आगामी २०७६ साल कार्तिक २३ गते शनिबार दिउँसो ११ बजेदेखि शब्दयात्रा प्रकाशनले सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्दैछ । धुलिखेलस्थित हिमालयन प्याराडाइज होटलमा आयोजना गरिने उक्त कार्यक्रमका प्रमुख अतिथि, सम्मानित व्यक्ति तथा संस्था, सार्वजनिक गरिने कृतिका कृतिकार, चयन समितिका सदस्यको चिनारी र अन्य केही जानकारीहरू विशेष पृष्ठमा प्रस्तुत गरिएको छ । सम्मानित व्यक्तिहरूको तस्बिर आगामी अङ्कको समाचारमा प्रस्तुत गरिनेछ ।

प्रमुख अतिथि सूर्यप्रसाद श्रेष्ठ

सूर्यप्रसाद श्रेष्ठ साह«ै शिष्ट र विशिष्ट व्यक्ति हुनुहुन्छ । उहाँ नेपालको सुदूर पूर्व ताप्लेजुङ दोभानको याङमान बजारमा गणेशकुमारी र लक्ष्मीप्रसाद श्रेष्ठका सुपुत्रका रूपमा १९९४ सालमा जन्मनुभयो । दुःखसुख राम्ररी पढ्नुभयो । सङ्खुवासभाको चैनपुरमा ७ कक्षासम्म पढ्नुभयो । त्यसपछि बनारसबाट १५ वर्षको उमेरमा म्याट्रिकुलेसन पास गर्नुभयो । २०१४ सालमा बीए पास गरेर ग्रामविकास विभागमा सहायक प्रचार अफिसर पदमा जागिर सुरु गर्नुभयो । तीन महिनामा बढुवा हुनुभयो कायम मुकायम प्रचार अफिसरमा । २०१६ सालमा सेक्सन अफिसर बन्नुभयो । २०१८ सालमा सरकारी छात्रवृत्तिमा बेलायतमा पढ्न जान पाउनुभयो । त्यहाँको लन्डन स्कुल अफ इकोनोमिक्सबाट पब्लिक एडमिनिस्ट्रेसन विषयमा पोस्ट ग्राजुएट गर्नुभयो । जागिर सुरु गरेको ५ वर्षमै २०२१ सालमा सेकेन्ड क्लास अफिसर बन्नुभयो । २०२९ सालमा राजपत्राङ्कित प्रथम श्रेणीमा पदोन्नति भई बागमती अञ्चलको सहअञ्चलाधीश पदमा जानुभयो । त्यहाँ काम गर्दागर्दै ३ वर्षको छोटो अवधिमै २०३२ सालमा राजनीतिक पदका रूपमा बागमती अञ्चलको विशिष्ट श्रेणीको अञ्चलाधीश पदमा बढुवा भई संवैधानिक निकायको प्रमुख हुनुभयो । त्यसपछि गृहसचिव, उद्योग–वाणिज्य सचिव, राष्ट्रिय योजना आयोगका सहसदस्य बनेर २०४१ सालमा प्रमुख निर्वाचन आयुक्त बन्नुभयो र सङ्कटकालमा पनि राम्रोसँग चुनाव सफल पार्नुभयो । त्यो काम सिद्धिएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई फ्रान्सको राजदूत बनाउन खोज्नुभयो । तर ‘म त्यहाँ जान्नँ’ भन्नुभयो । ‘कहाँ जानुहुन्छ त ?’ भनेर सोद्धा ‘म बेलायतमा जान्छु, किनभने मैले बेलायतमा पढेको र त्यहाँका धेरै कुरा जानेको’ भन्नुभयो । त्यसपछि उहाँलाई चार महिना कुराएर बेलायतको राजदूत बनाइयो । राजदूत पनि छानी–छानी पाउने मान्छे उहाँ नै हो । राजदूतबाट हटेपछि उहाँ विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय हुनुभयो । आफ्नी श्रीमती गिन्नीबाबा श्रेष्ठको निधन २०७४ सालमा भएपछि ८२ वर्षको उमेरमा उहाँले एकल पुरुषका रूपमा जीवन बिताउनुपरेको छ । अझै पनि उहाँ सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । (द्रोणप्रसाद श्रेष्ठको मन्तव्य, ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ पुस्तिकाबाट)

