शब्दयात्रा प्रकाशनबाट ‘भरतांशु’ नामक महाकाव्यको प्रकाशन हुन लागेको छ । महाकाव्यकार नीलकण्ठ भट्टराईद्वारा लिखित यो महाकाव्य भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमलाई विषयवस्तु बनाई लेखिएको छ । यसअघि भरत जङ्गमको जीवनवृत्तमा आधारित ‘भरतेन्दु’ महाकाव्य कविप्रसाद प्याकुरेलको लेखनमा प्रकाशित भइसकेको छ । ‘भरतांशु’ महाकाव्यका लेखक नीलकण्ठ भट्टराईलाई शब्दयात्रा प्रकाशनले २०७० सालमा कविताकाव्य सम्मानबाट सम्मानित गरेको थियो ।
शब्दसाधक तीर्थको अवलोकन
काभ्रे भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालले नियात्राकार पोष चापागाईंका साथमा शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थको अवलोकन भ्रमण गर्नुभयो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कार्यालय व्यवस्थापक सङ्गीता केसीले स्वागत गर्नुभएको थियो । त्यस बखत डा. राजु ढकालले सालिकहरू, स्तम्भ, पुस्तकालय र पोखरीको अवलोकन गर्नुका साथै सरस्वती, नीलकण्ठेश्वर महादेव, शेषशायी विष्णु, हनुमान आदिको दर्शन गर्नुभएको थियो ।
शब्दयात्राको अर्को कार्यक्रम चैत महिनामा
शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा सक्रिय दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई प्रदान गर्ने २०७७ सालको कदरपत्र यही चैत महिनामा गर्ने भएको छ । त्यही कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय अध्ययन गर्ने छात्रा सुजाता तिमल्सिनालाई २०७७ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ प्रदान गरिने भएको छ ।
कोरोना महामारीका कारण कदरपत्र र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम स्थगित गर्नुपरेको थियो । अब स्थिति सहज हुँदै गएकाले कार्यक्रम गर्न लागिएको हो । गत फागुन २२ गते पनि शब्दयात्रा प्रकाशनबाट सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गरिएको थियो ।
हरि मञ्जुश्रीबाट आध्यात्मिक प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बनेपाको पुण्येश्वर महादेवस्थानमा आयोजित विशेष धार्मिक भेलामा उपस्थित भई सनातन धर्म, संस्कृति र परम्पराका सम्बन्धमा आध्यात्मिक प्रवचन गर्नुभएको छ । उहाँलाई सनातन वैदिक धर्मसँग सम्बद्ध रहेर प्रवचन गर्न आमन्त्रण गरिएको थियो ।
पुण्येश्वर महादेवस्थानमा हरेक महिनाको २५ गते आध्यात्मिक कार्यक्रम गरिने भएकाले त्यस कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट कुनै पनि प्रतिनिधि उपस्थित भई आध्यात्मिक प्रवचन गरिदिन आयोजकका तर्फबाट शब्दयात्रा प्रकाशनलाई अनुरोध गरिएको छ ।
‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक छापिँदै
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा अङ्ग्रेजी भाषामा ‘बेलप्रसाद श्रेष्ठ ः द म्यान बिहाइन्ड धुलिखेल’ नामक पुस्तक प्रकाशन हुने भएको छ । उहाँकै सम्पादनमा केही वर्षअघि ‘धुलिखेलका सारथि बेलप्रसाद श्रेष्ठ’ नामक अभिनन्दनग्रन्थ प्रकाशन भएकोमा त्यसभित्रका महत्त्वपूर्ण लेखहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी केही थप लेखहरू पनि समावेश गरेर अङ्ग्रेजीभाषी पाठकहरूका लागि ‘द म्यान बिहाइन्ड धुलिखेल’ पुस्तक तयार पारिएको हो ।
नेपाली भाषाका लेखहरूलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय डा. भास्कर हुमागाईं र इ. रोशन अधिकारीले अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि विदेशी पाठकहरूका लागि शब्दयात्रा प्रकाशनले यो पुस्तक प्रकाशन गर्न लागेको हो ।
शब्दयात्रा प्रकाशन पुस्तकालयलाई पुस्तक उपहार
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि निजी सङ्ग्रहमा रहेका ४५ थान महत्त्वपूर्ण पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसअघि पनि उहाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।
यसै गरी शिक्षाविद् डा. मनप्रसाद वाग्ले र साहित्यिक पत्रकार सरस्वती शर्मा ‘जिज्ञासु’ ले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको छ ।
पुस्तकालयका लागि पुस्तकहरू उपलब्ध गराइदिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
