बलदेव थापालाई स्तम्भकार सम्मान समर्पण गरिने
‘अमर निवास’ लाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (‘अमर निवास’, काभ्रेपलाञ्चोक) लाई समर्पण गर्ने भएको छ । कविप्रसाद गौतमद्वारा छ दशकअघि स्थापित यस संस्थाले चन्द्रमणि सिग्देलको नेतृत्वमा अखण्ड हरिनाम सङ्कीर्तन अघि बढाउनुका अतिरिक्त मानव कल्याणका लागि विभिन्न आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । उक्त संस्थालाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन नीलकण्ठेश्वर धाम संरक्षण समितिका लागि शब्दयात्रा प्रकाशनले गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डलका लागि वासुदेव काफ्लेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
प्रदीपराज वन्तलाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार प्रदीपराज वन्त (गोरखा) लाई समर्पण गर्ने भएको छ । उहाँ राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार हुनुहुन्छ । सिजन मिडियासँग आबद्ध उहाँ राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष तथा फोटोग्राफी प्रशिक्षक पनि हुनुहुन्छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी आमा रत्नदेवी प्रधानको स्मृति र सम्मानमा अग्रज फोटो पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा फोटो पत्रकार प्रदीपराज पन्तप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
रोमा न्यौपानेलाई महिला प्रतिभा सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ नृत्याङ्गना रोमा न्यौपाने (मोरङ) लाई समर्पण गर्ने भएको छ । दुर्घटनाबाट एउटा गोडा गुमाएर पनि साहससाथ नृत्य विधामा लाग्नुभएकी उहाँ एउटा मात्रै गोडाबाट नृत्य गर्ने नेपालकै प्रथम नृत्याङ्गना र शारीरिक विकलाङ्ग व्यक्तिहरूका लागि प्रेरणास्रोत हुनुहुन्छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृति र सम्मानमा साहित्यकार तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा रोमा न्यौपानेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
‘गोलसिमल’ लाई साहित्यिक पत्रिका सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’ ‘गोलसिमल’ नामक साहित्यिक मासिक पत्रिका (सर्लाही) लाई समर्पण गर्ने भएको छ । विगत एक्काइस वर्षदेखि लालबन्दीबाट प्रकाशन भइरहेको यस पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक हाल अच्युतप्रसाद अधिकारी हुनुहुन्छ । ‘गोलसिमल’ लाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी आमाको स्मृति र सम्मानमा कवि तथा समाजसेवी योगेन्द्र खत्रीले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा ‘गोलसिमल’ का सम्पादक–प्रकाशक अच्युतप्रसाद अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ लाई आध्यात्मिक पत्रकारिता सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ आध्यात्मिक पत्रकार तथा लेखक अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई समर्पण गर्ने भएको छ । विभिन्न पत्रिकाहरूमा आध्यात्मिक स्तम्भलेखन गर्नुका साथै टेलिभिजनमा आध्यात्मिक कार्यक्रम पनि प्रस्तुत गर्ने गर्नुभएका उहाँ आध्यात्मिक पुस्तकहरूका लेखक तथा प्रवाचक पनि हुनुहुन्छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन समाजसेवी सुदर्शन आचार्यले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा अच्युतप्रसाद पौडेल ‘चिन्तन’ प्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
नीरकला शर्मा अधिकारीलाई दानशीलता सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ नीरकला शर्मा अधिकारी (चितवन) लाई समर्पण गर्ने भएको छ । आफूले आर्जन गरेको सबै सम्पत्ति समर्पण गरेर दुई दशकअघि चितवनमा ‘असहाय बृद्ध कल्याण समाज’ खोल्नुभएकी उहाँले शारीरिक रूपमा अशक्त भएर पनि र आफैँ ९१ वर्षकी बृद्धा भएर पनि १३ जना बृद्धबृद्धाको पालनपोषण र सेवा गरिरहनुभएको छ र समाजसेवाका क्षेत्रमा अरूका लागि प्रेरणा बन्नुभएको छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन समाजसेवी बेलप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा नीरकला शर्मा अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
हरि मञ्जुश्रीलाई अर्को सम्मान
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्रीलाई यही भदौ २२ गते शनिबार काठमाडौँ कमलपोखरीको सिटी सेन्टरमा आयोजित कार्यक्रममा सम्मान गरियो । विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानको गीत ‘बग्यो हावा सरर’ लाई सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँलाई सम्मानपत्र र विभिन्न उपहारहरू प्रदान गरिएको हो । उहाँलाई वर्ल्ड बुक अफ रेकर्डस् लन्डन नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम, नेपाल स्मार्ट सर्भिस इन लगायतका संस्थाहरूले सम्मान गरेका थिए । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।
शब्दसारथि हरि मञ्जुश्री सम्मानित
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री आज हरितालिका तीजका दिन ‘मध्यपूर्व सम्मान, २०८१’ बाट सम्मानित हुनुभएको छ । उहाँलाई सामुदायिक रेडियो मध्यपूर्व एफएमले सम्मान गरेको हो । उहाँमा समर्पण गरिएको सम्मानपत्रमा साहित्य क्षेत्रका माध्यमबाट समाज–परिवर्तनमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बेहोरा उल्लेख छ ।
टुङ्गो लगाइदिएकोमा आभार
शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गर्ने सात विधाका सम्मानका लागि विभिन्न व्यक्तिबाट प्राप्त भएका विभिन्न व्यक्ति र संस्थाको नाउँ र योगदानका विवरणहरू अध्ययन गरी सम्मान समर्पण गर्नुपर्ने व्यक्ति र संस्थाको नाउँ शारदाप्रसाद शर्मा, सकुल थापा र पुण्यवती घलेले बैठक बसी टुङ्गो लगाएर नामावली उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि उहाँहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।