शब्दयात्रा नारी स्रष्टा समाजमा सक्रिय व्यक्तित्व चण्डिका वाग्ले राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समितिको कार्यालयबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई !
विचारसङ्ग्रह छापियो
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘सेवा नेपाल, २०७४’ को ‘मन्तव्य तथा विचार विशेषाङ्क’ भोलि साउन ११ गते बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा सार्वजनिक हुँदैछ ।
अग्रज साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा डा. मृगेन्द्रराज पाण्डे र कुलमान घिसिङलाई सम्मान गरिने भएको छ ।
शब्दयात्रालाई कप
शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक तथा समाजसेवी पुण्यवती घलेले शब्दयात्रा प्रकाशनलाई अढाई दर्जन कप सहयोगस्वरूप उपलब्ध गराउनुभएको छ ।
यस प्रकारको सहयोगका लागि शब्दयात्रा प्रकाशनले उहाँप्रति आभार व्यक्त गरेको छ ।
चयन समितिमा मनोनयन
शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मानित गर्ने व्यक्तिहरूको चयन गर्नका लागि रामहरि न्यौपानेको संयोजकत्वमा पूर्णबहादुर कर्माचार्य, अम्बिका धिताल र सुनील सापकोटा सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनाएको छ ।
उक्त समितिले शब्दयात्रा प्रकाशनमा सम्मानका लागि प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त व्यक्तिको चयन गरी सम्मानका लागि सिफारिस गर्नेछ र शब्दयात्रा प्रकाशनले तिनै व्यक्तिहरूलाई सम्मान गर्नेछ ।
‘शब्दसंवाद’ मा सहदीप पलाञ्चोके
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौबीसौँ शृङ्खला गत २०७४ साउन ६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख वक्ता सहदीप पलाञ्चोके, सभापति सोमकाजी शाक्य र सञ्चालक पदमनाथ ढुङ्गाना हुनुहुन्थ्यो । सहदीप पलाञ्चोकेबाट अभिव्यक्त विषयहरू पदमनाथ ढुङ्गानाको लेखनमा ‘नेपालभूमि साप्ताहिक’ को ‘शब्दसंवादभूमि’ मा प्रकाशित छन् ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले धनेश्वरमा गाइने भजनहरू रणजीत मल्ल, रणबहादुर शाह आदिका पनि रहेका तर तिनको सङ्कलन गरी प्रकाशन हुन नसक्ता लोप हुन लागेको हुनाले भजनियाहरूलाई प्राप्त लालमोहरहरूसमेत समावेश गराई तिनको प्रकाशन गर्न सके ऐतिहासिक महàवको कार्य हुने थियो भन्नुभयो । कार्यक्रममा शिव बन्जारा, श्री शर्मा मूर्ख, ओतबहादुर खड्का, पूर्णबहादुर कार्की, पुण्यवती घले, शकुन्तला बन्जारा, जगन्नाथ गिरी, मच्छेश्वर सापकोटा, हरिप्रसाद चौलागाईं, सच्चिदानन्द पलाञ्चोके, तुतुकाजी प्रणामी श्रेष्ठ, सूर्यभक्त कर्माचार्य, शेरबहादुर थापा, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माका अनुसार ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पच्चीसौँ शृङ्खलामा काभ्रे जिल्लाका महाकाव्यकार कविप्रसाद प्याकु¥याल आगामी साउन १३ गते शुक्रबार प्रमुख वक्ताका रूपमा उपस्थित हुनुहुनेछ ।
‘रामानन्द गिरि सरल तर महान्’
पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा अद्वैत दर्शनका व्याख्याता डा. स्वामी रामानन्द गिरि विदेह हुनुभएको चौधौँ दिनको पुण्यतिथिको अवसर पारी काभ्रे बनेपास्थित हंसदा योगाश्रमको आयोजनामा गत २०७४ साउन ६ गते शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरियो ।
श्रद्धाञ्जली सभामा प्रमुख अतिथिका रूपबाट काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले जटिल विषयलाई पनि सरल तरिकाले बुझाउन सक्ने स्वामीजीमा सरलताभित्र महानता रहेको कुरा बताउनुभएको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कविताबाट र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय, स्वामी सत्यानन्द, द्वारिकामानसिंह प्रधान, सानुभाइ विष्ट र गणेशनारायण लिबीले मन्तव्यबाट शब्दश्रद्धा व्यक्त गर्नुभएको उक्त श्रद्धाञ्जली सभाको अध्यक्षता ऋषिकुमार स्वामी पञ्चशीलले र सञ्चालन यादव थापाले गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा डा. शालिग्राम पोखरेल, आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई, माया बादेलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
शब्दयात्राले ‘अभियान’ निकाल्दै
