रसाद सुवेदीको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक, साहित्यकार तथा अनुवादक डा. रामदयाल राकेशलाई हार्दिक बधाई छ ।
शान्ता मानवीलाई महिला प्रतिभा सम्मान
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७९’ सामाजिक अभियन्ता तथा साहित्यकार शान्ता मानवी (अर्घाखाँची) लाई समर्पण गर्ने भएको छ । सामाजिक चेतना अभिबृद्धि, महिला जागरण र सशक्तीकरण तथा मानव–अधिकारका क्षेत्रमा आजीवन समर्पित रही संस्थागत नेतत्ृव र सहभागिता एवम् साहित्यिक लेखनमा पनि सक्रिय रहँदै आफ्नो व्यावहारिक कौशलका कारणबाट समेत आदर्श र अनुकरणीय महिलाका रूपमा स्थापित भई आफूले अँगालेका विधाहरूबाट राष्ट्रिय समाजमा विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ (भोजपुर) ले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा सामाजिक अभियन्ता तथा साहित्यकार शान्ता मानवीलाई हार्दिक बधाई छ ।
उद्धवप्रसाद भट्टराईलाई आध्यात्मिक पत्रकारिता सम्मान
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७९’ आध्यात्मिक लेखक तथा प्रवाचक उद्धवप्रसाद भट्टराई (काभ्रेपलान्चोक) लाई समर्पण गर्ने भएको छ । राष्ट्रिय स्तरमा प्रकाशन हुने आध्यात्मिक, विचारप्रधान तथा समाचारप्रधान विभिन्न त्रैमासिक, मासिक, साप्ताहिक र अनलाइन पत्रिकाहरूमा फरक–फरक विषयका आध्यात्मिक लेखहरू लेखी प्रकाशन गराएर तथा यु–ट्युबमा पनि सुन्न सकिने गरी विविध विषयमा सारगर्भित प्रवचनहरू गरेर सनातन धर्मसंस्कृति, आध्यात्मिक भावना, नैतिक चरित्र एवम् मौलिक परम्परासम्बन्धी विषय राष्ट्रिय समाजमा परिचित गराई पाठकलाई यथार्थ जानकारी गराउनुभएकोमा उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । समाजसेवी सुदर्शन आचार्य (काभ्रेपलान्चोक) ले नेपालका प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा आध्यात्मिक लेखक तथा प्रवाचक उद्धवप्रसाद भट्टराईलाई हार्दिक बधाई छ ।
चूडामणि रेग्मीलाई आमसञ्चार सम्मान
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मी (सङ्खुवासभा, हाल झापा) लाई समर्पण गर्ने भएको छ । लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘जूही’ र अन्य पत्रिकाका माध्यमबाट नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको एकसाथ सेवा गर्नुका साथै प्रयोग कम हुँदै गएर लोप हुन लागेका नेपाली झर्रा शब्दहरूलाई साहित्यिक कृतिहरूमा प्रयोग गरी जनमानसमा भिजाउन अथक प्रयत्न गर्नुभएको हुनाले उहाँको त्यस स्तुत्य कार्यको अभिवन्दनास्वरूप उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । लेखक सुनील सापकोटा (मोरङ) ले ‘गोर्खाली’ पत्रिकाका सम्पादक–प्रकाशक आफ्ना बुढाहजुरबुबा सुब्बा देवीप्रसाद सापकोटाको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई हार्दिक बधाई छ ।
शैलेन्द्र साकारलाई सिर्जना सम्मान
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा सिर्जना सम्मान, २०७९’ कवि शैलेन्द्र साकार (भोजपुर) लाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनबाट २०७८ सालमा प्रकाशित १७ वटा कृतिमध्ये ‘अरू सात समुद्र’ (कवितासङ्ग्रह) का लागि यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि शैलेन्द्र साकारको विशिष्टता नै सधैँ नयाँ लागिरहने कविताहरू सिर्जना गर्नु र विद्रोही भएर पनि कला पक्षप्रति अत्यन्त सचेत रहनु हो । हरेक कविताले पाठकको मस्तिष्कमा वैचारिक तरङ्ग फैलाउनु र नवीन विचारको प्रादुर्भाव गराउनु उहाँको कवित्वशक्ति हो । ‘अरू सात समुद्र’ मा यस्तै खालका लामा–छोटा ८२ वटा कविता छन् । शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये पाठकवर्गले बढी मन पराएको कृतिका कृतिकारलाई पछिल्लो वर्ष सम्मान गर्ने गरिएको छ । कवि कल्याण लम्साल (काठमाडौँ) ले व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा कवि शैलेन्द्र साकारलाई हार्दिक बधाई छ ।
मीनरत्न बज्राचार्यलाई फोटो पत्रकारिता सम्मान
