शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ अब यु–ट्युबबाट सुन्न सकिने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कथाकार तथा कवयित्री नवीना श्रेष्ठद्वारा सङ्कलित, अनूदित र सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’ लाई अर्का आजीवन सदस्य ज्योतिष पण्डित रमेश अधिकारीको वाचनमा यु–ट्युबबाट सुन्न सकिने व्यवस्था मिलाइएको हो । यस कार्यको व्यवस्थापन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको हो ।
‘श्रीस्वस्थानी व्रतकथा’ एकतीसै अध्याय सुन्नका लागि यु–ट्युबमा गएर ‘शब्दयात्रा प्रकाशन’ या ‘श्रीस्वस्थानी व्रतकथा’ खोज्नुपर्नेछ अथवा शब्दयात्रा प्रकाशनको वेबसाइटमा गएर खोल्नुपर्नेछ ।
‘श्रीस्वस्थानी व्रतकथा’ अब यु–ट्युबमा
अक्षरसेवी सहयोग कोषलाई आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले स्थापना गरेको अक्षरसेवी सहयोग कोषलाई १० हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । विराटनगरमा रहेको पूर्वाञ्चल अनाथाश्रमकी संस्थापिका तथा सञ्चालिका श्रीमती सीता पोखरेलले उक्त रकम सहयोगस्वरूप उपलब्ध गराउनुभएको हो । शब्दयात्रा प्रकाशनले उहाँप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
विभिन्न प्रकारका विपत्तिमा परेका साहित्यकार, पत्रकार तथा कलाकारहरूलाई आर्थिक सहयोग गर्न स्थापना गरिएको उक्त कोषबाट विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग लिइसक्नुभएको छ ।
शब्दयात्राबाट बाँकी पाँच सम्मानको घोषणा
शब्दयात्रा प्रकाशनले २०७७ सालको दोस्रो चरणमा समर्पण गरिने सम्मानका लागि विभिन्न पाँच विधाका व्यक्तित्वहरूको चयन गरेको छ । त्यसअनुसार कविताकाव्य सम्मानबाट अग्रज कवि तुलसी दिवस (धनकुटा), आमसञ्चार सम्मानबाट अग्रज आमसञ्चारकर्मी यादव खरेल (काभ्रेपलान्चोक), अनुसन्धान सम्मानबाट अग्रज अनुसन्धाता डा. जगमान गुरुङ (कास्की), महिला प्रतिभा सम्मानबाट जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती (काठमाडौँ) र आध्यात्मिक पत्रकारिता सम्मानबाट मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्द (काठमाडौँ) लाई सम्मान गरिने भएको छ ।
कविप्रसाद प्याकुरेल, सुनील सापकोटा, राजेन्द्र विरही, द्रोणप्रसाद श्रेष्ठ र सुदर्शन आचार्यबाट आर्थिक व्यवस्थापन गरिएका यी सम्मानहरू आगामी फागुन महिनामा बनेपामा विशेष समारोहको आयोजना गरी समर्पण गरिनेछन् ।
सम्मान्य व्यक्तित्व चयन समितिले गरेको निर्णयका आधारमा यी सम्मानहरूको घोषणा गरिएको हो ।
शारदा मन्दिरका लागि आर्थिक सहयोग
माता सरस्वतीका पुत्रीहरूमध्येकी प्रतिभाशाली एक सुपुत्री काठमाडौँ बानेश्वरनिवासी प्रसिद्ध साहित्यकार हिरण्यकुमारी पाठकले शब्दयात्रा प्रकाशनद्वारा बनेपामा संस्थापित शब्दयात्रा शारदा मन्दिरका लागि १० हजार रुपियाँ अर्पण गर्नुभएको छ ।
यसै गरी माता सरस्वतीकी प्रतिभाशाली अर्की सुपुत्री ललितपुर सानेपानिवासी प्रसिद्ध साहित्यकार नवीना श्रेष्ठले पनि शब्दयात्रा शारदा मन्दिरका लागि ५ हजार रुपियाँ अर्पण गर्नुभएको छ ।
उहाँहरूको यो उदार सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै शब्दयात्रा प्रकाशन परिवार उहाँहरूमाथि माता सरस्वतीको कृपादृष्टि सदैव प्राप्त भइरहोस् भन्ने प्रार्थना गर्दछ ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ मा आध्यात्मिक प्रवचन
शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय १३ औँ शृङ्खला यही २०७७ साल माघ २ गते शुक्रबार सम्पन्न भयो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र आध्यात्मिक प्रवाचक बाबा विश्वनाथको प्रमुख आतिथ्य तथा सहप्राध्यापक रूपनारायण श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बाबा विश्वनाथबाट आध्यात्मिक प्रवचन तथा भजन–कीर्तन गरिएको थियो । कार्यक्रमको सञ्चालन पण्डित रमेश अधिकारीले गर्नुभएको थियो भने व्यवस्थापन सङ्गीता केसीबाट भएको थियो ।
प्रवचन कार्यक्रममा शब्दयात्रा प्रकाशनका सदस्य र स्थानीय भक्तजन उपस्थित हुनुहुन्थ्यो भने पनौतीबाट एक दर्जन भक्तजनको आगमन भएको थियो ।
शब्दयात्राबाट थप छात्रवृत्तिको व्यवस्था
