हामीमध्ये अधिकांश व्यक्ति यस्ता छौँ, जो आफूले बोलेको कुरा पु¥याउँदैनौँ र आफैँ आफ्नो प्रतिष्ठा गिराउँछौँ । शिष्टता, सभ्यता, चारित्रिक सबलता, अनुशासन आदि मानवीय गुणहरूको मापन गर्ने एउटा माध्यम मान्छेको बाली पनि हो । गर्छु भन्यो गरेन, आउँछु भन्यो आएन, जान्छु भन्यो गएन, लेख्छु भन्यो लेखेन, दिन्छु भन्यो दिएन, यसप्रकार एकथरि बोल्ने अर्काेथरि गर्ने मान्छेको चरित्र राम्रो रहेनछ भन्ने बुझिन्छ । ‘सम्पत्ति गुम्यो भने थोरै गुम्यो, स्वास्थ्य बिग्रियो भने अलि बढी गुम्यो, चरित्र गुम्यो भने सबैथोक गुम्यो’ भन्ने त भनाइ नै छ । ‘त्यो त सानो कुरा हो नि’ भनेर हामी आफूले दिएको वचनबद्धता बिर्सन्छौँ । तर त्यही कुरा अर्काे पक्षका लागि ठूलो भइरहेको हुन्छ । अनि अरूका दृष्टिमा हामी ठीक चरित्र नभएको मान्छेमा दरिन्छौँ । खराब कुरा छिटो फैलिन्छ । चरित्रहीनताको परिचय पनि फैलिँदै जान्छ र मान्छे विश्वास गर्न योग्य बन्दैन ।
हाम्रो समाज र देशलाई बिगार्नमा जे पायो त्यही बोल्ने, बोलेको कुरा पूरा नगर्ने, विचारै नगरी बोल्ने, पहिले बोल्ने अनि पछि बोलेकै होइन भन्ने, आफ्नो बोलीलाई हलुका रूपमा लिने मान्छेहरूको पनि योगदान छ । जथाभावी धेरै कुरा बोलेर राम्रो कामचाहिँ एउटै पनि नगर्ने मान्छेभन्दा राम्रो काम गर्न नसके पनि थोरै बोल्ने मान्छे वेश हुन्छ । राम्रो काम गर्न थोरै बोल्ने मान्छे बन्नु असाध्यै राम्रो हो । ‘बोलेको कुरा पु¥याउन थालेपछि थोरै बोल्न करै लाग्छ’ भनिएको छ । कुरा गर्ने काम नगर्ने प्रवृत्तिले नै हामीलाई मान्छेभन्दा तल्लो कोटिमा झार्छ । त्यस्तो मान्छे कसैको विश्वासपात्र हुँदैन । सम्पूर्ण नकारात्मक तàवहरू त्यस्तै मान्छेमा थुप्रिएका हुन्छन् ।
हामी जे बोल्छौँ त्यो अवश्य गरौँ र जे गर्छौं त्यो मात्र बोलौँ । अनि मात्रै हामी परिवार, समाज र देशका लागि उपयुक्त साँच्चैका मानिस बन्नेछौँ र सबैले हाम्रो इज्जत गर्नेछन् ।