भक्तपुर जिल्लाको टौमढी टोलमा २०२३ सालमा जन्मेर नेपाली तथा नेवारी भाषाका गीतका साथै मल्लराजाका पुराना गीत पनि गाउनुभएका, एकल गीतगायन कार्यक्रम सम्पन्न गर्नुभएका र ‘बिरानीमा’ र ‘सः सत्यनारायण या’ क्यासेट तथा ‘जिगु देश छ य’, ‘दाला ज्वना न्याकुं न्याकुं कया’, ‘असं त्वा या दबु कुने’, ‘न्ये न्यापा झ्या या दरबार’ म्युजिक भिडिओ निकाल्नुभएका सत्यनारायण मानन्धरलाई २०८२ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा लेखक कृष्णहरि मैनालीले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट फोटोपत्रकार हरिगोपाल प्रधानले भेटी, लेखक केदारनाथ तिमल्सिनाले उपहार र पत्रकार शिव बन्जाराले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन आख्यानकार भरत जङ्गमले गर्नुभएको हो ।