शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९६ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७६ साल भदौ १३ गते शुक्रबार सम्पन्न भयो । मोतीराम भट्टमा शब्दश्रद्धा अर्पण गरिएको उक्त कार्यक्रममा नेपालको साहित्यिक पत्रकारिताका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले नेपालको साहित्यिक पत्रकारिताको इतिहासका बारेमा सङ्क्षिप्त जानकारी गराउँदै पत्रकारिताको धर्म र मर्मअनुरूप नेपालका साहित्यिक पत्रिकाहरूको सम्पादन तथा प्रकाशन हुन सकेको छ कि छैन भन्ने विषयमा चर्चा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यसपछि त्यस विषयमा डा. इन्दुल केसी, मच्छेश्वर सापकोटा, पदम दाहाल, सुनील सापकोटा, चूडाप्रसाद चौलागाईं, पूर्णबहादुर कार्की, पुण्यवती घले, केदारनाथ तिमल्सिना र रमेश अधिकारीले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सङ्गीता केसी, लालप्रसाद पौड्याल आदिको पनि उपस्थिति रहेको थियो ।
‘शब्दसंवाद’ मा साहित्यिक पत्रकारिताको चर्चा
शब्दयात्रालाई द्रोणप्रसादबाट पुस्तक
लेखक, सम्पादक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २ सय थान पुस्तक प्रदान गर्नुभएको छ । उहाँले ती पुस्तकहरू पुस्तकालयका लागि सङ्गीता केसीमार्फत हस्तान्तरण गर्नुभएको हो ।
द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिनुभएको छ भने सालिक स्थापनाका लागि पनि सहयोग गर्नुभएको छ ।
‘शब्दसंवाद’ मा फेरि शब्दयात्रा
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९४ औँ शृङ्खलामा पनि अघिल्लो शृङ्खलामा झैँ शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूका विषयमा चर्चा–परिचर्चा गरियो । मूलतः शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका दुईजना पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरेको कदरपत्रका विषयमा मुख्य वक्ताका रूपमा प्रकाशबहादुर कायस्थले जानकारी गराउनुभएको थियो अन्य विषयहरूमा पनि चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा कवि पदम दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने कवि केदारनाथ तिमल्सिना सभापति हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ज्यो. पं. रमेश अधिकारी, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, स्तम्भकार सहदीप पलान्चोके, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी आदिको उपस्थति रहेको थियो ।
शब्दयात्राबाट ‘उनीदेखि अरूसम्म’ छापिने
शब्दयात्रा प्रकाशनले १२९ औँ प्रकाशनपुष्पका रूपमा ‘उनीदेखि अरूसम्म’ नामक कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । उक्त सङ्ग्रहलाई आगामी असोज महिनामा सार्वजनिक गरिने भएको छ ।
‘उनीदेखि अरूसम्म’ कवि सुनील सापकोटाको दोस्रो पुस्तक हो । यसअघि उहाँद्वारा लिखित ‘स्वतन्त्रतासेनानी सुब्बा देवीप्रसाद सापकोटा’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो र त्यस पुस्तकले २०७१ सालको ‘शब्दयात्रा सिर्जना सम्मान’ प्राप्त गरेको थियो ।
पुस्तकालयलाई दराज उपहार
साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठको दराज र तासी एक–एक थान उपलब्ध गराउनुभएको छ ।
उहाँबाट प्राप्त दराज र तासीमा नेपाल भाषाका सामग्रीहरू सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ ।
नीलकण्ठेश्वरमा जनैपूर्णिमा