सम्मान गरिने व्यक्ति तथा संस्थाहरू

डा. केदारनाथ श्रेष्ठ ः
डा. केदारनाथ श्रेष्ठ शिक्षा क्षेत्रका अग्रज सेवी हुनुहुन्छ । उहाँको निवास ललितपुरको सानेपामा रहेको छ । अमेरिकाको साउदर्न इलिनोइस विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गर्नुभएका उहाँले शैक्षिक क्षेत्रमा विभिन्न अनुभवहरू बटुल्नुभएको छ । काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा सङ्कायका डिन भइसक्नुभएका उहाँ शिक्षा मन्त्रालयमा निमित्त सचिव पनि हुनुभएको छ । नेपाल सरकारका साथै युनेस्को, यूएनडीपी आदिमा पनि उहाँले सेवा गर्नुभएको छ । शैक्षिक योजना र शैक्षिक व्यवस्थापनको विज्ञका रूपमा उहाँ सुपरिचित हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक कार्यक्रमहरूमा सहभागी हुनुभएका उहाँले शिक्षा क्षेत्रका पुस्तकहरू र लेखहरू पनि लेखेर प्रकाशन गराउनुभएको छ । उहाँजस्ता शिक्षासेवी व्यक्तित्वलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
ध्रुवहरि अधिकारी ः
ध्रुवहरि अधिकारी नेपालको आमसञ्चारका क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । नेपालको स्वतन्त्र र निष्पक्ष पत्रकारका रूपमा अन्तर्राष्ट्रिय जगत्मा पनि उहाँको प्रसिद्धि रहेको छ । उहाँ विभिन्न देशका सञ्चार माध्यमहरूका नेपाली प्रतिनिधिका रूपमा समेत चिनिनुहुन्छ । उहाँ स्वतन्त्र लेखन पनि गर्नुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा नेपालको राजनीति र समाजसँग सम्बन्धित उहाँका विश्लेषणात्मक लेख तथा टिप्पणीहरू प्रकाशित भएका छन् । उहाँले पुस्तकको लेखन र सम्पादनसमेत गर्नुभएको छ । नेपाल प्रेस इन्स्टिच्युट जस्ता संस्थाहरूमा आबद्ध रहनुभएका उहाँ अचेलका सक्रिय युवा पत्रकारहरूका गुरु पनि हुनुहुन्छ र अझै पनि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । ओखलढुङ्गा पुख्र्यौली घर भए पनि उहाँ हाल ललितपुरको झम्सिखेलमा बसोवास गर्नुहुन्छ । उहाँजस्ता सञ्चारविज्ञ व्यक्तित्वलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
टीपी शर्मा तिमिल्सिना ः
पत्रकार तथा लेखकका रूपमा सुपरिचित व्यक्तित्व टीपी शर्मा तिमिल्सिना काभ्रेपलान्चोक जिल्लाको भकुन्डे बुचाकोटका बासिन्दा हुनुहुन्छ । विशेषतः पोल्ट्री विधाको पत्रकारिता क्षेत्रमा लामो समयसम्म सक्रिय रहनुभएका उहाँले राजनीतिक तथा सामाजिक क्षेत्रका टिप्पणीहरू पनि लेख्ने गर्नुभएको छ । उहाँका लेखहरू विभिन्न पत्रिकाहरूमा छापिएका छन् । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा पनि उहाँका लेख तथा कविताहरू धेरै सङ्ख्यामा प्रकाशित भएका छन् । बौद्धिकतापूर्ण गम्भीर लेखन उहाँको विशेषता हो । पत्रकारिता जगत्मा सबैका प्रिय व्यक्तित्वका रूपमा उहाँ चिनिनुहुन्छ । हाल उहाँ काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिकाको नगरप्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा स्तम्भकार बनेका व्यक्तित्वलाई समर्पण गरिने सम्मान उहाँजस्ता व्यक्तित्वलाई समर्पण गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
राजेन्द्र चित्रकार ः
राजेन्द्र चित्रकार प्रसिद्ध फोटो पत्रकार हुनुहुन्छ । लामो समयसम्म गोरखापत्र संस्थानअन्तर्गत सेवा गर्नुभएका उहाँ फोटो पत्रकारहरूका संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । काठमाडौँमा जन्मनुभएका उहाँले फोटो पत्रकारितासम्बन्धी तालिम लिनु पनि भएको छ र दिनु पनि भएको छ । उहाँले खिच्नुभएका तस्बिरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । शब्दले व्यक्त गर्न नसक्ने भाव चित्रमा उतार्न सक्नु उहाँको विशेष खुबी हो । त्यसैले उहाँले विभिन्न देशको भ्रमण गर्न पाउनुभएको छ र सम्मानित पनि हुनुभएको छ । उहाँको फोटोग्राफीबाट प्रेरित बनेर नयाँ पुस्तामा विभिन्न फोटो पत्रकारहरू देखापरेका छन् । उहाँजस्ता फोटो पत्रकारलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
भक्तिदर्शन टेलिभिजन ः
आध्यात्मिक क्षेत्रको नेपालको एक मात्र टेलिभिजनका रूपमा भक्तिदर्शन टेलिभिजन आम नेपालीका बीचमा सुपरिचित छ । यस टेलिभिजनका आदर्श जीवन, मन्दिरदर्शन, भक्तिदर्शन, सुन्दर बिहान, कुण्डली दर्पण, तपाईंको भोलि, भजन सागर, हरेकृष्ण भक्तिलोक आदि कार्यक्रमहरू अत्यन्त लोकप्रिय रहेका छन् । पाश्चात्य जगत्का अनेकानेक क्रियाकलापहरूबाट प्रेरित बनेर आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, सामाजिकता आदि बिर्संदै गएको र भौतिकतामा मात्रै रङमङिन लागेको युवा जमातलाई सच्चरित्रता, नैतिकता, आदर्श र पूर्वीय आध्यात्मिक दर्शनको पाठ पढाउन भक्तिदर्शन टेलिभिजनको अहम् भूमिका रहेको छ । नेपालीलाई कर्तव्यपरायणता र आस्तिक भावधारातिर ढाल्न यसले खेलेको भूमिका स्मरणीय र अनुकरणीय रहेको छ । यस्तो सञ्चार माध्यमलाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
नवप्रज्ञापन (त्रैमासिक साहित्यिक पत्रिका) ः
काठमाडौँबाट विगत २५ वर्षअघिदेखि ‘नवप्रज्ञापन’ नामक त्रैमासिक साहित्यिक पत्रिका प्रकाशित भइरहेको छ । यो पत्रिका प्रेस काउन्सिल नेपालको वर्गीकरणमा ‘क’ श्रेणीमा परेको छ । नवराज रिजालको सम्पादनमा प्रकाशन भइरहेको यस पत्रिकाले नयाँ–नयाँ साहित्यकारहरूलाई जन्म दिन, नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न, पुरानो पुस्ताका साहित्यकारहरूसँग नयाँ पुस्ताको मिलन गराउन, विविध विधाका रचनाहरूलाई पाठकसमक्ष पु¥याउन ठूलो भूमिका खेलेको छ । बालसाहित्य विशेषाङ्क, भानुभक्त विशेषाङ्क, छन्दकविता विशेषाङ्क, मुक्तक विशेषाङ्क, बहुभाषा कथा विशेषाङ्क आदिजस्ता अनेक विशेषाङ्कहरू प्रकाशन गरेर यस पत्रिकाले नेपाली भाषा–साहित्य र साहित्यिक पत्रकारिताको विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको छ । यस्तो साहित्यिक पत्रकालाई सम्मान गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।

