शब्दयात्रा प्रकाशनबाट नियमित रूपमा सञ्चालन भइरहेको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छपन्नौँ शृङ्खला गत २०७५ साउन २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता लेखक, स्वास्थ्यसेवी तथा उद्यमी प्रकाशबहादुर कायस्थ हुनुहुन्थ्यो । कवि केदारनाथ तिमल्सिनाको सभापतित्व र शिक्षासेवी फणीन्द्रराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गर्नुभएको थियो भने प्रमुख वक्ताको परिचय शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको थियो ।
उक्त कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शिव बन्जारा, उद्धवप्रसाद नेपाल, रोशन मञ्जुश्री अधिकारी, सहदीप पलान्चोके, दामोदर घिमिरे, रोजनाथ लुइँटेल, माधवप्रसाद तिवारी आदिको समुपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख वक्ता श्री कायस्थले वर्तमान अवस्थामा शरीरलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।