काभ्रेपलान्चोक जिल्लाको बनेपामा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा ज्यो. पं. रमेश अधिकारीको सौजन्यबाट भव्य रूपमा जनैपूर्णिमा मनाइएको छ । त्यस दिन नीलकण्ठेश्वरधाममा नीलकण्ठेश्वरधाम संरक्षण समिति र शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
टाढाटाढाबाट आएका व्यक्तिहरूले नीलकण्ठेश्वरधामको नजिकै राखिएको शब्दसाधकहरूको सालिकको छेउमा उभिएर तस्बिर खिचेका थिए । नेपालमै अन्यत्र नभएको शब्दसाधकहरूको सालिक त्यस क्षेत्रको विशेष आकर्षण बनेको छ ।
काभ्रेका दुई पत्रकारलाई कदर गरिने
शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा काभ्रेपलान्चोक जिल्लाका दुईजना पत्रकारलाई कदर गर्ने भएको छ । हरेक वर्ष दुई–दुईजना पत्रकारलाई कदर गर्ने क्रममा यस वर्ष नेपाल पत्रकार महासङ्घका काभ्रे जिल्ला सभापति मोतीराम तिमल्सिना र ‘सौर्य दैनिक’ का काभ्रे प्रतिनिधि शुकदेव थपलियालाई कदर गरिने भएको हो ।
शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य शिव बन्जारालाई कदर गर्नुपर्ने पत्रकारको चयन गर्ने जिम्मा दिइएको थियो ।
मच्छेश्वर सापकोटाका विषयमा अन्तक्र्रिया
हरेक शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९५ औँ शृङ्खलामा काभ्रे जिल्लाका गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटाद्वारा गाइएका गीतहरू र उहाँलाई भन्ने गरिएको ‘लोकगायक’ शब्दका बारेमा अन्तक्र्रिया गरियो । त्यस बखत मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले आफ्ना गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
गत २०७६ साल भदौ ६ गते सम्पन्न उक्त कार्यक्रममा मच्छेश्वर सापकोटाको गीत–सङ्गीतका विषयमा हरि मञ्जुश्री, डा. इन्दुल केसी, रमेश अधिकारी, पुण्यवती घले, पदम दाहाल, केदारनाथ तिमल्सिना, पूर्णबहादुर कर्माचार्य, शिव बन्जारा, कृष्णमणि कुइँकेल, दामोदर घिमिरे, शारदाप्रसाद शर्मा र निर्मला श्रेष्ठले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सङ्गीता केसी, देवीप्रसाद ढुङ्गाना, वासुदेव कुइँकेल, छविलाल कुइँकेल, बालमुकुन्द पराजुली, श्री शर्मा मूर्ख, चन्द्रमान सुवाल र लालप्रसाद पौड्यालको पनि उपस्थिति थियो ।
हार्दिक बधाई
हुमागाईं समाज नेपाल उपत्यका समितिको सचिवमा यस संस्थाका सर्भर सहयोगी डा. भास्कर हुमागाईं निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक शब्दश्रद्धा !
‘अक्षरधाम’ को सक्रियतामा काभ्रे जिल्लाका ६० वटा संस्थाले डा. सुरेशराज शर्मालाई जनस्तरबाट शैक्षिक शिरोभूषण उपाधि दिई एकैसाथ अभिवन्दना गरेको कार्यक्रममा पूर्वीय दर्शनका प्रकाण्ड विद्वान्, अग्रज पत्रकार तथा अग्रज साहित्यकार मदनमणि दीक्षित प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस समारोहलाई सम्बोधन गर्दा डा. सुरेशराज शर्मालाई इङ्गित गर्दै उहाँले भन्नुभएको थियो — ‘कुनै–कुनै व्यक्ति देशभन्दा पनि ठूला हुन्छन् ।’ मदनमणि दीक्षित स्वयं पनि त्यसै कोटिका महामना हुनुहुन्थ्यो । पछि २०६८ सालमा शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ पहिलोपटक मदनमणि दीक्षितलाई समर्पण गरियो । त्यस बखत शब्दयात्रा प्रकाशनले समर्पण गरेको किरीट डा. सुरेशराज शर्माको हातबाट लगाएपछि उहाँले भन्नुभएको थियो — ‘राजतन्त्र हटेपछि पहिलोपटक मुकुट लगाउने व्यक्ति मै परेँ ।’ ‘अक्षरधाम’ र ‘शब्दयात्रा प्रकाशन’ सँग त्यसरी जोडिनुभएका समादरणीय व्यक्तित्व मदनमणि दीक्षितको देहावसानले अत्यन्त दुःखित बनाएको छ । उहाँलाई हार्दिक शब्दश्रद्धा !

