शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रम यही चैत २६ गते शनिबार बनेपामा सम्पन्न गरेको छ । नेपालका प्रसिद्ध विद्वान् लेखक डा. शास्त्रदत्त पन्त प्रमुख अतिथि र  शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा भ्रष्टाचार निवारण शास्त्रका प्रणेता भरत जङ्गम सभापति रहनुभएको उक्त कार्यक्रममा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा रामकृष्ण कर्माचार्यलाई, वसन्त शर्मा कविता–काव्य सम्मानद्वारा मञ्जुललाई, पद्मकला–भीमप्रसाद समालोचना सम्मानद्वारा डा. तुलसी भट्टराईलाई र जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा डा. गोविन्द टन्डनलाई सम्मान गरिएको थियो । यसै गरी मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा चन्द्रकला शाह, विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मानद्वारा मुक्तिनाथ शर्मा न्यौपाने, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मानद्वारा कपन–बानेश्वर साप्ताहिक पत्रिका, षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मानद्वारा ॐकार टेलिभिजन र रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मानद्वारा पदमसागर कक्षपति सम्मानित हुनुभएको थियो । सम्मानित महानुभावहरूलाई रकम समर्पण आर्थिक व्यवस्थापकहरू कविप्रसाद प्याकुरेल, लालानाथ सुवेदी, राजेन्द्र विरही, द्रोणप्रसाद श्रेष्ठ, गोपाल पराजुली र हरिगोपाल प्रधानले गर्नुभएको थियो । सम्मान गर्दा रुद्राक्षको माला, रकम, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपलब्धि र गतिविधिहरू प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन रश्मि हुमागाईंले, सामग्रीको व्यवस्थापन सङ्गीता केसीले, स्वराङ्कनको व्यवस्था र अभिवन्दनापत्र वाचन रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले, छायाङ्कन प्रकृति प्याकुरेलले, मञ्चस्थ महानुभावहरूलाई माला अर्पण अमृत अधिकारीले, चयन समितिका संयोजक र सदस्यलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सहदीप पलान्चोकेले, प्रमुख अतिथिलाई स्मृतिचिह्न समर्पण हरिगोपाल प्रधानले, आशीर्वचन सङ्कलन तथा स्वस्तिवाचनका रूपमा गणेश प्रार्थना शारदाप्रसाद शर्माले एवम् ब्राह्मणपूजन मच्छेश्वर सापकोटा र साधुराम गिरीले गर्नुभएको थियो ।
प्रा. केदारनाथ श्रेष्ठबाट सभाविसर्जन गरिएको उक्त कार्यक्रममा षडानन्द अधिकारी, देवीप्रसाद सापकोटा, जयदेव अधिकारी, मनका श्रेष्ठ र पद्मकला–भीमप्रसाद सुवेदीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।