शब्दयात्रा प्रकाशनले शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्ति कोषका लागि भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. ८ दिङला तुङ्गेछा घर भई हाल काठमाडौँको शङ्खमूलमा बसोवास गर्ने सहप्राध्यापक रूपनारायण श्रेष्ठले आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठका नाउँमा एक लाख एक हजार रुपियाँको चेक शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनले द्रोणप्रसाद श्रेष्ठको आर्थिक व्यवस्थापनमा पत्रकारिता विषय अध्ययन गर्ने विपन्न तर जेहेन्दार छात्रालाई हरेक वर्ष छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा २०७८ सालदेखि हरेक वर्ष प्रदान गर्ने गरी थप छात्रवृत्तिको व्यवस्था गरेको हो ।
यही २०७७ साल माघ २ गते शुक्रबार आयोजित कार्यक्रममा छात्रवृत्ति कोषका लागि सहप्राध्यापक रूपनारायण श्रेष्ठले एक लाख एक हजार रुपियाँको चेक शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो । त्यस बखत शब्दयात्रा प्रकाशन र रूपनारायण श्रेष्ठका बीच छात्रवृत्तिको व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान पनि गरिएको थियो । विकलाङ्ग छात्रवृत्तिका लागि आर्थिक व्यवस्थापन गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशनले रूपनारायण श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
शब्दयात्राबाट चार सम्मानको निर्णय
शब्दयात्रा प्रकाशनले २०७७ सालको दोस्रो चरणमा समर्पण गर्नुपर्ने ९ विधाका सम्मानहरू समर्पण गर्नका लागि व्यक्तित्वहरू चयन गर्न गठित सम्मान्य व्यक्तित्व चयन समितिले विभिन्न ४ विधाका व्यक्तित्वहरूको चयन गरेको छ ।
त्यसअनुसार समालोचना सम्मान भोजपुरका दधिराज सुवेदीलाई र बालसाहित्य सम्मान मोरङका प्रमोद प्रधानलाई समर्पण गरिने भएको छ । यसै गरी साहित्यिक पत्रिका सम्मान पर्वत जिल्लाबाट सरस्वती शर्मा जिज्ञासुको सम्पादनमा प्रकाशन हुने ‘नवमाधुरी’ साहित्यिक पत्रिकालाई र फोटो पत्रकारिता सम्मान ललितपुरका प्रकाश मास्केलाई समर्पण गरिने भएको छ । बाँकी ५ विधाका सम्मानको घोषणा अर्को हप्ता गरिने भएको छ ।
शब्दयात्रा प्रकाशनले सम्मान गर्न योग्य व्यक्तित्वको चयन गर्न तीन सदस्यीय समिति बनाएको थियो ।
स्तम्भकार डा. दुर्गा दाहालको निधन
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका स्तम्भकार तथा साहित्यकार डा. दुर्गा दाहालको निधन भएको छ । उहाँ अमेरिकामा बस्न थाल्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आबद्ध उहाँले पुरस्कारको पनि स्थापना गर्नुभएको थियो । उहाँले अमेरिकाबाटै ‘नेपालभूमि’ का लागि लेखहरू पठाउने गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशन परिवार स्तम्भकार डा. दुर्गा दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
गीतकार भैरवनाथ रिमाल ‘कदम’ को निधन
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान’ बाट २०७१ सालमा सम्मानित हुनुभएका अग्रज गीतकार तथा कवि भैरवनाथ रिमाल ‘कदम’ को निधन भएको छ । उहाँको निधन गत शनिबार पुस २५ गते ८६ वर्षको उमेरमा भएको हो ।
भैरवनाथ रिमाल ‘कदम’ को दृश्यमान् स्वरूपको भौतिक विसर्जनबाट व्यथित बनेर शब्दयात्रा प्रकाशनले उहाँलाई सहस्र अश्रुजलबाट मानसिक तर्पण दिएको छ । उहाँका शोकापन्न पारिवारिक सम्बन्धीहरूसमान सहवेदना अनुभूत गरिरहेको शब्दयात्रा प्रकाशन परिवार उहाँको अदृष्ट स्वरूप ब्रह्मलीन होस् भन्ने कामनाका साथ उहाँले गर्नुभएको सारस्वत योगदानप्रति हृदयतः भावपूर्ण शब्दश्रद्धा समर्पण गर्दछ ।
शब्दसाधक तीर्थमा पुग्नेहरूको सङ्ख्या बढ्दै
शब्दयात्रा प्रकाशनले बनेपामा निर्माण गरेको शब्दसाधक तीर्थमा गई तस्बिर खिचाउनेहरूको सङ्ख्या अचेल बढिरहेको छ । नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक रहेको ठाउँलाई शब्दसाधक तीर्थ भनिएको हो ।
कोरोना महामारीको प्रभाव कम हुँदै गएको अनुभव भएकाले र बीपी राजमार्गबाट यात्रा गर्नेहरूले शब्दयात्रा स्तम्भको उज्यालोका कारण सालिकहरू प्रस्ट देख्न सक्ने भएकाले शब्दसाधक तीर्थमा जानेहरूको सङ्ख्या बढ्न थालेको अनुमान गरिएको छ ।
वाङ्मय अन्तर्गत शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत क्षेत्रको साझा थलो भएकाले र यी पाँचै विधाका प्रथम व्यक्तित्वको सालिक नेपालमा बनेपामा मात्रै भएकाले यी पाँचै विधालाई माया गर्नेहरूका लागि शब्दसाधक तीर्थ प्रेरणादायक स्थल बनेको छ । सालिकको छेउमा बसेर तस्बिर खिची सामाजिक सन्जालमा राख्ने युवाहरू पनि धेरै देखिन थालेका छन् ।