शब्दसञ्चारः चैत १०, २०७७
- Episode 50 – Shabda Sanchar 29:08
शब्दसञ्चारः चैत ०३, २०७७
- Episode 49 – Shabda Sanchar 27:58
शब्दयात्रा प्रकाशनद्वारा १८ जनालाई सम्मान
शब्दयात्रा प्रकाशनले यही फागुन २२ गते शनिबार २०७७ सालमा समर्पण गर्नुपर्ने १८ विधाका सम्मानहरू समर्पण ग¥यो । कोरोनाको प्रकोपका कारण जेठमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मान र मङ्सिर महिनामा समर्पण गर्नुपर्ने नौ विधाका सम्मान समर्पण गर्न सकिएको थिएन । त्यसैले एकै दिन १८ विधाका सम्मानहरू समर्पण गरिएको थियो ।
बनेपामा आयोजित सम्मान समर्पण समारोहको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले, सभापतित्व आधुनिक धुलिखेलका परिकल्पनाकार बेलप्रसाद श्रेष्ठले र प्रमुख आतिथ्य काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा कवि तुलसी दिवस (धनकुटा) लाई शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मानद्वारा सम्मानित गरियो । यस सम्मानको व्यवस्थापन कविप्रसाद प्याकुरेलले गर्नुभएको थियो । अनुसन्धाता डा. जगमान गुरुङ (कास्की) लाई शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा सम्मानित गरियो । यस सम्मानको व्यवस्थापन राजेन्द्र विरहीले गर्नुभएको थियो । शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले (काठमाडौँ) लाई शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान समर्पण गरियो । यस सम्मानको व्यवस्थापन रमेश पौड्यालले गर्नुभएको थियो । समालोचक दधिराज सुवेदी (भोजपुर) लाई शब्दयात्रा गोपाल प्रधान समालोचना सम्मान समर्पण गरियो । यस सम्मानको व्यवस्थापन हरिगोपाल प्रधानले गर्नुभएको थियो । पूर्वप्रशासक तथा साहित्यकार हिरण्यकुमारी पाठक (काठमाडौँ) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा सम्मानित हुनुभयो । यो सम्मान उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापन गरिएको थियो । इन्जिनियर तथा पूर्वव्यवस्थापक देवीप्रसाद चापागाई (धादिङ) शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मानद्वारा सम्मानित हुनुभयो । यो सम्मान रामकृष्ण स्मृति प्रतिष्ठानका लागि निर्मला श्रेष्ठद्वारा व्यवस्थापन गरिएको थियो ।
यसै गरी बालसाहित्यका अन्वेषक प्रमोद प्रधान (मोरङ) लाई गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा टीकाप्रसाद–विष्णुमाया बालसाहित्य सम्मान, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला (रौतहट) लाई गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, शिक्षासेवी एक्कुमाया पुन (गुल्मी) लाई निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान र कवि पदम दाहाल (सङ्खुवासभा) लाई भीमप्रसाद–पद्मकला स्मृतिकोषद्वारा व्यवस्थापित शब्दयात्रा भीमप्रसाद–पद्मकला स्तम्भकार सम्मानद्वारा सम्मानित गरियो । शब्दयात्रा प्रकाशनद्वारा २०७६ सालमा प्रकाशित २१ वटा कृतिहरूमध्ये उत्कृष्ट ठहर गरिएको कृति ‘विधवा वासना’ उपन्यासका उपन्यासकार प्रजापति तिमिल्सिना (कास्की) लाई कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा भीमभक्तमानसिंह बस्नेत सिर्जना सम्मान, फोटोग्राफर प्रकाशबहादुर मास्के (ललितपुर) लाई हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान तथा पर्वत जिल्लाबाट प्रकाशित ‘नवमाधुरी’ साहित्यिक पत्रिकालाई योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा सुब्बा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान समर्पण गरिएको थियो । उक्त सम्मान पत्रिकाका सम्पादक सरस्वती शर्मा जिज्ञासुले ग्रहण गर्नुभएको थियो ।
