शब्दयात्रा प्रकाशनले बनेपामा निर्माण गरेको शब्दसाधक तीर्थको अवलोकन गर्नका लागि नीलकण्ठेश्वर धामको भ्रमण गर्न आउने वाङ्मयसेवीहरूको सङ्ख्या बढ्दै गएको छ । प्राध्यापक, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार, चिकित्सिक र इन्जिनियरहरूले शब्दसाधक तीर्थको अवलोकन गर्न थालेका छन् ।
यसै क्रममा पछिल्लोपटक नरदेवी आयुर्वेदिक अस्पतालमा कार्यरत आयुर्वेदिक चिकित्सक छत्रपति दाहालले पनि शब्दसाधक तीर्थको भ्रमण गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दसाधक तीर्थमा स्वागत गर्नुभएको थियो ।
त्यस बखत डाक्टर छत्रपति दाहालले पाँचजना शब्दसाधकको सालिक, शब्दयात्रा स्तम्भ, शब्दयात्रा पुस्तकालय र शब्दयात्रा शारदा मन्दिरका साथै नीलकण्ठेश्वर महादेवको मन्दिर, कुण्ड, शेषशायी विष्णु, हनुमान आदिको पनि दर्शन गर्नुभएको थियो । उहाँलाई शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूका विषयमा पनि जानकारी गराइएको थियो ।