अनुसन्धाता सुदीप अधिकारीद्वारा लिखित पहिलो अनुसन्धानात्मक कृति तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४२ औँ कृति ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ यही २०८१ मङ्सिर २१ गते एकैपटक पाँच ठाउँबाट सार्वजनिक गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९० औँ जन्मजयन्तीको अवसर पारी फरक–फरक ठाउँमा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकको प्रकाशक संस्था शब्दयात्रा प्रकाशनको सभाकक्ष काभ्रेपलान्चोकको बनेपामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकार सुदीप अधिकारीले थैलीबाट पुस्तक झिकेर सार्वजनिक गर्नुभएको थियो । यसै गरी भोजपुरको दिङ्ला, सुनसरीको इटहरी, मोरङको विराटनगर र झापाको दमकमा आयोजना गरिएका कार्यक्रमहरूमा पनि उक्त पुस्तकलाई सार्वजनिक गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा समेत उक्त पुस्तकका विषयमा चर्चा गरिएको थियो ।
जानकारहरूको भनाइ अनुसार नेपालमा एउटै पुस्तक पाँच ठाउँका छुट्टाछुट्टै कार्यक्रममा एकै दिन सार्वजनिक भएको र छ ठाउँका कार्यक्रममा पुस्तकका बारेमा टिप्पणी गरिएको यो पहिलोपटक हो ।