शब्दयात्रा प्रकाशनको आयोजनामा यही २०७८ साल पुस २४ गते शनिबार विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो । माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा मञ्चस्थ महानुभावहरूलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पुण्यवती घलेले रुद्राक्षको माला लगाइदिनुभएको थियो भने प्रमुख अतिथिलाई शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा गीतकार लीला श्रेष्ठद्वारा व्यवस्थापित ‘शब्दयात्रा केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७८’ समर्पण गरिएको थियो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा पदम दाहालद्वारा लिखित ‘श्वेताम्बरी’ नामक कवितासङ्ग्रह र कृष्णप्रसाद भट्टराईद्वारा लिखित ‘विकसित नेपाल सम्पन्न नेपाली’ नामक पुस्तकलाई सार्वजनिक गरिएको थियो । उक्त समारोहमा नै शब्दयात्रा प्रकाशनले बागमती फार्मेसीसँग सम्झौता गरेको थियो भने शब्दयात्रा प्रकाशन पुस्तकालयलाई केही पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो भने कार्यक्रमको समीक्षा गर्दै समापन शिक्षासेवी माधवप्रसाद आचार्यले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका कार्यालय व्यवस्थापक सङ्गीता केसीले सामग्रीहरूको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रमको छायाङ्कन तथा अभिलेखाङ्कन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीबाट गरिएको थियो । उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्यहरू केदारनाथ तिमिल्सिना र सहदीप पलान्चोके आदिसहित उद्धवप्रसाद नेपाल, लोकमान मास्के, प्रजापति तिमिल्सिना, लालबहादुर भुजेल, श्री शर्मा मूर्ख लगायतका विद्वतवर्ग समुपस्थित हुनुहुन्थ्यो ।