Home Blog Page 206

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शिक्षा सम्मानबाट सम्मानित डा. सीताराम अधिकारी र डा. भद्रमान तुलाधरले ‘प्राज्ञपदक’, शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समितिमा रहनुभएका नारायणभक्त अधिकारीले ‘रजतपदक’, चयन समितिकै डा. सञ्जयनाथ खनाल, डा. कन्हैया झा, डा. मनीष पोखरेल, सुश्री एक्कुमाया पुन, ब्रिजेश अधिकारी, कुमारप्रसाद बराल, शेखरप्रसाद ढुङ्गाना, भरतकुमार श्रेष्ठ, नभेन्द्र पौडेल, महेन्द्रकुमार निरौला, बङ्गविजय शर्मा र शब्दयात्रा पाठक समाजका दामोदर घिमिरेले ‘सेवापदक’ काठमाडौँ विश्वविद्यालयबाट प्राप्त गर्नुभएकोमा उहाँहरू सबैलाई हार्दिक बधाई छ ।

शब्दयात्रा प्रकाशन परिवार

‘शब्दसंवाद’ मा पदमनाथ ढुङ्गाना

0

नेपालको एक मात्र नैमिषारण्य क्षेत्र काभ्रेको गोसाइँस्थान नैमिषारण्य क्षेत्र र काभ्रे जिल्लाको एक मात्र संस्कृत गुरुकुल नैमिषारण्य संस्कृत गुरुकुलका विषयमा जानकारी दिन शब्दयात्रा प्रकाशनले प्रकारान्तरले दुइटा तर मूल रूपमा एउटै संस्था ‘नैमिषारण्य’ को स्थापनाकालदेखि नै सक्रिय रहनुभएका समाजसेवी पदमनाथ ढुङ्गानालाई आग्रह गरेको थियो । उहाँ ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका संयोजक पनि हुनुभएकाले उहाँलाई परेको अप्ठ्यारो बुझ्न सकिन्थ्यो । तर संस्थागत आग्रह अस्वीकार गर्न नसकेर उहाँ गत २०७३ सालको अन्तिम मङ्गलबार चैत २९ गते ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दसौँ शृङ्खलामा प्रस्तुत हुनुभयो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको उक्त कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशन लेखक समाजका संयोजक ओतबहादुर खड्का र कार्यक्रम सञ्चालक संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, समाजसेवी तथा साहित्यकार सिद्धिबहादुर कर्माचार्य, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा प्रकाशन पाठक समाजका संयोजक दामोदर घिमिरे, गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका उपाध्यक्ष कृष्णमणि कुइँकेल, लेखक पुष्पदास स्याउला आदिको समुपस्थिति रहेको थियो ।

दुईवटा सालिक बनिसके

0

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाको बनेपामा स्थापना गर्ने चारजना वाङ्मयसेवीहरूका सालिकमध्ये दुईवटा सालिक शब्दयात्रा प्रकाशनमा प्राप्त भएका छन् । ढुङ्गाबाट निर्मित अद्र्धकदका ती सालिकहरू देवीप्रसाद सापकोटा र कृष्णलाल अधिकारीका हुन् ।
आगामी जेठ महिनाको दोस्रो साताभित्र षडानन्द अधिकारी र मेलवादेवी गुरुङका सालिकहरू पनि निर्माण गरिसकिनेछ । चारैवटा सालिकको निर्माणकार्य सकिएपछि सालिक स्थापना गर्ने कार्य अघि बढाइने भएको छ ।

शब्दयात्राको नयाँ सम्मान

0

शब्दयात्रा प्रकाशनले आगामी जेठ महिनादेखि अन्य सम्मानका साथमा ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ समेत समर्पण गर्ने भएको छ । त्यस सम्मानका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न अनुरोध पनि गरिसकिएको छ ।
नेपाली राष्ट्रियताको भावना जगाउँदै राष्ट्रिय गौरव अभिवृद्धि गर्ने कार्यमा योगदान दिने कुनै पनि विधा र क्षेत्रको व्यक्तिलाई हरेक वर्ष समर्पण गरिने गरी उक्त सम्मानको स्थापना गरिएको हो ।

सालिकका लागि पच्चीस हजार

0

काभ्रे जिल्लामा चारजना वाङ्मयसेवीहरूको सालिक निर्माण र स्थापना गर्ने कार्यका लागि वैज्ञानिक, अनुसन्धाता, लेखक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. सीताराम अधिकारीले शब्दयात्रा प्रकाशनलाई सहयोगस्वरूप पच्चीस हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
अन्य विभिन्न विद्वान्हरूले पनि त्यस कार्यका लागि आर्थिक सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।

