स्वर्गमा पैदल

विधा : लेखसङ्ग्रह
कृतिकार : डा. सुरेशराज शर्मा
प्रकाशनकाल : मङ्सिर २०७२
मूल्य : रु. ५००।–
डा. सुरेशराज शर्माले विभिन्न समयमा नेपाली भूभागको पदयात्रा गरी देशदर्शन गर्दाका अनुभव र अनुभूतिहरू समेटेर लेख्नुभएको ‘स्वर्गमा पैदल’ नामक संस्मरणात्मक यात्राकृति मौलिक नेपाली लोकजीवन, लोकसंस्कृति, लोकप्रचलन एवं प्रकृतिसाग स्थानीय जीवन–जीविकाको तादात्म्य देखाउने यात्रासाहित्यको सुललित प्रस्तुति हो । यात्राक्रममा देखापरेका विभिन्न ग्रामीण क्षेत्रका शिक्षा र जनचेतना, स्वास्थ्य र सरसफाई, विकास–निर्माण र भौतिक पूर्वाधार आदिसम्बन्धी मर्मस्पर्शी प्रसङ्गहरू सुन्दर प्रस्तुतिशिल्पबाट यसमा अवतरित भएका छन् । नेपालको विकासका लागि गर्नैपर्ने तर गर्न नसकिएका कार्यहरूको प्रस्तुतिका अतिरिक्त देशलाई आर्थिक रूपमा समृद्ध र सम्भव पक्षमा स्वावलम्बी बनाउन पर्याप्त पूर्वाधारहरू प्रकृतिबाट प्राप्त भए पनि तिनीहरूको सदुपयोग गर्न नसकिएका उदाहरणहरू पढ्दा चर्चित कवितांश ‘कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि’ को स्मरण हुन्छ । प्राकृतिक सौन्दर्यको मनोहारी चित्रण गर्ने क्रममा प्रकृति, मानव–जीवन र पर्यटनलाई लिएर लेखिएका प्रेरक, ज्ञानवद्र्धक र रोमाञ्चक वर्णनहरूसमेत प्रशस्त प्रवाहित भएको यस पुस्तकमा मुलुकलाई सर्वतोमुखी समृद्धि दिलाउन अवलम्बन गर्नुपर्ने मार्गहरूको स्पष्ट अक्षरचित्र पनि पाउन सकिन्छ ।