शब्दयात्रा प्रकाशनको ८६ औँ प्रकाशनपुष्पका रूपमा ‘अभियान’ नामक नाट्यकृति प्रकाशित हुन लागेको छ । युवा साहित्यकर्मी टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उक्त पुस्तक कृतिकारको पाँचौँ कृति हो ।
विगत ४ वर्षअघिदेखि हरेक वर्ष टेकलाल भारती ‘आदर्श’ ले लेखेको एउटा पुस्तक शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिँदै आएको छ ।
सम्पादकीय : जे बोल्छौं त्यो गरौं
हामीमध्ये अधिकांश व्यक्ति यस्ता छौँ, जो आफूले बोलेको कुरा पु¥याउँदैनौँ र आफैँ आफ्नो प्रतिष्ठा गिराउँछौँ । शिष्टता, सभ्यता, चारित्रिक सबलता, अनुशासन आदि मानवीय गुणहरूको मापन गर्ने एउटा माध्यम मान्छेको बाली पनि हो । गर्छु भन्यो गरेन, आउँछु भन्यो आएन, जान्छु भन्यो गएन, लेख्छु भन्यो लेखेन, दिन्छु भन्यो दिएन, यसप्रकार एकथरि बोल्ने अर्काेथरि गर्ने मान्छेको चरित्र राम्रो रहेनछ भन्ने बुझिन्छ । ‘सम्पत्ति गुम्यो भने थोरै गुम्यो, स्वास्थ्य बिग्रियो भने अलि बढी गुम्यो, चरित्र गुम्यो भने सबैथोक गुम्यो’ भन्ने त भनाइ नै छ । ‘त्यो त सानो कुरा हो नि’ भनेर हामी आफूले दिएको वचनबद्धता बिर्सन्छौँ । तर त्यही कुरा अर्काे पक्षका लागि ठूलो भइरहेको हुन्छ । अनि अरूका दृष्टिमा हामी ठीक चरित्र नभएको मान्छेमा दरिन्छौँ । खराब कुरा छिटो फैलिन्छ । चरित्रहीनताको परिचय पनि फैलिँदै जान्छ र मान्छे विश्वास गर्न योग्य बन्दैन ।
हाम्रो समाज र देशलाई बिगार्नमा जे पायो त्यही बोल्ने, बोलेको कुरा पूरा नगर्ने, विचारै नगरी बोल्ने, पहिले बोल्ने अनि पछि बोलेकै होइन भन्ने, आफ्नो बोलीलाई हलुका रूपमा लिने मान्छेहरूको पनि योगदान छ । जथाभावी धेरै कुरा बोलेर राम्रो कामचाहिँ एउटै पनि नगर्ने मान्छेभन्दा राम्रो काम गर्न नसके पनि थोरै बोल्ने मान्छे वेश हुन्छ । राम्रो काम गर्न थोरै बोल्ने मान्छे बन्नु असाध्यै राम्रो हो । ‘बोलेको कुरा पु¥याउन थालेपछि थोरै बोल्न करै लाग्छ’ भनिएको छ । कुरा गर्ने काम नगर्ने प्रवृत्तिले नै हामीलाई मान्छेभन्दा तल्लो कोटिमा झार्छ । त्यस्तो मान्छे कसैको विश्वासपात्र हुँदैन । सम्पूर्ण नकारात्मक तàवहरू त्यस्तै मान्छेमा थुप्रिएका हुन्छन् ।
हामी जे बोल्छौँ त्यो अवश्य गरौँ र जे गर्छौं त्यो मात्र बोलौँ । अनि मात्रै हामी परिवार, समाज र देशका लागि उपयुक्त साँच्चैका मानिस बन्नेछौँ र सबैले हाम्रो इज्जत गर्नेछन् ।
पहिलो ज्योतिषकाव्य शब्दयात्राबाट
काभ्रे जिल्लाका प्रथम महाकाव्यकार श्रीधर (कविप्रसाद) प्याकु¥यालको एघारौँ काव्यकृतिका रूपमा शब्दयात्रा प्रकाशनबाट ‘मञ्जुश्री’ ज्योतिषकाव्य प्रकाशन हुने भएको छ । उक्त काव्यलाई शब्दयात्रा प्रकाशनबाट आगामी भदौ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक गरिने कार्यक्रम छ ।
काव्यकार श्रीधर प्याकु¥यालका अनुसार कर्कट लग्न लिई वृष राशीमा जन्मिएका व्यक्तिहरूको दशा–अन्तर्दशाको विवरणसहित ग्रहफल र त्यसको उपचारका विषयमा उल्लेख गरिएको यो काव्य नेपाली भाषामा ज्योतिषशास्त्रमा आधारित रहेर लेखिएको यस प्रकारको पहिलो काव्य हो । यो ज्योतिषकाव्य शब्दयात्रा प्रकाशनको ८५ औँ प्रकाशनपुष्पका रूपमा रहेको छ ।
शब्दयात्राबाट ‘वेदान्तशिरोमणि’ प्रकाशित
महेश संस्कृत गुरुकुलका संस्थापक तथा अद्वैत दर्शनका व्याख्याता डा. स्वामी रामानन्द गिरिका विषयमा आध्यात्मिक लेखक तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित ‘वेदान्तशिरोमणि ः एक संस्मरण’ नामक पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको छ ।
‘नेपालभूमि साप्ताहिक’ का नियमित स्तम्भकार मुकुन्दप्रसाद उपाध्यायले आफ्नो ‘प्रलेखन’ स्तम्भमा प्रकाशन गराउनुभएका केही लेखहरू, अन्यत्र प्रकाशनार्थ दिइएका केही लेखहरू र स्वामीज्यू ब्रह्मलीन हुनुभएपछि लेखिएको एउटा लेखसहित अन्य सामग्रीहरू सङ्कलित उक्त पुस्तक स्वामीज्यूको १६ औँ दिनको पुण्यतिथिमा आगामी साउन ८ गते आइतबार देवघाटमा सार्वजनिक गरी वितरण गरिने कार्यक्रम रहेको छ ।
‘वेदान्तशिरोमणि ः एक अध्ययन’ मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित आठौँ र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित चौरासीऔँ पुस्तक हो ।