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा फोटो पत्रकारिता सम्मान, २०७९’ फोटो पत्रकार मीनरत्न बज्राचार्य (काठमाडौँ) लाई समर्पण गर्ने भएको छ । लामो समयसम्म फोटो पत्रकारिता क्षेत्रमा आबद्ध रही सार्वजनिक व्यक्तित्वका तस्बिरहरू खिचेर पत्रपत्रिकामार्फत नागरिक समाजसमक्ष प्रस्तुत गर्नुका साथै २०४६ साल र त्यसपछि पनि नेपालमा घटेका ऐतिहासिक राजनीतिक घटनाक्रमको अभिलेखीकरण गर्न सघाउ पुग्ने गरी फोटो पत्रकारका रूपबाट विशेष महत्त्वका तस्बिरहरू खिची जनसमक्ष प्रस्तुत गरेर फोटो पत्रकारिता क्षेत्रलाई उचाइतर्फ लैजान विशिष्ट योगदान गर्नुभएको हुनाले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधान (काठमाडौँ) ले आफ्नी माता रत्नदेवी प्रधानको स्मृति र सम्मानमा व्यवस्था गर्नुभएको यो सम्मान हरेक वर्ष समर्पण गर्ने गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा फोटो पत्रकार मीनरत्न बज्राचार्यलाई हार्दिक बधाई छ ।
विजय चालिसेलाई बालसाहित्य सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा बालसाहित्य सम्मान, २०७९’ बालसाहित्यकार विजय चालिसे (काठमाडौँ) लाई समर्पण गर्ने भएको छ । बालबालिकाको उमेरअनुसारको मनोविज्ञानलाई सुहाउँदा खालका बालचित्रकथा, बालजीवनी, बालविज्ञान, बालनाटक, बालकथा, बालविज्ञान–उपन्यास जस्ता फरक–फरक विधामा विभिन्न बालसाहित्यिक पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै विश्वका प्रसिद्ध बालकथाहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपालीभाषी बालपाठकसमक्ष त्यस्ता प्रकाशनहरू प्रस्तुत गरेर नेपाली बालसाहित्यिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको हुनाले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । बालसाहित्यकार गोपाल पराजुली (काभ्रेपलान्चोक) ले आफ्ना मातापिता विष्णुमाया — टीकाप्रसाद पराजुलीको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा बालसाहित्यकार विजय चालिसेलाई हार्दिक बधाई छ ।
पुस २९ गते बनेपामा यज्ञप्रसाद त्रिपाठीका ५ महाकाव्य सार्वजनिक गरिने
काभ्रेपलान्चोक जिल्लाको कोसीदेखामा जन्मिई साधारण शिक्षा पाएर गाउँघरमै खेती र गृहस्थी गरेका ८० वर्षीय महाकाव्यकार यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँचवटा महाकाव्य यही पुस २९ गते शुक्रबार दिउँसो १ बजे बनेपा शब्दसाधक तीर्थमा सार्वजनिक गरिनेछन् । एकैसाथ पाँचवटा महाकाव्य प्रकाशन गराएर काभ्रेपलान्चोक जिल्लामै कीर्तिमान कायम गरेकोमा उनलाई त्यही कार्यक्रममा अभिनन्दन पनि गरिनेछ । पाँचैवटा महाकाव्य ३ सयभन्दा बढी पृष्ठका र आध्यात्मिक विषयवस्तुका छन् । पहिलो महाकाव्य ‘राधाचरणामृत’ मा १७४३ श्लोक, दोस्रो महाकाव्य ‘कन्याकुमारी’ मा २३६१ श्लोक, तेस्रो महाकाव्य ‘भगवतीचरणामृत’ मा १५३७ श्लोक, चौथो महाकाव्य ‘श्रीकृष्णचरणामृत’ मा १९७४ श्लोक र पाँचौँ महाकाव्य ‘कृपालुचरणामृत’ मा १९७१ श्लोक छन् । उक्त कार्यक्रममा उपस्थित भइदिन साहित्यप्रेमीहरूलाई अनुरोध छ ।
मनिराज जोशीलाई कविताकाव्य सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा कविताकाव्य सम्मान, २०७९’ महाकाव्यकार मनिराज जोशी (डोटी, हाल कैलाली) लाई समर्पण गर्ने भएको छ । अमरसाधक पहलमानसिंह स्वाँर, दशरथ चन्द, शैलेश्वरी, जयपृथ्वी, खप्तड, प्रकाश, मानसखण्ड र भरत गरी आठवटा महाकाव्य, सरिता, विनोदानन्दमणि, शैलेश्वरीगीता, धवली र मष्टा–बण्डाली महिमा गरी पाँचवटा खण्डकाव्य, शैलेश्वरी चालीसा, शैलेश्वरी कवचम् र बेहडाबाबा चालीसा गरी तीनवटा लघुकाव्य तथा आनन्दगीता, निर्मलमणि, ज्ञानेन्द्रमणि र भजनानन्दमणि गरी चारवटा कवितासङ्ग्रह पाठकसमक्ष प्रस्तुत गरेर नेपाली भाषाको कविता–काव्य विधामा विशिष्ट योगदान गर्नुभएको हुनाले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । कवि कविप्रसाद प्याकुरेल (काभ्रेपलान्चोक) ले व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट प्रथम खण्डकाव्यकार वसन्त शर्माको नाउँमा संस्थापित यो सम्मान हरेक वर्ष समर्पण गर्ने गरिन्छ । सम्मानित हुन लाग्नुभएकोमा महाकाव्यकार मनिराज जोशीलाई हार्दिक बधाई छ ।