शब्दयात्रा प्रकाशनले ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादन र देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ प्रकाशित गरेको छ । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ९४ औँ पुस्तक हो ।
देवीप्रसाद सापकोटा राष्ट्रवादकोे पक्षमा राणाहरूसँग मत बझाउने राष्ट्रवादी, लोकतन्त्रका लागि आवाज उठाउने पहिलो पत्रकार, काठमाडौँबाहिरबाट पहिलो राजनीतिक सङ्गठन खोल्ने राजनीतिज्ञ र लघुकाव्यकारका रूपमा चिनिन्छन् ।
स्मरणीय छ — शब्दयात्रा प्रकाशनले देवीप्रसाद सापकोटाको नाउँमा आमसञ्चार सम्मानको स्थापना गरी २०६८ सालदेखि हरेक वर्ष समर्पण गर्दै आएको छ भने देवीप्रसाद सापकोटाको सालिक बनेपामा स्थापना गर्न लागेको छ ।
‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ प्रकाशित
‘शैक्षिक शिरोभूषण’ प्रकाशन गरिने
शब्दयात्रा प्रकाशनका अभिभावक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको जीवनीलाई आधारभूमि बनाएर कवि श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ शब्दयात्रा प्रकाशनले प्रकाशन गर्ने भएको छ ।
श्रीधर प्याकु¥यालले यसअघि पनि ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य लेख्नुभएको थियो र उक्त लघुकाव्य शब्दयात्रा प्रकाशनबाट नै प्रकाशित भएको थियो ।
शब्दयात्रा लेखक समाजमा मनोनयन
शब्दयात्रा प्रकाशनले शब्दयात्रा लेखक समाजको रिक्त रहेका दुई सदस्यमा केदारनाथ तिमल्सिना र रोजनाथ लुइँटेललाई मनोनयन गरेको छ ।
लेखक समाजका सदस्यद्वय भरतराज महत र रामप्रसाद शर्मा तिमल्सिनाको निधन भएपछि दुई सदस्य रिक्त रहेका थिए ।
शब्दयात्राबाट सम्मानस्तम्भ निर्माण
शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको सम्मानस्वरूप होटल हिमालयन होराइजनको परिसरमा ‘बेलप्रसाद श्रेष्ठ सम्मानस्तम्भ’ को निर्माण गरेको छ ।
गत २०७४ कार्तिक २९ गते बुधबार शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उक्त स्तम्भको उद्घाटन गर्नुभयो ।
‘शब्दसंवाद’ मा भोजराज तिमल्सिना
शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सैँतीसौँ शृङ्खलामा मानव–अधिकारकर्मी भोजराज तिमल्सिना प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले मानव–अधिकारका विषयमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाद्वारा सञ्चालित उक्त कार्यक्रम फणीन्द्रराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा श्री शर्मा मूर्ख, खाइबा लामा, कृष्णमणि कुइँकेल, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
सालिकका लागि ५० हजार
शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेको सालिकका लागि देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानका तर्फबाट ५० हजार रुपियाँ भुक्तानी गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले विभिन्न व्यक्तिहरूबाट अर्थसङ्कलन गरी सालिक निर्मातालाई उक्त रकम भुक्तानी गरिदिनुभएको हो ।
तीन पुस्तक सार्वजनिक गरिने
शब्दयात्रा प्रकाशनले २०७४ मङ्सिर १२ गते आयोजना गर्ने समारोहमा तीनवटा पुस्तकलाई सार्वजनिक गर्ने भएको छ ।
ती पुस्तकहरूमा लक्ष्मीभक्त अधिकारीद्वारा लिखित तथा दुर्गाप्रसाद अधिकारीद्वारा सम्पादित ‘लक्ष्मीभक्तको कविता’, द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ द्वारा लिखित ‘केही दृष्टि केहीदृष्टिकोण’ निबन्धसङ्ग्रह र श्रीधर प्याकु¥यालद्वारा लिखित ‘शैक्षिक शिरोभूषण’ लघुकाव्य,रहेका छन् । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् ।
यी कृतिसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कृतिको सङ्ख्या ९३ पुगेको छ ।
सम्मान कार्यक्रम मङ्सिर १२ गते
शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम यस वर्ष मङ्सिर १२ गते मङ्गलबार काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा गर्ने भएको छ । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठले प्रमुख आतिथ्य ग्रहण गर्नुहुनेछ ।
उक्त कार्यक्रममा विभिन्न सम्मानहरू समर्पण गरिनुका साथै विभिन्न पुस्तकहरू सार्वजनिक गरिनेछन् ।
मङ्सिर १२ गते प्रज्ञाप्रतिष्ठानमा
आगामी मङ्सिर १२ गते मङ्गलबार दिउँसो ठीक १ बजे काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा पुगौं । त्यस दिन गीतकार किरण खरेल, गायिका नूपुर भट्टाचार्य, समालोचक डा. दयाराम श्रेष्ठ सम्भव, बालसाहित्यकार कल्पना प्रधान र अन्वेषक प्रा. चेतोनाथ गौतमलाई सम्मान गरिनेछ । उक्त कार्यक्रममा द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, लक्ष्मीभक्त अधिकारी र श्रीधर प्याकु¥यालका गरी तीनवटा पुस्तकलाई सार्वजनिक गरी वितरण गरिनेछ ।
शब्दयात्राबाट पाँचजना सम्मानित हुने
शब्दयात्रा प्रकाशनले मङ्सिर महिनामा समर्पण गर्ने सम्मानहरूको निर्णय गरेको छ । त्यसअनुसार शब्दयात्रा कविता–काव्य सम्मानबाट कवि तथा गीतकार किरण खरेल (काभ्रे) लाई र शब्दयात्रा महिला–प्रतिभा सम्मानबाट गायिका नूपुर भट्टाचार्य (ललितपुर) लाई सम्मान गरिने भएको छ ।
यसै गरी शब्दयात्रा समालोचना सम्मानबाट समालोचक प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ (धनकुटा) लाई, शब्दयात्रा बालसाहित्य सम्मानबाट बालसाहित्यकार कल्पना प्रधान (भोजपुर) लाई र शब्दयात्रा अनुसन्धान सम्मानबाट प्रा. चेतोनाथ गौतम (भोजपुर) लाई समर्पण गरिने भएको छ ।
गत २०७४ कार्तिक २७ गते सोमबार काठमाडौँमा बसेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । चयन समितिमा संयोजक रामगोपाल वरुण तथा सदस्यहरू श्याम अधिकारी, नवीना श्रेष्ठ, कृष्णहरि मैनाली र केशव अर्याल हुनुहुन्छ ।
गत वर्ष उल्लिखित सम्मानहरूबाट रमेश खकुरेल, लक्ष्मी गिरी, डा. गार्गी शर्मा, देवीप्रसाद वनवासी र डा. त्रिरत्न मानन्धर सम्मानित हुनुभएको थियो ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन कविप्रसाद प्याकु¥याल, द्रोणप्रसाद श्रेष्ठ, हरिगोपाल प्रधान, गोपाल पराजुली र राजेन्द्र विरहीले गर्नुभएको छ ।

