शब्दयात्रा प्रकाशनले गत माघ २५ गते शनिबार २०७६ सालको तेस्रो चरणको सम्मान नेपालका छजना राष्ट्रिय व्यक्तित्वलाई समर्पण ग¥यो ।
चित्रकलाकार तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति श्रीमती रागिनी उपाध्याय ग्रेलालाई शब्दयात्रा महिला प्रतिभा सम्मान २०७६ बाट, प्रविधिविज्ञ तथा काठमाडौँ विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. भोला थापालाई शब्दयात्रा विज्ञान–प्रविधि सम्मान २०७६ बाट र समालोचक प्रा. राजेन्द्र सुवेदीलाई शब्दयात्रा समालोचना सम्मान २०७६ बाट सम्मानित गरियो । यसै गरी बालसाहित्यकार प्रा. रामकुमार पाँडेलाई शब्दयात्रा बालसाहित्य सम्मान २०७६ बाट, महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीलाई शब्दयात्रा कविताकाव्य सम्मान २०७६ बाट र अनुसन्धाता डिल्लीराम मिश्र ‘श्रमजीवी’ लाई शब्दयात्रा अनुसन्धान सम्मान २०७६ बाट सम्मानित गरियो ।
ती सम्मानहरूको आर्थिक व्यवस्थापन धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा द्रोणप्रसाद श्रेष्ठ, रामकृष्ण श्रेष्ठ प्रतिष्ठानका तर्फबाट निर्मला श्रेष्ठ, हरिगोपाल प्रधान, गोपाल पराजुली, कविप्रसाद प्याकुरेल र पिता जयदेव अधिकारीको स्मृतिमा राजेन्द्र विरहीले गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई सभापतिका रूपबाट प्रा. लालानाथ सुवेदीले रुद्राक्षको माला, विशिष्ट अतिथिका रूपबाट काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले किरीट र प्रमुख अतिथिका रूपबाट समाजसेवी, साहित्यकार तथा प्रथम महिला महाप्रबन्धक सावित्री जङ्गम थापाले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । यसै गरी सम्बन्धित सम्मानका आर्थिक व्यवस्थापकहरूले नगद ५ हजार रुपियाँ र चयन समितिका संयोजक तथा सदस्यहरूले पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।
सम्मानित व्यक्तिहरूले शब्दयात्रा प्रकाशनलाई आशीर्वचन प्रदान गर्नुभएको थियो भने सम्मान्य व्यक्तित्व चयन समितिका संयोजक शिक्षासेवी माधवप्रसाद आचार्यले सम्मानका लागि व्यक्तित्व चयनको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधान, सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, सञ्चालक सदस्य शिव बन्जारा, सदस्य सकुल थापा, सदस्य सहदीप पलान्चोके, महाप्रबन्धक शारदाप्रसाद शर्मा, व्यवस्थापक सङ्गीता केसी तथा सरस्वती शर्मा सुवेदी, देवीप्रसाद ढुङ्गाना, शकुन्तला बन्जारा, डिल्लीराम निरौला आदिले विभिन्न भूमिका पूरा गर्नुभएको थियो ।
सभाको अन्त्यमा अतिथिका रूपमा उपस्थित पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले कार्यक्रमको समीक्षा गर्दै सभाविसर्जन गर्नुभएको थियो ।
कार्यक्रममा पाँचवटा पुस्तकको सार्वजनिकीकरण, शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तक हस्तान्तरण, शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि रकम प्रदान, ‘नेपालभूमि’ का स्तम्भकारहरूलाई उपहार प्रदान तथा कवितावाचन पनि गरिएको थियो । कार्यक्रममा नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूले स्वस्तिवाचन गरेका थिए ।
शब्दयात्रा प्रकाशनले साढे ८ वर्षभित्र विभिन्न १८ विधामा सम्मान गरेका राष्ट्रिय व्यक्तित्वहरूको सङ्ख्या १ सय ३६ पुगेको छ ।