शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकसाठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा डा. इन्दुल केसी प्रस्तुत हुनुभयो । २०७५ भदौ २९ गते शुक्रबार अपराह्न शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा पूर्वप्रशासक, साहित्यकार तथा वैकल्पिक चिकित्साविद् डा. इन्दुल केसीले सुस्वास्थ्यसम्बन्धी सारगर्भित र विचारोत्तेजक प्रवचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका सदस्य सञ्चारकर्मी शिव बन्जाराको सभापतित्व र कवि डा. हेमराज काफ्लेको प्रमुख आतिथ्यमा शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य कृष्णमणि कुइँकेल, ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखकद्वय जगन्नाथ गिरी र केदारनाथ तिमल्सिना, शिक्षासेवीद्वय फणीन्द्रराज अधिकारी र खड्गप्रसाद सापकोटा, चित्रकार चन्द्रमान सुवाल, समाजसेवीहरू छविलाल कुइँकेल, सहदीप पलाञ्चोके, धनराम सुवाल, हरि प्रपन्न आचार्य, कमलनयन उपाध्याय, शकुन्तला बन्जारा, त्रिरत्न रन्जितकार आदिको समुपस्थिति रहेको थियो ।