‘शब्दसंवाद’ मा फणीन्द्रराज अधिकारी

0

समाजसेवी, शिक्षासेवी तथा अध्यात्मविद् फणीन्द्रराज अधिकारीले गोरस, भोजन र मिष्टभाषणका विषयमा आध्यात्मिक एवं व्यावहारिक प्रवचन गर्दै समाजले चारित्रिक सबलताको मार्गमा हिँड्नुपर्ने बताउनुभएको छ । उहाँको सारगर्भित प्रवचनको मूल अंश यसै अङ्कको ‘शब्दसंवादभूमि’ मा प्रस्तुत गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित नियमित साप्ताहिक कार्यक्रम ‘शब्दसंवाद’ को नवौँ शृङ्खलामा गत २०७३ चैत २२ गते मङ्गलबार उहाँले प्रवचन गर्नुभएको थियो ।
शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काको सभापतित्व, ‘शब्दसंवाद’ का संयोजक पदमनाथ ढुङ्गानाको संयोजन तथा महाप्रबन्धक शारदाप्रसाद शर्माको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्का, समाजसेवी सिद्धिबहादुर कर्माचार्य, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का, समाजसेवी भवानी जोशी, शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे, तीर्थराज अधिकारी, माधव तिमल्सिना आदिको उपस्थिति रहेको थियो ।

प्रस्ताव आह्वान

0

शब्दयात्रा प्रकाशनद्वारा निर्मित साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ रेडियो एबीसी ८९.८ मेगाहर्जबाट हरेक बुधबार बेलुका ७ देखि ७ः३० बजेसम्म प्रसारण हुने गरेको छ । त्यस कार्यक्रमको लोकप्रियता बढ्दै गएको हुनाले त्यसमध्येको केही समय कुनै सन्देश वा विज्ञापनका लागि छुट्याउनुपर्ने माग पनि बढ्दै गएको छ । त्यही मागलाई सम्बोधन गर्नका लागि त्यस कार्यक्रममा व्यापारिक सन्देश वा विज्ञापनहरू प्रसारण गर्न एक कार्यक्रममा बढीमा ५ मिनेटसम्म समय उपलब्ध गराउने निर्णय शब्दयात्रा प्रकाशनले गरेको छ । तसर्थ ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमबाट सन्देश वा विज्ञापन प्रसारण गरी व्यापार–व्यवसायको प्रवद्र्धन गर्न इच्छुक व्यक्ति वा संस्थाहरूले आफ्नो प्रस्तावसहित यही चैत महिनाभित्र शब्दयात्रा प्रकाशनको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

सालिकका लागि सहयोग

0

शब्दयात्रा प्रकाशनले बनेपामा सालिकको स्थापना गर्न चलाएको अभियानलाई सफल पार्ने सहयोगीहरूको सङ्ख्या बिस्तारै थपिँदै गएको छ ।
यसै क्रममा काठमाडौँ बानेश्वरनिवासी कुमारप्रसाद बरालले पाँच हजार एक सय रुपियाँ, काभ्रे बनेपानिवासी गणेशदास उलकले सात हजार सात सय सतहत्तर रुपियाँ र काठमाडौँ बानेश्वरनिवासी श्रीमती इन्दिरा जङ्गमले एघार हजार एक सय एघार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

‘शब्दसंवाद’ मा सकुल थापा

0

शब्दयात्रा प्रकाशनबाट आफ्नै सभाकक्षमा हरेक मङ्गलबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म गरिने नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रमको आठौँ शृङ्लामा शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य तथा ‘हाम्रो देश त्यस्तो नहोस्’ कृतिका कृतिकार सकुल थापा प्रस्तुत हुनुभयो । गत चैत १५ गते सम्पन्न त्यस कार्यक्रममा उहाँले आफू सेनामा जागिरे भएका बखत शान्तिस्थापनार्थ सोमालिया जान खटाइएको, त्यहाँ रहँदा राजनीतिक द्वन्द्वका कारणले जनताले बेहोर्नुपरेको दुःख देखेको प्रसङ्ग ल्याएर सोमालियाली जनताको दर्दनाक अवस्थाको विवरण प्रस्तुत गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षता, पदमनाथ ढुङ्गानाको संयोजन तथा शारदाप्रसाद शर्माको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा मच्छेश्वर सापकोटा, ओतबहादुर खड्का, तुतुकाजी प्रणामी श्रेष्ठ, दण्डपाणि अधिकारी, कविता न्यौपाने, शङ्कर कार्की, सिद्धिबहादुर कर्माचार्य, जगन्नाथ गिरी, दामोदर घिमिरे, पुण्यप्रसाद निरौला, शिव बन्जारा, फणीन्द्रराज अधिकारी, सुमन खड्का, दीपक तिमल्सिना, गोविन्दबहादुर थापा, कमल कुइँकेल आदिको उपस्थिति रहेको थियो ।

आफ्नो सुनाऔं, अरूको सुनौं

0

आफ्नो योगदान राष्ट्रमा पु¥याउन र अरूको योगदानबाट प्रेरणा लिन हरेक मङ्गलबार अपराह्न ४ बजे १ घन्टाका लागि शब्दयात्रा प्रकाशनको सभाकक्षमा पुगौँ । समाजको हितमा केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन शब्दयात्रा प्रकाशनले प्रारम्भ गरेको साप्ताहिक कार्यक्रम ‘शब्दसंवाद’ मा सहभागी बनौँ । हरेकपटक नयाँ जानकारी पाइनेछ । आफूले सुनाएका कुरा पहिले पत्रिकामा र पछि पुस्तकमा छापिनेछन् । आफ्नो सुनाऔँ, अरूको सुनौँ ।

शब्दसंवाद (साप्ताहिक कार्यक्रम)
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे