शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ सकुल थापालाई प्रदान गर्ने भएको छ । सकुल थापाले शब्दयात्रा प्रकाशनको स्थापनाकालदेखि नै संस्थाका हरेक गतिविधिमा आर्थिक, भौतिक र अन्य विभिन्न प्रकारले योगदान गर्नुभएको छ । उहाँ यसअघिको सञ्चालक समितिमा पनि सदस्य हुनुहुन्थ्यो । ‘नेपालभूमि साप्ताहिक’ को व्यवस्थापनमा पनि उहाँले ठूलो सहयोग पु¥याउनुभएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गर्ने गरेको छ । यसअघि यो पुरस्कार पदमनाथ ढुङ्गाना, दामोदर घिमिरे र शिवप्रसाद बन्जारालाई प्रदान गरिसकिएको छ । पुरस्कारको राशी १० हजार रुपियाँ रहेको छ भने पुरस्कारमा शब्दयात्रा पट्ट र प्रमाणपत्र पनि प्रदान गरिन्छ ।
शब्दयात्रा प्रकाशनबाट ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ गर्न लागेको यो चौथोपटक हो । यस पटकको कार्यक्रम आगामी असोज १० गते शनिबार काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका सभापति उद्धव केसीको प्रमुख आतिथ्यमा शब्दयात्रा प्रकाशनको कार्यालयमा हुने भएको छ । कोरोना महामारीका कारण सीमित व्यक्तिको मात्र उपस्थितिमा मास्क र स्यानिटाइजर जस्ता सुरक्षाका उपायसहित सामाजिक दूरीको पालना गर्दै कार्यक्रम गरिने भएको छ ।