आमसञ्चारविज्ञ यादव खरेल (काभ्रेपलान्चोक) लाई सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान समर्पण गर्नुपर्नेमा उहाँ अस्वस्थ हुनुभएकाले उहाँका लागि दीपक तिमल्सिनाले, मूर्तिकार तथा प्राज्ञ ठाकुरप्रसाद मैनाली (काभ्रेपलान्चोक) लाई कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान समर्पण गनुर््पर्नेमा उहाँको परिवारमा मरणशोक परेकाले उहाँका लागि शारदाप्रसाद शर्माले र जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती (काठमाडौँ) स्वास्थ्यशिविरमा उपस्थित हुनुपरेकाले द्रोणप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान उहाँका प्रतिनिधि उमा लोहनीले ग्रहण गर्नुभएको थियो । मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्द (काठमाडौँ) पोखराको शिविरमा हुनुभएकाले उहाँका तर्फबाट सिमन न्यौपानेले सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा बालागुरु षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान तथा सामाजिक उज्जागरक डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ (काठमाडौँ) बृृद्धावस्थाका कारण उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट नवीना श्रेष्ठले आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान ग्रहण गर्नुभएको थियो ।
मञ्चस्थ महानुभावहरूमा ब्याच अर्पण शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घले र केदारनाथ तिमल्सिनाले तथा माला अर्पण शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सहदीप पलान्चोके र विशेष सहयोगी बुद्ध मानन्धरले गर्नुभएको थियो । कार्यक्रममा ‘नेपालभूमि साप्ताहिक’ को सम्मान समर्पण समारोह विशेषाङ्क व्यवस्थापक सङ्गीता केसीले वितरण गर्नुभएको थियो भने नन्दिकेश्वर अधिकारी, हंसराज श्रेष्ठ, मनका श्रेष्ठ, जयदेव अधिकारी र रामकृष्ण श्रेष्ठको तस्बिरमा अबिर र पुष्प अर्पण गरिएको थियो । नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूबाट स्वस्तिवाचन गरिएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य ओतबहादुर खड्काले वटुकहरूलाई टीका र दक्षिणा प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत मन्तव्यका साथै सभापति र प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी साधुराम गिरीले गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका लागि सम्मानित व्यक्तित्वबाट आशीर्वचनको पत्र ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा चयन समितिका सदस्यहरू रश्मि हुमागाईं, साधुराम गिरी, लक्ष्मी बडाल र वेदप्रसाद गौतमलाई उपहार पनि प्रदान गरिएको थियो ।
समारोहमा कथाकार सुशीला देउजा, गीतिभास्कर मच्छेश्वर सापकोटा, समाजसेवी चन्द्रबहादुर खड्का, छविलाल कुइँकेल, वासुदेव कुइँकेल, केशव थापा, जीवना बादे, पत्रकारहरू शरदराज सुवेदी, निर्भीकजङ्ग रायमाझी, रमेशप्रसाद न्यौपाने, कवि छत्रपति दाहाल, लेखकहरू डा. इन्दुल केसी, पं. रमेश अधिकारी, डा. श्याम भट्टराई, उद्धवप्रसाद नेपाल, पूर्णबहादुर कर्माचार्य, दामोदर घिमिरे, डा. षडानन्द पौडेल, शिक्षासेवी धनञ्जय शर्मा अधिकारी, लेखप्रसाद पन्त, जयराम श्रेष्ठ तथा शिवनाथ मैनाली, सफू श्रेष्ठ, अमृत अधिकारी, तीर्थराज अधिकारी आदिसहित दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।
दुई पुस्तक सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तक एक विशेष कार्यक्रममा सार्वजनिक गरिएका छन् । नवीना श्रेष्ठद्वारा लिखित सातौँ पुस्तक ‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ पुस्तक समाजसेवी तथा कार्यक्रमका सभापति बेलप्रसाद श्रेष्ठबाट र किरण त्रिपाठी पन्तद्वारा लिखित दोस्रो पुस्तक ‘कुँडिएका मनहरू’ कवितासङ्ग्रह काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण तथा कार्यक्रमका प्रमुख अतिथि डा. सुरेशराज शर्माबाट सार्वजनिक गरिएका हुन् ।
यी दुई पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ५२ पुगेको छ । दुवै पुस्तकको मूल्य एक–एक सय रुपियाँ राखिएको छ ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले दुवै पुस्तकको परिचय गराउनुभएको थियो भने कवयित्री किरण त्रिपाठी पन्तले कवितासङ्ग्रहमा सङ्कलित एउटा कविता वाचन गर्नुभएको थियो ।
‘शङ्खमूल माहात्म्य र कुम्भेश्वर महादेव’ नामक पुस्तकको बिक्रीबाट आएको सम्पूर्ण रकम कुम्भेश्वर महादेवका विषयमा शोध गर्ने शोधार्थीलाई लेखनवृत्तिका रूपमा प्रदान गरिने भएको छ ।