सम्मान्य व्यक्तित्व चयन समिति

नाम ः पदम दाहाल (प्रसिद्ध साहित्यसेवी तथा शिक्षासेवी)
जन्म र जन्मस्थान ः २०११ साल कार्तिक १८ गते, पाटीगाउँ, मादी न. पा. — ६, सङ्खुवासभा
हालको बसोवास ः मध्यपुर ठिमी न. पा. — १, लोकन्थली, भक्तपुर
शैक्षिक योग्यता ः एमए (राजनीतिशास्त्र), एमएड (नेपाली)
प्रकाशन ः बादलका तरेलीहरू (कवितासङ्ग्रह), विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित
विशेष अनुभव ः लामो समय शिक्षण पेसामा आबद्ध

नाम ः पशुपतिमान पःमाँ (प्रधान) (प्रसिद्ध साहित्यसेवी तथा शिक्षासेवी)
जन्म र जन्मस्थान ः १९९४ साल असार १४ गते, योगाटोल, जगाती, भक्तपुर
हालको बसोवास ः जगाती, भक्तपुर
शैक्षिक योग्यता ः बीए, बीएड
प्रकाशन ः नुगः घाः, श्रीस्वस्थानी व्रतकथा लगायत आधा दर्जन, विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित
विशेष अनुभव ः लामो समय शिक्षा सेवामा आबद्ध

नाम ः भवानी पाण्डे (प्रसिद्ध बालसाहित्यसेवी तथा शिक्षासेवी)
जन्म र जन्मस्थान ः २०३० साल माघ १४ गते, ठूलो पर्सेल — २, तिमाल, काभ्रेपलाञ्चोक
हालको बसोवास ः बनेपा, काभ्रे
शैक्षिक योग्यता ः एमएड (नेपाली)
प्रकाशन ः थरिथरि फूल, प्रकृति नै गुरु, हाम्रो बालक्लब लगायत, विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित
विशेष अनुभव ः लामो समय शिक्षण पेसामा आबद्ध

सार्वजनिक गरिने कृतिका कृतिकारहरू

१. ओतबहादुर खड्का (वेद के भन्छ ?)
२. नवीना श्रेष्ठ (श्रीस्वस्थानी व्रतकथा)
३. केदारनाथ तिमल्सिना (स्पेनको यात्रा)